शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के नेपालमा कोरोनाभाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गरेको हो ?

बिहीबार, ११ वैशाख २०७७, ०७ : ०७
बिहीबार, ११ वैशाख २०७७

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा रहेको नुरी मस्जिदमा सामुहिक रुपमा बसेका जमातीलाई कोरोनासंक्रमण भएपछि कतै  समुदायस्तरमा तीव्ररुपमा फैलिएको त छैन भनेर सबैलाई झस्काएको छ । यसअघि, कैलालीस्थित घरमै बसेकी एक महिला कोरोना संक्रमित भएको पत्ता लागेसँगै नेपाल लोकल ट्रान्समिसन अर्थात् कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको थियो ।

बुधबार कोरोना संक्रमित तीनजना पनि उदयपुरकै नुरी मस्जिदमा बसेको जमातकै समुहका सदस्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी उदयपुरमा पत्ता लागेका २७ जना कोरोना संक्रमित अन्य देशबाट आयातित हुन् वा नेपालमै आएर संक्रमित भएका हुन् भन्ने बारेमा प्रष्ट नहुँदा समुदायबाट नै समुदायमै फैलियो भनेर ठोकुवा गर्ने स्थिती नभएको विज्ञ डाक्टर शरद वन्त बताउँछन् । नुरी मस्जिद बसेको जमातबाट कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश ग¥यो भनेर मूल्याकङ्कन गर्न अहिले नै नसकिने उनको भनाइ छ ।

नुरी मस्जिदमा बसेका जमातीको कोरोना संक्रमणको स्रोत पहिचान गर्न जरुरी भएको डाक्टर वन्त बताउँछन् । ‘नुरी मस्जिदकाजमातलाई कहाँबाट संक्रमण भएको खोजी कार्य गर्नुपर्छ,’ उनले भने, ‘अनुमानको आधारमा कोरोनासंक्रमण तेस्रो चरणमा प्रवेश भन्न सकिदैँन ।’

भुल्के नुरी मस्जिदका जमातको कोरोना संक्रमणको स्रोत पहिचान हुन नसक्दा कतै स्थानीय स्थरमा एकबाट अर्कामा सरेको संकेत समेत गर्न सक्ने अवस्थासमेत रहेको विज्ञहरु बताउँछन् ।

विज्ञ डाक्टर वन्तका अनुसार कोरोना संक्रमण जुन चरणमा प्रवेश गरे पनि संक्रमणको गतिले प्रभाव पर्छ । त्यसैले समुदायमा संक्रमणको गति कस्तो छ थाहा पाउन आवश्यक पर्ने उनी बताउँछन् । ‘पहिलो चरणमै हजारौँ जनामा कोरोना संक्रमित हुँदा समस्या हुन्थ्यो,’ उनले भने, ‘सीमित क्षेत्रमामात्रै संक्रमण तेस्रो चरणमा प्रवेश गर्दा सावधानी अपनाएर संक्रमण दरलाई कम र अन्यलाई सर्नबाट बचाउन सकिन्छ ।’

भुल्केको नुरी मस्जिदमा बस्दै आएहरुलाई कोभिड–१९ को संक्रमण नेपालमै वा बाहिर भएको भन्ने छिट्टै पत्ता लगाउनजरुरी भएको रोग नियन्त्रण तथा इपिडिमियोलोजी महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् । पदैल मार्ग हुुँदै नेपाल–भारत नाका भएर नेपाल प्रवेश गर्ने र हवाईमार्ग हुँदै अन्तर्राष्ट्रिय विमानबाट आउनेको रेकर्ड नराखेको कारण संक्रमितको स्रोत पहिचान गर्न अलमल भएको उनले बताए ।


भारतसँग खुल्ला सीमानाका भएको कारण नेपालमा संक्रमित देखिरहने उनी बताउँछन् । समुदायमा कोरोना संक्रमण देखिएको स्थानलाई निगरानीमा राखेर अन्य क्षेत्रमा फैलिन नदिन पीसीआर टेष्टको दायरा बढाउनुपर्ने उनी बताउँछन् ।


छिमेकी राष्ट्रमा कोरोनासंक्रमण महामारीको रुप लिँदा नै हवाई तथा पैदलमार्गमा सावधनी अपनाउन नसकेको कारण संक्रमितको स्रोत पहिचान गर्न समस्याभएको डाक्टर मरासिनी बताउँछन् । ‘नेपाल र भारतको नाकामा समयमै सरकारले सावधानी अपनाउँन नसक्दा कोरोनासंक्रमित आयातित भएको वा समुदाय स्थरमा एक व्यक्तीबाट अर्को व्यक्ति संक्रमित भयो भन्ने थाहा हुन समय लाग्यो,’ उनले भने, ‘नाकामा अझै पनि कडा निगरानी राख्नुपर्छ ।’

भारतसँग खुल्ला सीमानाका भएको कारण नेपालमा संक्रमित देखिरहने उनी बताउँछन् । समुदायमा कोरोना संक्रमण देखिएको स्थानलाई निगरानीमा राखेर अन्य क्षेत्रमा फैलिन नदिन पीसीआर टेष्टको दायरा बढाउनुपर्ने उनी बताउँछन् ।

कोरोनासंक्रमित समुदाय, नगरपालिका र जिल्लालाई कडा लकडाउनमा राख्नुको विकल्पन भएको उनी बताउँछन् । केन्द्रिय तथा प्रदेशिक तहमा बस्नेलाई कोरोना संक्रमणको बारेमा स्थानीय तहमा जनचेनता पूर्णरुपमा फैलिएको जस्तो लागे पनि पुग्न नसकेको उनी बताउँछन् । त्यसैले स्थानीय तहसँग समवन्य गरेर अझै पनि कोरोना कसरी संक्रमण हुन्छ–हुँदैन भन्ने बारेमा जनचेनता फैलाउन क्याम्प संचालन गर्नुपर्ने उनी बताउँछन् ।

कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको आशंका भइरहको अवस्था स्रोतको पहिचान गरेर ती क्षेत्रलाई रेड जोन एरिया घोषणा गरेर सिल गरेर पहिचान तथा रोकथामको कार्य सञ्चालन गर्न जरुरी भएको विज्ञ डाक्टर समीरमणि दिक्षित बताउँछन् । कोरोना संक्रमण जुन चरणमा भए पनि भुगोल समुदाय छुटाएर सिल गर्नुको विकल्प नभएको उनी बताउँछन् । नुरी मस्जिदमा बस्ने संक्रमितको स्रोत पहिचान गरेर त्यहीअनुसार पहिचान र नियन्त्रणका लागि तिव्ररुपमा कार्य सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।

नेपालमा हालसम्म ४५ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ४५ जना संक्रमितमध्ये ७ जना निको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप