शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राहतमा मासु भात खुवाउने बाबाको ढाबा

आइतबार, ०७ वैशाख २०७७, १० : ०९
आइतबार, ०७ वैशाख २०७७

जनकपुर । कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपालमा लकडाउन भएको एक महिना पुग्न लागेको छ । लकडाउनको असर चौतर्फी छ । तर, यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई परेको छ । आम्दानीको बाटो नै बन्द भएपछि कतिले भोक–भोकै दिन कटाउन बाध्य बनेका समाचारहरु आइरहेछन् । त्यस्ता नागरिकका लागि तीनै तहका सरकारले पनि खासै राहत दिन नसकेको जनताका गुनासाहरु पनि आइरहेका छन् ।

जनताका यी गुनासाका बीच यस्ता व्यक्तिहरु पनि छन् जो आफै अग्रसर बनेर दुःख पाएकाहरुको सहयोगमा लागेका छन् । धनुषा नगरपालिकाले आफ्नो जनताका लागि राहत वितरण गर्न नसकेको अवस्थामा जनकपुरधामका स्थानीय प्रकाश मिश्रले भने आफ्नो व्यक्तिगत खर्चबाट लकडाउनको मारमा परेकाहरुका लागि विगत केही दिन यता निःशुल्क भोजनको व्यवस्था गर्दै आइरहेका छन् ।

जनकपुरधाममै ‘बाबाको ढावा’ होटेल चलाउँदै आइरहेका प्रकाश मिश्रले विगत ८ दिनदेखि निःशुल्क खुवाउँदै आइरहेका छन् । गत ७ दिनदेखि शाकाहारी भोजन उपलब्ध गराउँदै आइरहेका मिश्रले शनिबार दैनिक ज्यालादारीमा काम गर्ने, गरीब तथा विपन्नहरुलाई निःशुल्क मासु भात, तरकार, चटनी भोजनमा उपलब्ध गराएका छन् ।

लकडाउनका कारण धेरैले भोकै दिन कटाउनु पर्ने अवस्था देखेपछि आफ्नो मनमा त्यस्ता व्यक्तिहरुलाई भोजन उपलब्ध गराउने सोच पलाएको मिश्रले बताए । उनी दैनिक रामानन्द चोकमा यसको व्यवस्थापन गर्दै आइरहेका छन् ।

यसअघि मिश्रले सामाजिक सञ्जालमै आफ्नो मोबाइल नम्बर राखेका थिए । उनको मोबाइलमा कल गर्ने व्यक्तिहरुको घरमै भोजनसमेत पु-याउने व्यवस्था गरेका छन् । उनलाई दुई जना स्वयम्सेवकले सघाइरहेका छन् ।

भोजन उपलब्ध गराउँदै आएका मिश्र भन्छन्, ‘पैसा त कुनै दिन फेरि कमाइएला, अहिलेको विषम परस्थितिमा भोको पेट रहेकाललाई सहयोग गर्नु नै ठूलो धर्म रहेको मलाई लाग्छ ।’ उनले अगाडी भने ‘एकजना सानो बच्चाले आफ्नो आमालाई ‘मासु छैन, आमा ?’ भन्दै गरेको सुनेपछि मैले मासु भात पनि खुवाएको हुँ ।’

खाना खाने लाममा अछामबाट इलेक्ट्रिकल इन्जिनियरिंग पढ्दै आएका दुुई युवा पनि थिए । अछामबाट स्कलरसिपमा इलेक्टिकल इन्जिनियरिंग पढ्न आएका प्रकाश नेपालीले प्रकाश मिश्र जस्तै सहयोगी मन भएकाहरुका कारण लकडाउन जस्तो विषम परस्थितिमा गुजारा गर्न सकिरहेको बताए । नेपालीले भने ‘हामीलाई खाना कसरी खाउँ चिन्ता थियो । घर भाडाको पनि रकम पनि प्रकाशजीले बुझाई दिने आश्वासन दिनुभएको छ ।’

अर्का विद्यार्थी एकराज ओडले भने ‘लकडाउनका कारण हामीसँग रहेको पकेट खर्च पनि सिद्धिसकेको छ । घरबेटीले घर भाडाका लागि हैरान पारी सके । यता, के खाने भन्ने चिन्ताले पिरोली रहेको थियो । तर प्रकाशजीको सम्पर्कमा आएपछि हाम्रो चिन्ता दुर भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप