शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व नायिका जायरा वसिमले भनिन्, ‘मेरो तारिफ नगर्नुहोस्, यो मेरो इमानका लागि खतरनाक’

आइतबार, ०७ वैशाख २०७७, १३ : ०७
आइतबार, ०७ वैशाख २०७७

पूर्व नायिका जायरा वसिमले मानिसहरुलाई उनको तारिफ नगरिदिन आग्रह गरेकी छिन् । उनका अनुसार यो उनका लागि सही होइन र उनको इमानका लागि खतरनाक पनि हो । उनले सोसल मिडियामा यसबारे सम्बन्धित एउटा पोष्ट साझा गरेकी छिन् । यसमा उनले मानिसहरु आफूबाट प्रभावित हुनका लागि आफू त्यति धार्मिक नभएको बताएकी छिन् ।

शनिबार जायराले आफूलाई रुचाउनेहरुलाई अभिवादन गर्दै लेखेकी छिन्, ‘म विनम्रतासहित यो स्विकार्छु कि सबैजनाले मलाई प्रेम गर्नुहुन्छ । साथै म यो कुरालाई जोड दिएर भन्न सक्दिनँ कि मैले पाइरहेको तारिफसँग किन म सन्तुष्ट छैन र यो कसरी मेरा लागि निकै ठूलो परीक्षा हो र कसरी यो मेरो इमानका लागि खतरनाक छ । म त्यति धार्मिक छैन कि मानिसहरुलाई प्रभावित गर्न सकूँ । यसको साटो म सबैलाई के आग्रह गर्न चाहन्छु भने कुनै पनि तरिकाले मेरो तारिफ नगर्नुहोस् । यसको साटो अल्लाहले मेरा अनगिन्ति कमीजोरीलाई नजरअन्दाज गरिदिऊन् भनेर प्रार्थना गरिदिनुहोस् । मेरो उद्देश्यमा सुधार होस् र फाइदाजनक ज्ञान मलाई प्राप्त होस् । मलाई स्थिर भएर मुसलमानको रुपमा बाँच्न र मर्ने मौका प्रदान गरिदिन मेरा लागि प्रार्थना गर्नुहोस् ।’

बबिता फोगाटको बयानपछि आयो प्रतिक्रियाः

जायराको यो प्रतिक्रिया भारतीय रेसलर बबिता फोगाटको बयानपछि आएको अनुमान गरिन्छ । बबिताले उनलाई जायरा वसीम ठान्न गल्ती गर्न नहुने बताएकी थिइन् । बबिताले आफ्नो एक ट्वीटमा तबलीगी जमातलाई कोरोनाभाइरस फैलाएको भनेर आरोप लगाएकी थिइन् । उनको यो ट्वीटपछि उनलाई ट्रोल गरिएको थियो । यसै विषयमा शुक्रबार उनले एउटा भिडियो जारी गरिन् जसमा उनले मानिसहरुले आफूलाई गाली र धम्की दिइरहेको जानकारी दिइन् । साथै उनले जायराको कुरा उठाउँदै भनिन्, ‘म जायरा वसीम होइन, जो यस्तो धम्कीले डराउनेछु । ’ उनले भिडियोमा आफ्नो बयानमा कायम भएको पनि बताएकी छिन् ।

जायराले नायिकाको रुपमा ‘दंगल, सिक्रेट सुपरस्टार र द स्काई इज पिंक’ का काम गरेकी छिन् । उनले सन् २०१९ को जूनमा आफूले सदाका लागि अभिनय छोडेको घोषणा पनि गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप