बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्टक रित्तिदै गएपछि सरकारद्वारा खाद्यान्न खरिदको टेन्डर आह्वान

किन परेन एउटै पनि दरखास्त ?
मङ्गलबार, ०९ वैशाख २०७७, १३ : २५
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौँ । विश्व कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच एक महिना लामो लकडाउन घोषणा गरेको सरकारलाई बजार व्यवस्थापनमा निकै कठिनाइ पर्न थालेको छ । मुलुक लकडाउनको  करिब एक महिना वितिसक्न लाग्दा बजार व्यवस्थापन तथा आपुर्ति व्यवस्थालाई लिएर सरकारमाथि थप चुनौती थपिएको हो । लकडाउन लम्बिदै जाँदा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको आयात, वितरण र बजार व्यवस्थापनमा सरकारलाई हम्मेहम्मे पर्न थालेको छ । यतिखेर सरकारी ढुकुटीमा रहेको खाद्यान्नको भण्डारण (स्टक) रित्तिदै जान थालेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अहिले सरकारसँग २० हजार मेट्रिकटन चामल, ५५० क्वीन्टल दलहन(दाल), १६० मेट्रिकटन नुन र करिब ६ हजार मेट्रिकटन चिनी मात्र स्टक छ । नुनबाहेक चामल, दाल, नुन तेल र चिनीको अवस्था अत्यन्त नाजुक रहेको छ । अब यी वस्तुहरुको आपूर्ति व्यवस्थापन तत्काल नभए बजारमा भयाभहको अवस्था आउने देखिन्छ ।

एकातिर भण्डारण रित्तिदै जाने र अर्कोतर्फ खाद्यान्नको आयात समेत हुननसक्दा सरकारमाथि थप दबाब पर्न थालेको छ ।

सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हालसम्म(लकडाउन अवधिमा) करिब ५ हजार मेट्रिकटन चामल बिक्री वितरण भइसकेको छ । हाल खाद्यसँग करिब २० हजार मेट्रिकटन चामल स्टक रहेको खाद्य कम्पनीका नायव महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिए । यसले अबको ३–४ महिना मात्र धान्न पुग्ने उनको भनाइ छ ।

‘अहिले नै बजारमा खाद्यान्नको अभाव भइसकेको भने होइन । अझै हामीसँग करिब २० हजार मेट्रिकटन चामल स्टक छ । तर यो सधैँका लागि प्रयाप्त होइन ।’ नायव महाप्रवन्धक खनालले भने, ‘बाँकी स्टकले ३–४ महिना धानेपनि पछिका लागि पुनः खाद्यान्न भण्डारण गर्नुपर्छ । अहिले हामी खाद्यान्नको बिक्री–वितरणसँगै आयातको प्रक्रियामा पनि लागेका छौँ ।’

खनालका अनुसार अहिले खाद्यले सार्वजनिक खरिद प्रक्रियाअनुसार टेन्डरमार्फत् चामल खरिद प्रक्रिया अघि बढाएको छ । सार्वजनिक टेन्डरमार्फत् १० हजार मेट्रिकटन चामल खरिदका लागि टेन्डर आह्वान गरिएको छ ।

टेन्डरमा एक जनाको पनि परेन दरखास्त

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न व्यवस्थापनका लागि भन्दै लकडाउन अगावै(चैत्र ५ गते) नै चामल खरिदका लागि सार्वजनिक टेन्डर आह्वान गरेको थियो । खाद्यले आफ्ना विभिन्न प्रदेशत तथा साखा कार्यालयहरुका लागि भन्दै करिब १० हजार मेट्रिकटन बराबरको चामल खरिदका लागि टेन्डर आह्वान गरेको थियो । अञ्चल कार्यालय विराटनगर, लहान, काठमाडौं, नेपालगञ्ज, धनगढी र शाखा कार्यालय वीरगञ्ज र सुर्खेतका लागि खाद्यले टेन्डर आह्वान गरेको हो ।

एक महिनाको म्याद राखेर सार्वजनिक गरिएको टेन्डर आह्वानको अन्तिम मिति गत वैशाख ५ गते सकिएको छ । तर, उक्त टेन्डरमा एक जनाको पनि दरखास्त पर्न सकेन । एक महिनाको दरखास्तको समयावधी राखेर सार्वजनिक टेन्डर आह्वान गरिएकोमा एकजनाको पनि दरखास्त नपरेको खाद्यका नायव महाप्रवन्धक खनालले रातोपाटीसँग बताए । एक जनाको पनि दरखास्त नपरेपछि खाद्यले प्रक्रिया पु¥याएर पुनः टेन्डर आह्वान गर्ने तयारी गरेको छ ।

‘खाद्यान्नको व्यवस्थापनका लागि हामीले १० हजार मेट्रिकटन चामल आयात गर्ने गरी सार्वजनिक बोलपत्र(टेन्डर) आह्वान गरेका थियौँ । तर अन्तिम समय सीमासम्म पनि एकजनाको पनि दरखास्त परेन । फेरी प्रक्रिया पु-याएर हामीले दोस्रो पटक टेन्डर आह्वान गर्दै छौं ।’ खनालले भने, ‘भोलिपर्सी नै पुनः टेन्डर हुँदैछ । जहाँ जे भएपनि भण्डारण रित्तिन त दिनुभएन नि ।’

चामल मात्र होइन अहिले खाद्यले तेल र दलहन आयातको प्रक्रिया समेत अघि बढाएको छ । तेल र दालको बजारमा अभाव देखिन थालेसँगै खाद्यले तत्काल खरिद प्रक्रिया अघि बढाइसकेको हो । भोलिपर्सि नै करिब १७ टन दलहन र तेलहन आयात हुँदै गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

यता, बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै बजार व्यवस्थापनलाई ध्यानमा राख्दै खाद्यले नै तेलको समेत आपुर्ति गर्न लागेको कार्यकारी अधिकृत सुवेदीको भनाइ छ ।

‘पहिले ढुवानीको साधनको दुईतर्फी भाडा म्यानेज हुन्थ्यो । आउदा जाँदा दुबैतर्फ सामान लोड हुन्थ्ये । तर अहिले त्यस्तो अवस्था छैन । अहिले एक तर्फीबाट मात्र सामान ल्याउनु पर्ने र त्यसैमा भाडा म्यानेज गर्नुपर्ने बाध्यता छ । यसले गर्दा बजारमा सामानको भाउ महँगो पर्न गएको हो,’ सुवेदीले भने, ‘यसै कारण अहिले बजारमा तेलको मूल्य केहि बढ्न गएको हो । यसलाई समेत म्यानेज गर्न हामी(खाद्य)ले नै तेलको समेत आयात गर्ने प्रक्रिया अघि बढाएका छौं । सम्भवत अबको केहि दिनभित्रै हामी बजारमा तेलसमेत बिक्री वितरण शुरु गर्छौँ ।’

हाल खाद्यले चामल र कर्णालीको सिमीको मात्र बिक्री वितरण गर्दै आएको छ । लकडाउनसँगै करिब ५ हजार मेट्रिकटन चामल र ५०० क्वीन्टल सिमी विक्रि गरिसकेको कम्पनीसँग हाल २० हजार मेट्रिकटन चामल र ५५० क्वीन्टल बराबरको सिमी मात्र स्टक रहेको छ ।

१६० मेट्रिकटन नुन, ६ हजार मेट्रिकटन चिनी

खाद्यान्न बाहेक दैनिक उपभोग्य वस्तु भित्र पर्ने नुन, चिनीको अवस्था हेर्दा हाल सरकारसँग १६० मेट्रिकटन नुन र ६ हजार मेट्रिकटन चिनी स्टक रहेको देखिन्छ । नुन र चिनीका लागि एकाधिकार पाएको नेपाल साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग अहिलेको अवस्थामा करिब १० महिनालाई पुग्ने(१६० मेट्रिकटन) नुन र एक महिनालाई पनि नपुग्ने(६ मेट्रिकटन) चिनी स्टक छ ।

अहिलेको अवस्थामा एक महिनालाई पनि चिनी नपुग्ने साल्ट ट्रेडिङ्गका बजार व्यवस्थापक ब्रिजेश झाले बताए । ‘नुनले १० महिना धानेपनि चिनीले धान्ने अवस्था छैन । हामीसँग भएको स्टकलाई हेर्दा चिनीले एक महिना पनि धान्ने अवस्था छैन ।’ झाले भने, यसलाई हेरेर तत्काल सरकारले चिनीको आपूर्तिमा ध्यान दिनुपर्छ । अन्यथा बजारमा चिनीको हाहाकार मच्चिन सक्छ । र बजारमा चिनीको कालाबजारी हुनसक्छ ।’

बजार व्यवस्थापक झाका अनुसार सामान्य अवस्था बजारमा मासिक २० हजार मेट्रिकटन चिनी खपत हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप