बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि रोकिएन विमानस्थल निर्माण, सम्झौता मितिभन्दा १ महिना अघिनै काम पुरा हुँदै

मङ्गलबार, ०९ वैशाख २०७७, १३ : ०२
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं । लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लक डाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ । धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताए । यसैगरी विमानस्थलको ‘डिपार्टिङ वे’ को काम पनि भइरहेको छ । जसका कारण आकाशमा धेरै समय होल्ड हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईले बताए ।

विमानस्थल विस्तारको काम भइरहँदा प्रयाप्त सुरक्षा सतर्कता अपनाइएको समेत मन्त्री भट्टराईले बताए । मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको निर्णयअनुसार नै काम सुरु भएको उनले बताए । कामदारहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न दिइएको छ । विमानस्थलभित्रै क्याम्प बनाएर खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । निर्माण सामग्री ढुवानी हुँदा समेत कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणमा ध्यान दिइएको मन्त्री भट्टराईले बताए ।

अहिलेसम्म विमानस्थलमा नयाँ प्रस्थान हलको निर्माण सम्पन्न भइसकेको छ । १ हजार ५ सय यात्रु क्षमताको प्रस्थान हल निर्माण भएको हो । यस्तै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लक डाउनका कारण काम गर्न सहज भएको बताए । अन्य समयमा विमानस्थल बन्द गरी रातिको समयमा काम गर्नुपर्ने बाध्यता भएपनि लक डाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसो समेत काम गर्ने वातावरण बनेको उनले बताए । निर्माण सामग्री ढुवानीमा केही समस्या भएपनि कामदारहरुको सम्पूर्ण स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी काम भइरहेको उनले बताए । प्रत्येक दिन तापक्रम (ज्वरो) नाप्ने, सेनिटाइजर र मास्क प्रयोग गरी तथा सामाजिक दुरी कायम गरी निर्माणको काम अगाडी बढेको उनले बताए ।

आयोजनाको काम सिभिलतर्फ ७४ प्रतिशत सम्पन्न भएको छ । २०७७ असार १० गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल पुस १८ गते निर्माण सम्झौता भएपनि सम्झौता मिति अगावै काम पुरा हुने निर्माण कम्पनीले जनाएको छ । अबको दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुण्डी जेभीको सब कन्ट्रयक्टर ए वान विल्डर्स प्रालिले बताएको छ । सिभिल तर्फको बैशाखभित्रै सम्पन्न भएपनि इलेक्ट्रिक तर्फको काममा केही बिलम्ब हुन सक्ने देखिएको छ । इलेक्ट्रिक तर्फका सम्पूर्ण सामान बाहिरबाट ल्याउनुपर्ने भएकाले कोरोनाका कारण हवाई सेवा सञ्चालनमा नआए केही समय लाग्ने छ । सामान ढुवानीको अवस्था सहज भए वैशाख भित्र नै काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । अहिले विमानस्थलमा ९२ जना कामदारले काम गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप