शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले खोप सेवा प्रभावित : बालबालिकाको मृत्युदर बढ्ने विज्ञको चेतावनी

खोप कार्यक्रम सञ्चालन गर्न तयारी भइरहेको छ : डा. झलक शर्मा गौतम
मङ्गलबार, ०९ वैशाख २०७७, १२ : ३३
मङ्गलबार, ०९ वैशाख २०७७

नेपालभरका बालकालिका गत पाँच हप्तादेखि खोपबाट बञ्चित छन् । कोरोना संक्रमण फैलिन नदिनका लागि चैत्र ११ गतेबाट गरिएको लकडाउनले खोप कार्यक्रम प्रभावित भएको हो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा पनि बालबालिकालाई दिइने नियमित खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । तर त्यो कार्य अझैसम्म सुचारु भने हुन सकेको छैन ।

बालबालिका खोपबाट बञ्चित भए बाल मृत्युदर बढ्ने जनस्वास्थ्यविद् डाक्टर समीरमणि दिक्षितले बताएका छन् । ‘वर्तमान समयमा बाल मृत्युदर घट्दै गएको स्थिति हो,’ उनले भने, ‘तर बालबालिकालाई नियमित रुपमा दिइने खोप कार्यक्रम समयमा सञ्चालन भएन भने मृत्युदर बढ्न सक्छ ।’

बालबालिकालाई बीसीजी, पोलियो, दादुरा लगायतका खोप कार्यक्रम समयमा सञ्चालन गर्न नसकेमा नियन्त्रणमा आएका रोग पनि नेपालमा भविष्यमा फेरि देखिन सक्ने खतरा उनी औंल्याउँछन् । त्यसैले ‘बालबालिकालाई नियमित रुपमा लगाउने खोप नलगाएर नतिजा प्रतिकूल बन्न पुगेको अवस्थामा अवस्था डोनरहरुले सहयोग नगर्ने अवस्थासम्म सृजना हुन सक्ने’ उनी बताउँछन् ।

‘बालबालिकाको सम्पूर्ण खोप कार्यक्रम सञ्चालन नहुँदा दिगो विकासमा समेत भविष्यमा असर पुग्ने भएकाले कोभिड–१९ को त्रास भएपनि सावधानी अपनाएर छिटै खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने’ डाक्टर दिक्षित बताउँछन् ।

उनका अनुसार ‘अहिले प्रति १ हजार जन्मिएका नवजात शिशुमध्ये २८ दिनसम्मका नवजात शिशुको मृत्युदर ६० प्रतिशत घटेको अवस्था छ ।’ ‘यो स्थितिमा कोभिडका कारण अवरुद्ध हुन पुगेको खोपकार्यक्रमलाई स्रोत साधन जुटाएर छिट्टै अघि बढाउनुपर्ने’ उनको भनाइ छ ।

‘विश्वमा पोलियो उन्मुलनको अन्तिम चरणमा पुगेको छ । तत्काल दिनुपर्ने स्वास्थ्य सेवाहरु तथा पोलियोको खोप बच्चाले समयमा नपाएको खण्डमा नेपालमा पनि खतराको घण्टी बज्न सक्ने’ उनको चेतावनी छ । त्यसैले  ‘देशमा जस्तो परिस्थिति आएपनि बालबालिकाको  खोप कार्यक्रमलाई रोक्न नहुने, त्यसलाई निरन्तरता दिनुपर्ने’ उनको सुझाव छ ।    

नियमित खोप सञ्चालन गर्ने तयारी

बच्चा जन्मिएको  १५ महिनाभित्र १२ प्रकारका खोप दिनुपर्छ । लकडाउनको समयमा रोकिएका खोप कार्यक्रमहरु सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले केहिदिन अघि नियमित पत्रकार सम्मेलनमै  बताएका थिए ।

‘लकडाउनकै समयमा खोप कार्यक्रम सञ्चालन गर्नका लागि तयारी गरिरहेको’ स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए । ‘भविष्यमा हुन सक्ने जोखिमलाई ख्याल गर्दै  नियमित खोप कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न खोप केन्द्रले तयारी गरिरहेको’ उनले जानकारी दिए ।

‘प्रदेश तथा स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयसँग संमन्वय गरेर खोप कार्यक्रम अगाडि बढाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको’ डाक्टर गौतमले बताए । उनका अनुसार दादुरा, रुबेलासम्बन्धी कार्यक्रम लकडाउन खुलेपछि सञ्चालन हुनेछ । एकाध स्थानमा बाहेक नेपालभरको अधिकांश स्थानहरुमा खोप कार्यक्रम रोकिएको उनले बताए ।

स्मरण रहोस्, नेपालमा प्रत्येक साल करिब ६ लाख २० हजार बालबालिकाले निःशुल्क रुपमा खोप लगाउँदै आएका छन् । 

बच्चा जन्मिएको दिन देखि १५ महिनाको अवधिसम्म १२ थरि खोप लगाउनुपर्ने हुँदा लकडाउनको कतिपय अभिभावक दोधारमा  परेका छन् । डाक्टर गौतमकाअनुसार ‘जन्मेको करिब ५ हप्तासम्म विभिन्न खोपबाट बञ्चित भएका बालबालिका खोप दिइन्छ । बीचमा विभिन्न प्रकारको खोप लगाउन छुटेका बालबालिकालाई १५ महिनाको अवधिमा लगाउनुपर्ने तर छुटेका बालबालिकालाई पनि खोप दिइने’ उनी बताउछन् ।

खोप केन्द्रमा यसरी सर्कता अपनाउनुपर्छ

अहिले कोरोनाको महाव्याधिको कारण बालबालिका खोप दिने खोप केन्द्रमा पुग्ने स्वास्थ्यकर्मी तथा बालबालिकसँगै पुग्ने अभिभावले ‘सावधानी अपनाउनपर्ने’ प्रमुख डाक्टर गौतमले बताए । ‘खोप केन्द्रमा रहने स्वास्थ्यकर्मीले दूरी कायम गरेर मास्क लगाएर मात्रै सेवा दिने’ उनले बताए । ‘खोप केन्द्रमा पुग्ने अभिभावक तथा बालबालिकालाई स्क्रिनिङ गर्ने’ समेत उनले बताए । कुनै पनि रोगको लक्षण बालबालिका तथा स्वयंम अभिभावकलाई देखिएमा स्वास्थ्यकर्मीलाई  बताउन समेत उनले आग्रह गरे । खोप केन्द्रमा आएका अभिभावक तथा बच्चालाई कोरोनाको आशंका लागेमा रिफर गर्ने उनले बताए । ‘भिडभाड नगरिकन दुरी कायम राखेर कार्यक्रम सञ्चालन गर्न जिल्लाजिल्ला निर्देशन दिइएको’ पनि डाक्टर गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप