शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

शनिबार, १७ भदौ २०७४, १४ : ३४
शनिबार, १७ भदौ २०७४

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तराई–मधेशसँग आफ्नो ‘लभ’ परेको अभिव्यक्तिले कुनै बेला हलचल मच्चाएको थियो । ‘लभ’ परेको भूमिमा यतिबेला प्रचण्ड ‘डेरा’ जमाएर बसेका छन् । आफू मात्र होइन, उनले पार्टीको केन्द्रीय तहको सम्पूर्ण नेतृत्वलाई तराई–मधेशमा परिचालन गरेका छन् ।


 
असोज २ मा हुने दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने प्रचण्डको एक सूत्रीय एजेन्डा छ । चुनावी प्रचारका हरेक कार्यक्रम तथा मिडिया विफ्रिङमा प्रचण्डले यसपाली मधेशमा माओवादी एक नम्वरको पार्टी बन्ने दावी गरिरहेका छन् ।
 
यद्यपी प्रचण्डको जस्तै दाबी काँग्रेस, एमाले, राजपा र संघीय समाजवादी फोरमको पनि छ । सबैले आफूलाई एक नम्बर  बनाउने दाबी सुनाईरहेका छन् । जनताले कसलाई पत्ताउने हुन् ? यो प्रश्नको उत्तर चाहीँ असोज २ को मतदानपछि मात्र थाहा हुनेछ ।
 
पहिलो र दोस्रो तहको स्थानीय तहको चुनावमा माओवादी तेस्रो स्थानमा छ, जहाँ प्रचण्डले माओवादी एजेन्डाको जीत भएको भन्दै चिक्त बुझाएका छन् । तर, मधेशमा प्रचण्डले चुनाव जित्न सकिने आधार देखेको बताएका छन् र चुनावलाई प्रतिष्ठा बनाएका छन् । यसैकारण उनले यसबेलाको चुनाव प्रचारलाई नयाँ तरिकाले अगाडि बढाएका छन् ।
 
ठूलो दलबलसहित हिँड्ने र सकेसम्म जनतासँग केही दुरीमै बसेर संवाद गर्ने प्रचण्डको सचिवालयको नियमित व्यवस्थापन हो । अझ ‘सुरक्षा थ्रेट’ देखाएर अधिकतम् सुरक्षाकर्मीको घेरामा प्रचण्डलाई हिँडाइन्थ्यो ।  जनतासँग ‘वान टू वान’ करिव–करिव असम्भव हुन्थ्यो । दुई नम्वर प्रदेशबाट जे जस्ता तस्वीरहरु बाहिर आएका छन्, ती हेर्दा लाग्छ तराई–मधेशमा प्रचण्डले चुनाव प्रचारको नयाँ शैली अपनाएका छन् ।
 
यसपाली दुई नम्वर प्रदेशको चुनावी प्रचारमा प्रचण्डले परम्परागत रुटिङ फलो गरेका छैनन् । मधेशका जनतासँग सामान्य चियापसलमा बसेर चिया पिइरहेका छन् । ठाँउ ठाँउमा सेल्फी लिनेहरुसँग पनि उभिएका छन् । मर्निङ वाकमा मधेशका बस्तीतिर पनि देखिएका छन् । चुनाव प्रचारलाई जनतासँग जोड्न खोजेका छन् । कतै उनी कुर्ता पाइजामामा देखिएका छन् । चियाँ पसलमा घण्टौ बसेर संवाद गरेका छन् । उनको यो चुनावी प्रचार शैली नयाँ छ, विगतको भन्दा । यसको असर चुनावमा कति हुन्छ, त्यो चाहीँ अहिले भन्न सकिने अबस्था छैन ।
 
तराई–मधेशका जनताका अधिकारका लागि सबैभन्दा बढी लड्ने पार्टीमा माओवादी केन्द्र र नेतामा आफू भएको बताएर प्रचण्डले चुनावको मुखमा मधेशको मनोविज्ञान जित्न खोजेका छन् । यसो त उनले पार्टीको केन्द्रीय सचिवालयको वैठक वीरगंगजमा बोलाएका छन् । शनिवार एक सय केन्द्रीय नेताले वीरगंजको वैठकमा दुई नम्वर प्रदेशको चुनावी रणनीतिवारे छलफल गरेका छन् ।
 
प्रचण्ड भदौ १२ गते तराई–मधेशको चुनावी प्रचारका लागि विराटनगर गएका थिए । त्यहाँबाट शुरु भएको उनको दुई नम्वर प्रदेशको चुनावी यात्रा भदौ गतेसम्म जारी रहनेछ । 
१८ गते काठमाडौं फर्कने र लगत्तै मधेशको चुनाव प्रचारमा जाने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रचण्ड स्थानीय तहको चुनावमा मधेश अर्थात दुई नम्वर प्रदेशबाट ‘कमव्याक’ गर्ने र त्यसको बलमा प्रदेश र संघीय चुनावमा जीत हासिल गर्ने योजनामा देखिन्छन् । यसैले अहिले उनले तराई–मधेशमा माओवादी केन्द्रमा धेरै भन्दा धेरैलाई प्रवेश गराईरहेका छन् । उनले चुनावी तालमेलका लागि सवैसँग ढोका खुला राखेको पनि बताएका छन् ।
 
प्रधानमन्त्री हुँदापनि प्रचण्डले तराई–मधेशमा ध्यान दिएका थिए । राजीनामापछि पनि उनी मधेशमा सन्देश दिन तराई–काठमाडौ जोड्ने फास्टट्रयाक सडक निर्माणको शिल्यायास गर्न बारा पुगेका थिए । 
शिल्यान्यासपछि उनले फास्ट ट्रयाक निर्माणले तराई–मधेश र काठमाडौं बीचको दुरी र समय त घटाउने नै यसबाहेक तराई–मधेश र काठमाडौं बीचको भावनात्मक दुरी घटाउने तथा देशलाई एकतावद्ध गर्ने, राष्ट्रिय एकतालाई बलियो बनाउने र सिंगो देशलाई समृद्धिको दिशामा लैजाने विश्वास व्यक्त गरेका थिए । यो चुनावी राजनीतिकै मेसो थियो ।
 
त्यसपछि उनले अहिले तराई–मधेशका जिल्लामा बाढीपीडितलाई पनि राहत बाँडेर चुनावको मुखमा भोटको राजनीतिमा ध्यान दिएका छन् । प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साउन २ गते सचिवालयको बैठक बोलाएका थिए ।


 
असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावमा प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’ लाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’ लाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने माओवादीको निर्णय थियो ।


 
सबैजसो राजनीतिक दल अहिले तराई–मधेशका मागमा एमाले अनुदार रहेको नारा बेचिरहेका छन् । मूलत यसलाई मधेश आन्दोलनकावारे एमाले नेतृत्वको धारणा, मधेशी मोर्चाको मागमो एमालेको असहयोग र संविधान संसोधनमा एमालेले खेलेको भूमिकालाई लिएर काँग्रेस, माओवादी र मधेशवादी दलले एमाले र मधेशवीचको दुरी देखाईरहेका छन् । यस्तो अवस्थामा एमालेमा जाने पुराना भोटमात्र प्रचण्डले नजर लगाएको जस्तो देखिन्छ ।


 
त्यसबाहेक मधेशमा रामचन्द्र झादेखि रामकुमार शर्मासम्मलाई घर फर्काएर प्रचण्डले मधेशमा माओवादी पोजिशन बलियो बनाउन खोजेका छन् । नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादव, रामराजाप्रसाद सिहको बमकण्डमा संलग्न डा.जितेन्द्र महासेठ, सद्भावनाका संस्थापक महासचिव अनिस अन्सारीलाई पार्टीमा टिका लगाएर प्रचण्डले मधेशमा माओवादी नै मुख्य दल हो भन्ने सन्देश दिन खोजेका छन् । प्रचण्डको सचिवालयले भनाई मान्ने हो भने रौतहटमा भदौ १५ गते एकै पटक ३६ सय मानिस माओवादी प्रवेश गरेका थिए ।


 
प्रचण्डले तराई मधेशमा गएर भनेका छन्, ‘‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ । हामी देशलाई जोड्न चाहन्छौं । राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईंहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’
 
 
पहिलो पार्टी बन्न कति सहज ?
मधेशमा प्रचण्डले निकै जोडबल गरेका छन् । तर, प्रदेश नम्वर दुईको स्थानीय चुनावमा के उनले माअ‍ोवादीलाई पहिलो पार्टी बनाउन सक्छन् ? यो प्रश्न उठाउन सहज छ । तर, जवाफ सहज छैन् ।

दोस्रो संविधानसभाको चुनावी नतिजालाई आधार मान्ने ‘कमव्याक’ हुनका लागि माओवादीले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि सम्पूर्ण ध्यान तराई–मधेशको चुनावमा लगाएका छन् । तराई–मधेशमा ‘कमव्याक’ हुने एक सूत्रीय नारा छ ।
गत संविधानसभाको चुनावलाई हेर्दा दुई नम्बर प्रदेशमा जम्मा ४८ वटा निर्वाचन क्षेत्र छन् । त्यसमध्ये पहिलो सविधानसभा चुनावमा माओवादी केन्द्रले प्रत्यक्षमा ६ वटा क्षेत्रमा जित पाएको थियो । त्यो चुनावमा सो दलले दुई लाख ६६ हजार नौ ६३ मत ल्याएका थियो ।
पहिलो संविधानसभामा भन्दा दोस्रोमा माओवादीलाई मधेशमा फाइदा भएको थियो । पहिलो सविधानसभामा माओवादी पहिलो पार्टी हुँदा दुई नम्वर प्रदेशका आठ जिल्लाबाट ६ जनाले प्रत्यक्षमा जित पाएका थिए । जवकि दोस्रो सविधानसभामा माओवादी तेस्रो दलको रुपमा आएपनि दुई नम्बर प्रदेशमा आठजना सांसद जिताउन सफल भएको थियो ।
जब कि दोस्रो सविधानसभा चुनावमा भन्दा पहिलोमा भन्दा दलको सँख्या कम थियो । पहिलो सविधानसभा चुनावमा ५४ वटा दलले भाग लिएका थिए भने दोस्रो सविधानसभा चुनावमा १२१ दलले भाग लिएका थिए । दोस्रो सविधानसभा चुनावमा माओवादी केन्द्रले दुई लाख ५२ हजार तीनसय ६१ मत हात पारेका थिए ।
जिल्लागत हिसावले हेर्ने हो भने सप्तरीमा पहिलो सविधानसभामा माअ‍ोवादीले ३१ हजार ४० मत ल्याएको थियो । छवटा क्षेत्र रहेको मध्ये एकजनालाई मात्र जिताउन सकेको थियो । दोस्रो सविधानसभा चुनावमा ३० हजार आठ १६ मत ल्याएका थिए । त्यसमध्ये तीनजनालाई जिताएको थियो ।
छवटा चुनावी क्षेत्र रहेको सिरहामा पहिलो संधिवानसभा चुनावमा माओवादी केन्द्रले ३० हजार ७२० मत ल्याएको थियो । त्यसमा क्षेत्र नम्बर पाँचवाट महेन्द्र पासवानले मात्र जितेका थिए । दोस्रो सविधानसभा चुनावमा ४३ हजार नौ १७ मत ल्याएको थियो । त्यसमध्ये पाँच नम्बर क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १५ हजार दुईसय ४४ मत ल्याएर जितेका थिए ।

त्यस्तै, सातवटा चुनावी क्षेत्र रहेको धनुषामा भएको पहिलो सविधानसभा चुनावमा माओवादी केन्द्रले ४१ हजार ५२९ मत ल्याएको थियो ।  त्यसमध्ये क्षेत्र नं. ६ वाट रामकुमारी यादवले मात्र जितेकी थिइन् । उनी रामवृक्ष यादवका श्रीमती हुन् । रामकुमारी पनि दुर्घटनामा परेर मृत्यु भइसकेको छ । दोस्रो सविधानसभा चुनावमा त्यहाँ एउटा पनि सीट जित्न सकेन । सो चुनावमा माओवादी केन्द्रले २८ हजार तीनसय सात मत ल्याएको थियो ।

छवटा चुनावी क्षेत्र रहेको महोत्तरीमा माओवादी केन्द्रले २६ हजार नौसय २९ मत ल्याएको थियो । तर एकजना पनि जित्न सकेनन् । अहिले माओवादी केन्द्रमा रहेका गिरीराजमणी पोखरेलले पहिलो संविधानसभामा एक नम्बर क्षेत्रबाट जनमोर्चा पार्टीबाट जितेका थिए । दोस्रो सविधानसभा चुनावमा सो दलले ३४ हजार ६१० मत ल्याएको थिया । त्यसमध्ये एकजना पोखरेलले एक नम्बर क्षेत्रबाट जितेका हुन् ।
छवटा चुनावी क्षेत्र रहेको सर्लाहीमा माओवादी केन्द्रले २३ हजार एकसय ९२ मत ल्याएको थियो । त्यसमा एकजना पनि जिताउन सकेका थिएन । दोस्रो संविधानसभा चुनावमा एक नम्बर प्रदेशबाट एकजना मात्र जिताउन सफल भयो । त्यो चुनावमा सो दलले २६ हजार ९२ मत ल्याएको थियो ।

त्यस्तै, पहिलो सविधानसभा चुनावमा रौतहटको क्षेत्र नं. ३ बाट प्रभु साहमात्र विजयी भए ।  त्योबेला माओवादीले जम्मा ४८ हजार २३० मत ल्याएको थियो । दोस्रो संविधानसभा चुनावमा रौतहटबाट तीन नेताले जिते ।  तर पहिलो सविधानसभा चुनावभन्दा दोस्रोमा मत कम आएको छ ।  दोस्रो चुनावमा माओवादीले  ४५ हजार ८०१ मत मात्र ल्याएको छ ।
पहिलो संविधानसभा चुनावमा बाराबाट माओवादीका २ जनाले जिते । र, त्यसबेला जम्मा ४७ हजार ५९६ मत ल्याएको थियो । तर दोस्रो सविधानसभा चुनावमा एकजनाले पनि जित्न सकेनन् । दोस्रो संविधानसभा चुनावमा २३ हजार ७१६ मत मात्र ल्यायो ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको पर्सामा माओवादी केन्द्र दुइटै संविधानसभा चुनावमा शून्य रह्यो ।
 पहिलो सविधानसभा चुनावमा माओवादीले १७ हजार ७२७ मत ल्यायो भने भने दोस्रो संविधान सभा चुनावमा १९ हजार १०२ मत ल्यायो । 
 यस्तो अंकगणितकावीच प्रचण्डले दुई नम्वर प्रदेशको स्थानीय तहको चुनावमा नाटकीय रुपमा आफ्नो पार्टीको अबस्था कति सुधार गर्न सक्छन् ? अनुमान पनि कठिन छ । 

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप