बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङकी कोरोनासंक्रमित अंशु भन्छिन्– संक्रमणको भन्दा समाजको भय धेरै थियो

आइसोलेशन कक्षमै परीक्षाको तयारी गर्दै
बुधबार, १० वैशाख २०७७, ०९ : ३०
बुधबार, १० वैशाख २०७७

गत चैत ३ गते बेल्जियमबाट नेपाल उड्दै गर्दा उनलाई एउटै कुराको मात्र चिन्ता थियो– कक्षा ११ को परीक्षा । २०७७ वैशाख २१ गतेदेखि सुरु हुने भनिएको परीक्षाका लागि तयारी गर्नुपर्ने भन्दै उनी डेढ महिना अघि नै बेल्जियमबाट उडेकी थिइन् ।

चैत ४ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा स्थिति सामान्य थियो । सबै सामान्य तरिकाले आ–आफ्नो गन्तव्यतर्फ लागिरहेका थिए । उनले पनि आफ्नै घरतिरको बाटो सोझ्याइन् । यती एयरको विमानबाट पोखरा हुँदै उनी जीप चढेर बागलुङ नगरपालिका–४ स्थित कुँडुलेस्थित घर पुगिन् चैत ४ गते साँझ नै ।

उनै अन्शु सापकोटालाई घर पुग्दासम्म पनि अरु खासै केही चिन्ता थिएन परीक्षाको बाहेक । उनी पुग्दा घर–परिवारमा छुट्टै खुसी छायो । हजुबा–हजुरआमासँग बस्दै आएकी उनी करिव चार महिनाको बेल्जियम बसाइपछि घर फर्किएकी थिइन् । केही महिनादेखि खाली–खाली भएको घर उनको आगमनसँगै पूर्ण भएको थियो । हजुरबा–हजुरआमा नातिनी घर आएसँगै दङ्ग थिए ।

१४/१५ वर्ष भैसक्यो बुबा आमा बेल्जियम बसेको, उनी भने हजुबा–हजुरआमासँग बागलुङ, कुँडुले घरमा बस्दै आएकी छिन् र गाउँकै स्कूलमा हाल कक्षा ११मा अध्ययनरत छिन् । समय समयमा आमाबुबालाई भेट्न बेल्जियम पुग्ने गरेकी उनले कहिल्यै सोचेकी थिइनन् कि यो पाला यसरी बाटोमै भाइरसले आक्रमण गर्ला भनेर ।

जब कोरोना संक्रमणको शंका भयो

अन्शु उनै हुन् जसलाई गत चैत १५ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । ४ गते घर पुगेकी उनी सामान्य तरिकाले नै बसिरहेकी थिइन् । विश्वभरी महामारीको रुप लिँदै गरेको कोरोनाभाइरसको संक्रमणबारे जानकार थिइन् उनी । बेल्जियमबाट आउँदा पनि मास्क, सेनिटाइजरको प्रयोग गर्दै सतर्कता अपनाएको र घर आएपछि पनि सुरुमा परिवारसँग सँगै बसे पनि सतर्कता अपनाएको उनी बताउँछिन् ।

उनका बुबा उनीभन्दा केही समय पहिला नै नेपाल आउनु भएको थियो । जब अन्शुलाई चैत ७ गते अचानक ज्वरो आयो, उनी र उनका परिवार आत्तिए । रुघा र अलि–अलि खोकी पनि लाग्यो । सोही बेला कतार एयरवेजको जहाजमा आएकी एक यात्रुमा कोरोना पोजिटिभ आएको खबर एकाएक फैलिएपछि उनलाई सेल्फ क्वारेन्टाइनमा राखिएको थियो । अन्शुलाई भने सामान्य औषधिले नै निको भइरहेको थियो ।

यतिले मात्रै शंकाको दुरी घट्नेवाला थिएन । उनको पनि स्वाब परीक्षणका लागि लगियो र चैत १५ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो ।

अन्शु १९ वर्षकी भइन् । भन्छिन्, ‘आफूले सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण हुँदा सुरुमा त विश्वास नै लागेन । सामान्य अवस्थामै छु भन्न नहुने रहेछ । कसरी संक्रमण भयो पत्तै भएन ।’

संक्रमण पुष्टि भएकै दिन चैत १५ गते उनलाई बागलुङको धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरियो । त्यसपश्चात अस्पतालकै आइसोलेशन वार्डमा उपचाररत छिन् अन्शु । सामान्य अवस्थामा रहेकी अन्शुको हालसम्म ४ पटक कोरोना परीक्षण भइसक्यो तर सबै रिपोर्ट पोजिटिभ आएका छन् । उनी रिपोर्ट नेगेटिभ आउने दिनको प्रतीक्षामा छिन् ।

हामीसँगको कुराकानीमा उनी बारम्बार भनिरहन्थिन्, ‘यो सामान्य हो, म सामान्य नै छु, केही समस्या आएको छैन र छिट्टै म पनि निको भएर घर जान्छु ।’

अझ अहिलेसम्म ५ जना निको भएर घर फर्किइसकेका छन् । यसले पनि अन्शुलाई छिटै निको हुन आत्मबल मिलेको छ ।

ममीको धेरै फोन आउँछ

अन्शु आइसोलेशनमा बसेको वैशाख ९ गते २५ दिन भयो । धेरैजसो समय उनको ममी (आमा, जो बेल्जियममै हुनुहुन्छ)सँग कुरा गरेर बित्छ । हरेक पटक आमाले ठिक हुन्छ भन्दै उत्साह भर्ने गरेको उनी बताउँछिन् । बाँकी समय साथीहरुसँग कुराकानी गर्ने, यूट्यूवमा फिल्म हेर्ने अनि पढाइमा बिताउने गरेकी छिन् ।

आधा दिनजसो त साथीभाईहरुसँग कुराकानी गरेरै बित्छ अन्शुको । साथीहरु उनी अस्पतालबाट डिस्चार्ज हुने दिनको प्रतीक्षामा छन् । अन्शु पनि आफूलाई छिट्टै निको हुनेमा आशावादी छिन् ।

अस्पताल भर्ना हुँदा उनी शून्यजस्तै थिइन् । कारण, उनलाई समाजमा कतिले रोग लिएर आइ भनेर त्यति राम्रो मानेनन् त, कतिले निको हुन्छ भन्दै ऊर्जा भर्ने काम गरे । तर उनलाई आफूमाथि आरोप लगाउने र अर्कै दृष्टिले हेर्नेहरुसँग निकै चित्त दुखेको छ । संक्रमणको भन्दा पनि समाजको भयले पोल्यो अन्शुलाई ।

अन्शु भन्छिन्, ‘मलाई संक्रमण भएको थाहा पाउँदा भन्दा पनि गाउँघर तिरका मानिसको व्यवहारले धेरै दुःख लाग्यो । मिडियामा सनसनीपूर्ण खबर आए, मानिसमा अर्कै त्रास पैदा भयो, सबै मसँग डराए । सुरुमा त निकै आत्तिएँ । तर मेरो परिवार, डाक्टरहरुले मलाई साथ दिनुभयो, हौसला दिनु भयो, जसको नतिजा म अहिलेसम्म पनि ठिक छु । आज धेरै शुभचिन्तकहरुले फोनबाट, म्यासेजबाट हौसला दिनुहुन्छ । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुन्छ, यसले आत्मबल बढेको छ ।’

अस्पताल भर्ना भएको दिनदेखि हरेक दिन ४ देखि ५ पटक आमासँग फोनमा कुरा गर्छिन् अन्शु । आमाको हरेक कल उनका लागि ओखती बराबर छ । कोसौं टाढा रहे पनि आमाको आवाज, आड–भरोसा अनि स्नेह नै उनको उपचारमा ओखती बनेको छ । छन त यहाँ धेरै छन् आफन्तहरु, तर सबै उनीसँग डराएका छन् यतिबेला । अनेक आरोप पनि लगाउन नभ्याएका होइनन् । तर उनको कलिलो मष्तिस्कले भ्याएसम्म आफूलाई कमजोर हुन दिइनन् । अहिले त रोगलाई परास्त गर्ने हिम्मत जुटिसकेको उनी बताउँछिन् ।

आमाबुबाले नै हो अन्शुलाई नडराइ बस्न र आफ्नो परिचय नलुकाउन सुझाएको । ‘कोरोना लाग्दैमा परिचय नै लुकाउन जरुरी छैन, तिमी नडराऊ, केही हुँदैन । आत्मबल बलियो बनाऊ, निको हुन्छ,’ आमाले भनेको सम्झिन्छिन् अन्शु । त्यसैले पनि आफूले सुरुबाटै नाम र फोटो गोप्य राख्न जरुरी नठानेको अन्शु बताउँछिन् ।

कोरोनाको संक्रमण कसैमा सर्न पाएन । सतर्कता नअपनाएको भए जे पनि हुन सक्थ्यो, यो कुरा सबैले बुझ्नु पर्छ । अन्शु आफू संक्रमित भए पनि समाजलाई संक्रमणबाट बचाएकी छिन् । त्यसैले उनी सबैलाई आग्रह गर्छिन्, ‘सतर्क भएर बसौँ, संयमता अपनाएर एक अर्काको भावनाको सम्मान गरौँ ।’

अस्पताल नै घर, डाक्टर अनि नर्स परिवार

अन्शुको अस्पताल बसाई चार हप्ता पुग्न लागिसक्यो । उनलाई अस्पताल अब घरजस्तै लाग्न थालेको छ । सबैजनाले राम्रो केयर गर्ने गरेको उनी बताउँछिन् ।

अन्शुलाई राखिएको अस्पतालको आइसोलेशन कक्ष उज्यालो र घाम आउने छ । उनलाई राखिएको कक्षमा सिसी क्यामेरा जडान गरिएको छ । अस्पतालले दिने खाना राम्रो छ । उनलाई खानाको कुनै समस्या छैन । आफू सामान्य अवस्थामा रहेकाले पनि खाना खान समस्या नभएको र प्रशस्त तातो पानी पिउने गरेको उनी बताउँछिन् ।

कुनै सामानको आवश्यकता परेको बेला सिस्टरहरुलाई फोन गर्छिन् । बिहान–बेलुका दुई पटक डाक्टर चेकजाँचका लागि आउने गरेको र बेला–बेला फोनमा कुरा गर्ने गरेको उनी बताउँछिन् । अब त डाक्टर, नर्स परिवारका सदस्यजस्तै लाग्न थालेको छ उनलाई । अन्शु भन्छिन्, ‘सबैजनाले माया गर्नुहुन्छ, केही चाहियो भने ल्याइदिनुहुन्छ, हौसला दिनुहुन्छ, समय समयमा फोन गरेर के छ, कसो छ भनी बुझ्नु हुन्छ र तिमी ठिक छौ, अब छिट्टै निको हुन्छौं भन्नुहुन्छ ।’

पुनः परीक्षाको तयारीमा अन्शु

अन्शु बेल्जियम आमाबुवालाई भेट्न गएकी थिइन् गत मंसिर (डिसेम्बर)मा । कक्षा ११ को परीक्षा नजिकिँदै थियो । अतः परीक्षाकै लागि भनेर उनी हतार हतार फर्केको बताउँछिन् । उनी भन्छिन्, ‘बेल्जियम गएपछि पनि केही समय त बाहिरतिर डुलेँ, तर पछि भने घरै बसेँ । कसरी संक्रमण भयो भन्ने नै थाहा नहुने रहेछ ।’

अस्पतालको आइसोलेशन कक्षबाट हरेक दिन बिहानदेखि बेलुकासम्म विश्वलाई नियाल्ने अवसर पनि पाएको उनी बताउँछिन् । उनले आइसेलेशन वार्डको बसाईलाई उपयोगी बनाउन अध्ययनलाई पनि निरन्तरता दिन थालेकी छिन् ।

अन्शु भन्छिन्, ‘बिहान ६ देखि ७ बजेसम्ममा उठ्छु । फ्रेस भएर ब्रेकफास्ट गर्छु, जसमा अण्डा, ब्रेड, दुध, कहिले चिया, बिस्कुट खान्छु । १० देखि ११ बजेमा खाना ल्याइदिनुहुन्छ जसमा सामान्य दाल, भात, तरकारी हुन्छ । दिउँसो २ देखि ३ बजेको समयमा खाजा खान्छु । खाजामा पनि दुध, ब्रेड, बिस्कुट कहिले चाउचाउ, यस्तै हुन्छ । र, बेलुका ७ देखि ८ बजेसम्ममा खाना खान्छु ।’

अस्पताल आएदेखि माछा–मासु नखाएको उनी बताउँछिन् । ‘योबीचमा ममीसँग फोनमा कुरा गर्छु, साथीहरुसँग कहिले च्याट गर्छु त कहिले फोनमा कुरा गर्छु । यूट्यूवमा फिल्म हेर्छु । समाचार पढ्छु । आजभोलि मोटिभेसनल भिडियोहरु पनि हेर्ने गरेको छु,’ उनले भनिन्, ‘अब परीक्षाको तयारी पनि गर्नुपर्ने छ, त्यसैले एक हप्ता भयो कोर्सका कितावहरु पठाइदिनुभएको छ घरबाट, यहीँ पढ्न थालेको छु ।’

अन्शु आइसोलेशन वार्डबाटै परीक्षाको तयारी गर्दै छिन् । परीक्षाको मिति अनिश्चित बनेको छ । २१ गतेबाट हुने परीक्षा स्थगित भएको छ ।

अन्शुलाई कहिलेकाहीँ त नरमाइलो पनि लाग्छ । भन्छिन्, ‘यसरी आइसोलेशनमा बसेकाहरुलाई सरकार र परीक्षा बोर्डले केही विचार गरिदिए हुन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप