बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा नेता, व्यवसायीदेखि सेलिब्रेटीसम्मको यस्तो छ फिट्नेस तरिका

बुधबार, १० वैशाख २०७७, ०९ : ३७
बुधबार, १० वैशाख २०७७

कोरोना भाइरसको त्रासका कारण देशमा करिब एक महिनादेखि लकडाउन जारी छ । लकडाउनका कारण अहिले व्यापार, व्यवसाय, अफिसलगायत सबै क्षेत्र प्रभावित भएको छ । यो समय नेता, कलाकार, व्यवसायीदेखि सर्वसाधारण घरको ४ कुनामा सीमित भएर बसेका छन् । यो लकडाउनको समयमा नेतादेखि कलाकारसम्मको फिट्नेस उनीहरुकै शब्दमा :

भीम रावल (सांसद तथा नेता )

 फिट्नेस लागि म पहिलेदेखि नै सजग छु । लकडाउनमा मात्र होइन धेरै पहिलेदेखि बिहान नियमित व्यायाम गर्दै आइरहेको छु ।

यो लकडाउनको समयमा पनि त्यो रुटिङ नियमित जारी छ । बिहानको व्यायामले शारीरिक फुर्तीका अलवा काममा समेत मन लाग्ने मेरो अनुभव हो ।

दैनिक बिहान कम्तीमा पनि आधा घण्टा छिटो छिटो गतिमा हिँड्छु । त्यसपछि कोठामा आएर व्यायाम गर्छु । त्यो व्यायम पनि मेरो आफ्नै प्रकारको छ । करिब ४५ मिनेट व्यायाम गरेपछि शरीर चङ्गा हुन्छ ।

म खानपिनमा पनि ध्यान दिन्छु । मैले आजसम्म मदिरापान, धूमपान गरेको छैन । चिल्लो, बोसो लगायतका जे पायो त्यो पनि खान्न । कफी र कोल्डड्रिङस्् मैले अहिलेसम्म खाएको छैन । घरकै चियापत्तीको चिया खाने गरेको छु ।
 
राजनकुमार केसी (सांसद तथा नेता) 

हरेक दिन बिहान ६ बजेभित्र उठिसक्ने मेरो बानी छ । उठेपछि पहिलो नित्यकर्म सकाउँछु ।

बिहान ७ देखि ८ बजेसम्म रामदेवको योग गर्छु । मेरो घरको वरिपरिको कम्पाउन्डभित्र हिँड्न मिल्ने ठाउँ छ । १ घण्टा हिँड्छु । सो क्रममा करिब ५ किलोमिटर हिँड्छु ।
दिनको समय लेख्ने र पढ्नेमा बित्छ । बेलुकाको समय पनि करिब आधा घण्टा हिँड्छु ।     

करिस्मा मानन्धर (अभिनेत्री ) 


यो लकडाउनको समयमा घरको काम धेरै गरिरहेकी छु । खाना बनाउने, लुगा धुनेदेखि भाँडा माज्नेसम्म मेरो दैनिक रुटिङ भएको छ । यसले एक हदसम्म मेरो एक्सरसाइज समेत हुने गरेको छ ।

बिहान उठ्ने बित्तिकै छतमा गएर एक्सरसाइज गर्छु । त्यसका लागि युट्युबका एक्सरसाइजका भिडियो मेरा सहयोगी हुने गरेका छन् । एक्सरसाइजकै लागि दैनिक आँगनदेखि छतसम्म धेरै पटक तलमाथि समेत गर्छु ।

गगन थापा (सांसद तथा नेता) 


लकडाउनभन्दा पहिले म साताको दुई दिन २ घण्टा नियमित फुट्सल खेल्थँे । यसले घरमा केही हल्का एक्सरसाइज गर्दा एक सातका लागि फिटनेस् पुग्थ्यो । अहिले त्यो भएन ।

तर फिट्नेसका लागि २, ३ तरिका प्रयोग गरिरहेको छु । मेरा दुइटी छोरी छन् । उनीहरुलाई बेलुकाको ४ देखि ६ बजेसम्म दुई घण्टा घरको छतमा फिजिकल एक्सरसाइजका लागि खेलहरु खेल्ने गराउँछु । यसका लागि साताको तीन दिन जस्तो समय मिल्ने गरेको छ ।

कहिलेकाहीँ समय निकालेर बिहान आधा घण्टा कोठाभित्र हिट भन्ने एक्सरसाइज गर्छु । मोटामोटी साताको ४ दिन जति मेरो वर्क आउट हुने गरेको छ । यसले नै मलाई फिट राख्ने काम गरेको छ ।

डा. भोला रिजाल (गीतकार तथा चिकित्सक) 

म हरेक दिन बिहान ५ बजे उठ्छु । उठेपछि नुहाउने लगायत नित्यकर्म सकाउँछु । झन्डै ७ महिना अगाडि मेरो स्पाइन सर्जरी भएको थियो । सो सर्जरी गरेर आएपछि बिहान म करिब एक घण्टा मर्निङवाक गर्छु ।

कोरोनाका कारणले लकडाउन भएपछि भने करिब १५, २० मिनेट घरको वरिपरि हिँड्छु । मर्निङवाक सकिएपछि बिहानको नास्ता लिएर  करिब ९ बजेतिर म फिजियो थेरापीतिर लाग्छु । करिब डेढ घण्टा फिजियो थेरापी गर्छु । खानामा ध्यान पनि दिइरहको छु । बेलुका साँझ पनि करिब आधा घण्टा फिजियो थेरापीका लागि साइक्लिङ गर्छु ।

अनिल शाह (बैङ्कर) 

यो लकडाउनको समय मर्निङवाकका लागि बाहिर निस्किन मिल्दैन । यस्तोमा फिट्नेस नगर्ने भने होइन ।

म दैनिक नियमित घरमै छिटोछिटो ३५ मिनेट जति हिँड्छु । केही एक्सरसाइज पनि गर्छु । 

फिट्नेसका लागि एक्सरसाइजको अलवा हामीले खानेकुरामा पनि ध्यान दिनुपर्छ । काममा नियमित बिजी हँुदा खाना कम खाइन्थ्यो । तर घरमा बस्दा खाना धेरै खाइँदोरहेछ । फिट्नेसका लागि खानेकुरामा पनि धेरै ध्यान दिने गरेको छु ।

मेरो हजुरबुबा बाहिर निस्किन नसक्ने भएपछि कोठामा हजार पाइला गनेर हिँड्नु हुन्थ्यो । म त्यो सधैँ सम्झन्छु । हिँड्छु । अरूलाई पनि फिट्नेसका लागि एक्सरसाइज र खानामा ध्यान दिन सुझाउँछु ।

जीवन शर्मा (जनगायक) 

बिहान नियमित व्यायम गर्ने गर्दछु । मेरो घरमा जगिङ गर्ने ठाउँ छैन । तरकारी किन्न केही समय बाहिर निस्किन्छु । त्यही हो मेरो जगिङ ।

सङ्गीतको नियमित रियाज गर्छु । यसबाट पनि मेरो फिट्नेस हुने गरेको छ । आफूलाई व्यस्त राख्ने, परिवारसँग धेरै समय बिताएर खुसी रहने गर्दछु ।

रेस्मा भण्डारी (खेलाडी) 

अहिले बाहिर निस्किन मिल्दैन । फिट्नेसका लागि मेरो हातको समस्या भएको पुसअप गर्न मिल्दैन । आफूलाई फिट राख्न अन्य एक्सरसाइज गर्ने गरेको छु ।

योगा गर्दिनँ । हामी खेलाडीले पेटको मोसन टाइट राख्नुपर्ने हुन्छ । त्यसका लागि विभिन्न एक्सरसाइज छ । त्यो सबै गर्छु । घरमा केही समय जगिङ समेत गर्छु ।

केकी अधिकारी (अभिनेत्री) 

हेल्थ रह्यो भने सबैथोक हुने हो । त्यसैले यो लकडाउनको समय स्वस्थ्यका लागि म सजग छु । फिट्नेसका लागि हरेक बिहान नियमित रूपमा योग गर्दछु । 

यो समय एक ठाउँमा बस्नुपर्दा मेन्टल्ली समस्या पनि आउन सक्छ भनेर त्यसका लागि राम्रा गुरुहरुको मोटिभेसन खालका भिडियो समेत हेर्ने गरेकी छु । भविष्य आफ्नो हातमा नभएकाले त्यसको चिन्ता गर्नुभन्दा पनि वर्तमानमा रमाउने कोसिस गरिरहेकी छु ।

शतिसकुमार मोर (व्यवसायी) 

फिट्नेसका लागि म बिहान दैनिक आफ्नो क्याम्प भित्र करिब १ घण्टा मर्निङवाक गर्छु । लकडाउनमा पनि कामको चाप धेरै छ । मन्त्रालयहरुमा मिटिङ भइरहेको हुन्छ । दौडधुप धेरै छ । यसले पनि मेरो फिट्नेसको काम गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप