शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्प व्यवसायीको दुःख : २० रुपैयाँको पनि व्यापार नभएपछि फूल फाल्न बाध्य

बिहीबार, ११ वैशाख २०७७, १० : १०
बिहीबार, ११ वैशाख २०७७

काठमाडौँ । पुष्प व्यवसायीहरुले उत्पादन गरेका फूलहरु धमाधम फाल्न थालेका छन् । जाडो सिजन सकिएर गर्मी सुरु हुँदै गर्दा फक्रिएका फूलहरु बिक्री नभएपछि फूलहरु चुँडेर फाल्न थालेका हुन् ।

पुष्प व्यवसायमा वैशाख महिना सबैभन्दा बढी फूल बिक्री हुने सिजन हो । विवाहको लगन प्रशस्त हुने र जाडोका कारण कक्रिएका फूलहरु फक्रेर उत्पादन समेत प्रशस्त हुने भएपछि वर्षभरी हुने बिक्रीको २० प्रतिशत व्यापार यही समयमा हुन्थ्यो । तर वैशाखको १० दिन बितिसक्दा २० रुपैयाँको पनि फूल नबिकेको रामकोटका पुष्प व्यवसायी उद्धवराज गिरीले बताए ।

‘वैशाख र असारको दुई महिनामामात्रै हाम्रो ३५ प्रतिशत व्यापार हुन्थ्यो । त्योमध्ये वैशाखमा २० प्रतिशत फूल खपत हुन्थ्यो, अहिलेसम्म एक थुँगा पनि बिक्री गर्न सकेका छैनौँ,’ उनले भने । बजारमा माग नै नभएपछि फूलहरु त्यतिकै फाल्नुपरेको उनको भनाइ थियो ।

गिरी १८ वर्षदेखि यो व्यवसायमा संलग्न छन् । उनले नेपालको बजारमा खपत हुने सबै फूल उत्पादन गरिरहेका छन् । तर १८ वर्षको अवधिमा यो क्षेत्रमा यति ठूलो संकट नदेखेको उनले बताए ।

‘भूकम्पको बेलामा केही असर गरेको थियो, तर त्यो १८–२० दिनको लागि मात्रै थियो । यो वर्ष चौपटै भयो । सरकारले सहुलियत नदिने हो भने यो घाटा उठाउन कम्तिमा पनि २ वर्ष लाग्छ,’ उनले भने । फूलको बिक्री नभएपछि कामदारलाई पनि पूरा तलब दिन नसकिएको उनको भनाइ छ ।

७७ सालमा आशै छैन

त्यसो त २०७७ सालमा अरु महिनामा राम्रो व्यापारको सम्भावना छैन । अहिलेको अवस्था हेर्ने हो भने असारसम्म पनि विवाहलगायतका शुभकार्य र ठूला पूजापाठ हुने सम्भावना छैन । साउन र भदौमा त्यस्तो शुभकार्य हुँदैन ।

यो वर्ष असोजमा ‘मलमास’ छ, त्यसैले त्यो महिनामा पनि शुभकार्य हुँदैन । कात्तिकमा दशैँ र मंसिरमा तिहार परेको छ । तिहार कात्तिकमा परेको भए राम्रो बिक्री त्योबेला हुन सक्थ्यो । तर मंसिरसम्म मौसमी फूल ओइलाइसक्ने पुष्प व्यवसायी गिरीको भनाइ थियो ।

‘अर्को राम्रो व्यापार हुने फागुनमा हो, यो वर्ष त्यो महिनामा विवाहको लगन नै छैन, त्यसैले यो वर्ष राम्रो व्यापारको आशै छैन,’ उनले भने ।

सरकारले राहत प्याकेजमा पुष्प व्यवसायीको माग सम्बोधन गर्नेमा उनी आशावादी छन् । उनी भन्छन्, ‘अरुजस्तै हामी पनि लोनमै चलिरहेका व्यवसायी हौँ । सरकारले राहत प्याकेज ल्याएर यो व्यवसायलाई उकास्यो भने अर्कै कुरा नत्र ७५ प्रतिशत व्यवसायी पलायन हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप