शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सांसद राजनकुमार केसीको जीवन : चुनावमा प्रचण्डसँग भिड्न सहज थिएन

शनिबार, १३ वैशाख २०७७, ०९ : ३४
शनिबार, १३ वैशाख २०७७

काँग्रेस सांसद राजनकुमार केसीको जीवन ः प्रचण्डसँग भिड्न सहज थिएन 
– कुवेर गिरी 

काठमाडौँ । पूर्वखेलकुदमन्त्री एवं नेपाली काँग्रेसका वर्तमान सांसद राजनकुमार केसी नेपाली राजनीतिका परिचित व्यक्ति हुन् । २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेपछि नेपाली राजनीतिमा केसीको चर्चा चुलिएको थियो । त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वका सरकारमा युवा तथा खेलकुद मन्त्री पनि बने ।
नेपाली काँग्रेस काठमाडौँ जिल्लाका पूर्वसभापतिसमेत रहेका केसी गएको आम निर्वाचनमा काँग्रेसका प्रमुख हस्तीहरु पराजित हुँदा पनि काठमाडौँको सोही क्षेत्रबाट विजयी हुन सफल भए । 

बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरी केसी दोस्रो पटक संसद यात्रा गरे । ०४६ देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय केसी पार्टीभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् । जनताको काम र सेवा नै आफ्नो राजनीतिको मूल उद्देश्य मान्ने केसीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना
खानेकुरामा मेरो कहिल्यै शोख रहेन । खानामा साधारण नेपाली खाना दालभात तरकारी मनपर्छ । मन नपर्ने त्यस्तो केही छैन ।
रेस्टुरेन्ट पनि धेरै जान्छु । खाजा, खानाका लागि कहिले एक्लै र कहिले परिवारको साथमा जाने गरेको छु । रेस्टुरेन्टको मनपर्ने खानेकुरा चिकेन कक्टेल र मम हो । पकाउन पटक्कै रुचि छैन ।

मेरो फिट्नेस
हरेक दिन बिहान ६ बजेसम्म उठिसक्ने मेरो बानी छ । उठेपछि पहिले नित्यकर्म सक्याउँछु । त्यसपछि बिहान ७ देखि ८ बजेसम्म रामदेवको योगा गर्छु । करिब ५ किलोमिटर जति मर्निङवाक गर्छु । बेलुकाको समय पनि करिब आधा घण्टा हिँड्ने गरेको छु ।
मेरो पोसाक
मेरो मनपर्ने पहिरन सर्ट, पाइन्ट र कोट नै हो । फर्मल कार्यक्रमका लागि दौरा सुरुवाल पनि लगाउने गरेको छु । ढाकाको टोपी शिरमा प्रायः छुट्दैन । 

निलो र रातो मेरो मनपर्ने पहिरन रङ हो । सकभर ब्रान्डेड पहिरन किन्छु । यसमा विश्वास लाग्छ । त्यसैले धेरैजसो रेडिमेड सर्ट किन्छु । पाइन्ट र कोट सिलाउने गरेको छ । मेरो पहिरन खर्च वार्षिक ५५, ६० हजारले पुग्छ होला ।

मेरो अध्ययन
अध्ययन रुचिको विषय पनि हो । अध्ययन प्रशस्तै गर्छु । दैनिक पत्रपत्रिका सबै पढ्छु । यो लकडाउन समयमा पनि धेरै पुस्तक पढेँ ।

अहिले भर्खर पढेको पुस्तक ‘आजको नेपाल’ भन्ने हो । हेमराज अधिकारीको लेखन रहेको यो पुस्तक ठूलो भोल्युमको रहेको थियो । पुस्तकमा जीवनी, बायोग्राफी, सफल व्यक्तिको चिनारी लगायत पढ्न मनपर्छ ।

मेरो फुर्सद  
अहिले लकडाउनको समय भएकोले फुर्सछ । नत्र फुर्सदै हुँदैन । बिहान उठ्ने बित्तिकै साथीभाइ, कार्यकर्तालगायत भेटघाट गर्नैपर्यो । 

त्यसपछि सदन चलेको समय त्यहाँ जानुपर्छ  । बेलुकाको समय केही फुर्सद हुन्छ । फुर्सदको समय टिभी हेर्ने, घरपरिवारसँग बिताउने गर्दछु ।

मेरो खेलकुद
विद्यार्थी जीवनमा खेलकुदमा एकदमै रुचि थियो । सो समय फुटबल र ब्याडमिन्टन धेरै खेल्थेँ । स्कुल, कलेज पढ्दा यी दुई खेलको म राम्रो खेलाडी थिएँ ।

पछिल्लो समय खेल टोटल्ली छुट्यो । अहिले फुटबल मनपर्छ । टिभीमा फुटबल हेर्छु । 

मेरो मोबाइल
मसँग एउटा एप्पल ब्रान्डको मोबाइल छ । यो ब्रान्डबाहेक मैले अन्य ब्रान्डको मोबाइल बोकेको छैन । 

सिम भने नेपालमा मोबाइल आउँने बित्तिकै लिएको नम्बर अहिले पनि त्यही छ । फेरेको छैन । नम्बर फेरेर बोक्ने मेरो कहिल्यै भएन ।

फोन गर्ने, उठाउनेको अलवा फेसबुक, ट्विटर, म्यासेन्जर, इमेल लगायतका लागि मोबाइल प्रयोग हुने गरेको छ ।

मेरो टिभी 
टिभी बेलुकाको ७ः३० देखि १० बजेसम्म नियमित हेर्छु । देशविदेशका समाचारका लागि पनि टिभी हेर्नुपर्छ । 

भारतीय टिभीको क्राइम पेट्रोल पनि मनपर्छ । अन्तरवार्ताहरु पनि हेर्छु ।

मेरो चलचित्र
चलचित्र हेर्न रुचि छ । तर हलमा जाने फुर्सदै हुँदैन । टिभीमा, युट्युबमा हेर्छु । नेपाली, हिन्दी सबै प्रकारको फिल्म हेर्छु । 

पछिल्लो समय हेरेको फिल्म सलमान खानको ‘बजरङ्गी भाइजान’ र नेपाली ‘छक्का पन्जा ३’ हो ।

मेरो राजनीति
विद्यार्थी जीवनदेखि नै म राजनीतिमा छु । २०२९ मा एसएलसी पास गरेर २०३० सालमा कलेज भर्ना भएँ । सो समय मैले नेविसङ्घको सदस्यता लिएको थिए । तर म धेरै एक्टिभ भने थिइनँ ।

म पूरै राजनीतिमा होमिएको भने २०४६ को जनआन्दोलन पछि मात्र हो । जनआन्दोलन पछिको पहिलो निर्वाचनमा कीर्तिपुरको वडामा विजयी भएँ । 

त्यसको ३ महिनापछि जिल्ला विकासमा विजयी भएँ । त्यसपछि पार्टीमा विभिन्न चरणको भूमिका निर्वाह गर्दै २०६४ मा पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ १० नम्बर क्षेत्रमा भाग लिएँ । त्यो समय मेरो पराजय भयो ।

२०७० मा फेरि चुनाव लडेँ । सो समय मैले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष हाल नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएँ ।

अहिले फेरि २०७४ को चुनावमा पनि म काठमाडौँ क्षेत्र नं १० बाट विजयी भएको छु । राजनीति भनेको विशुद्ध सेवा हो । मेरो विचारमा जनता र मुलुकको सेवाका लागि विशुद्ध राजनीति जसले गर्छ त्यो सफल हुन्छ ।
राजनीति फेसन होइन । अन्तरआत्माबाट जनताको भावना कसरी सम्बोधन गर्न सकिन्छ भनेर सोचेर स्वच्छ भावनाबाट गरिने राजनीति शुद्ध र दिगो पनि हुन्छ । 

चुनावका बेला ठूलाठूला नारा घन्काउने र अन्य समय आफ्नो स्वर्थ पूर्तिमा लाग्नेको राजनीति कहिल्यै सफल हुन सक्दैन । मेरो विचारमा सफल राजनीति गर्न हरहमेसा जनताको सेवामा समर्पित हुनसक्नु पर्दछ ।

जतिबेला मैले पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेँ त्यो जित मेरा लागि सहज भने थिएन । किनभने त्यो समय मेरो प्रतिस्पर्धामा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । उनको क्रेज ठूलो थियो । राष्ट्रपति, प्रधानमन्त्री भनेर चर्चा गरिन्थ्यो । उनको दायाँबाँया, अगाडि पछाडि हजारौँ व्यक्ति थिए । सुरक्षा त्यस्तै थियो । चुनाव प्रचारमा २ सयभन्दा बढी गाडी प्रयोग भएका थिए ।

तर म ३० वर्षदेखि यो क्षेत्रका जनताको विकासका लागि घरदैलोमा पुगेको थिएँ । सुखदुःख साटेको थिएँ । जनताको सेवा गरेको थिएँ । सोही कारणले त्यहाँका जनताले नेपाली काँग्रेसलाई भोट दिएर मलाई विजयी गराउनुभयो । दोस्रो पटक पनि त्यहाँका जनताले पुनः साथ दिनुभयो ।

मेरो दुःख 
राजनीति एक किसिमले हेर्ने हो भने दुःखैदुःख हो । राजनीतिमा लागेपछि आफ्नो परिवार, आफन्तलाई समय दिनै भ्याइँदैन । जब गाह्रो पर्छ, सबैतिरको बाटो बन्द भएर अब्ठ्यारो हुन्छ । तब हामी राजनीतिकर्मीलाई सम्झिने प्रवृत्ति हामीमा छ । त्यो अब्ठ्यारो फुकाउने काम हामीले गर्नसक्नु पर्छ ।
एक किसिमले हेर्ने हो भने यो सबैभन्दा गाह्रो कुरो हो । तर म जनताको सेवक भएकाले यस्तो समयमा पनि सहयोग गर्दा दुःख महसुुुस हुँदैन ।

मेरो सुख
म धेरै विकास निर्माणमा सरिक भएको छु । विकासको कामको सिलसिलामा जनताको घरदैलो पनि जानुपर्ने हुन्छ । सो समय सबैसँग परिचित छु । मलाई मेरो क्षेत्रमा ५, ६ वर्षको बच्चादेखि ज्येष्ठ नागरिकसम्मले चिन्नुहुन्छ । 

तपाईंले मेरो यो काम गर्दिनुभयो । यो विकास गर्नुभयो । तपाईंका कारणले यहाँ स्कुल, धारा, पार्टी, बाटो यस्तो भयो भन्नुहुन्छ । त्यो समय मलाई सबैभन्दा बढी सुखको अनुभुति हुन्छ ।
विकासका लागि म पार्टी, आफ्नो मान्छे केही हेर्दिनँ । म सबैको प्रतिनिधि हो । सोही हिसाबले काम गर्छु ।

मेरो सपना
त्यस्तो केही सपना छैन । सेवा नै मेरो धर्म हो । मैले दुई पटक सांसद हुन्छु । मन्त्री हुन्छु भनेर मैले राजनीति गरेको पनि होइन । काम गर्दै जाँदा राज्यका विभिन्न पदमा पनि पुगेँ । जनताको विश्वास पनि पाएँ ।
 
मेरो गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ । सुन्छु । गजल र दोहोरी गीत धेरै मनपर्छ । युट्युब, टिभीलगायत माध्यमबाट दोहोरी गीत सुन्ने, हेर्ने गरेको छु ।  मन परेको गीत पटक पटक पनि सुन्छु ।

मेरो प्रेम 
मैले २०३६ सालमा प्रेम विवाह गरेको हो । हामी दुवै एउटै कलेजमा अध्ययरत थियौँ । उनी मेरो भाउजूकी आफन्त पनि पर्थिन् । सोही हिसाबले उनीसँग अलिअलि चिनजान पनि थियो ।
कलेज पढ्ने क्रममा उनी मन परेपछि मैले प्रेम प्रस्ताव राखेँ । उनले स्वीकारिन् । उनको परिवारले पनि स्वीकारे । 
दुई वर्षको प्रेमपछि हामीले विवाह गर्यौँ । कलेज पढ्दा उनीसँग गाँसिएको त्यो प्रेम अहिले पनि जारी छ । 

मेरो मापसे
करिब ५, ६ महिना भयो होला । मैले मापसे  छोएको छैन । पहिले पनि धेरै मापसे गर्दिनँ थिएँ । विवाह, पार्टी लगायत ठूला सभा समारोहमा एक दुई प्याक खान्थे ।
एक्लै बसेर, रेस्टुरेन्ट गएर अहिलेसम्म मापसे गरेको छैन । मापसे गर्नुपर्दा ह्विस्की खान्छु । घरमा बार बनाएर रक्सी सजाएको मन पर्दैन । 
कहिलेकाहीँ साथीभाइ आउँदा काम लाग्छ भनेर एक दुई बोतल रक्सी घरमा सधैँ हुने गरेको छ । 

मेरो भूल
जीवनमा भूल गरियो होला । भूल नगर्ने त मानिस सायदै होलान् । तर मलाई जीवनमा भूल गरेजस्तो लाग्दैन । त्यसैले अहिलेसम्म पश्चाताप पनि छैन ।

मेरो रोग 
भगवानको कृपाले अहिलेसम्म ठूलो रोग केही छैन । चिसो भयो भने एलर्जी हुने, नाकबन्द हुने समस्या २०, २५ वर्षदेखि छ । 
विगत ३ वर्षदेखि यो समस्याबाट पनि पार पाएको छु । अहिलेसम्म प्रेसर, सुगर केही छैन । पछिल्लो समय अलिअलि थाइराइडले सताउन थालेको छ ।

मेरो राशि  
मेरो राशि मीन हो । ग्रहदशामा पनि विश्वास लाग्छ । तर म आफू हेराउन, देखाउन जान्नँ । मेरो श्रीमतीले हेराउने, अष्टमात्रिकाको पूजा गर्ने गर्दछिन् । जन्मदिनमा केक काट्ने चलन अहिलेसम्म छैन । सङ्कटा, महाकालको पूजा गर्ने गरेको छु । 

मेरो मृत्यु
मृत्यु सत्य हो । जन्मिएपछि एक दिन मर्नपर्छ । मृत्यसँग डर मलाई लाग्दैन । बाँचुन्जेल आफ्नो कर्म सधँै गर्नुपर्छ भन्ने मेरो धारण हो । आफूले भन्नुपर्दा मैले मृत्युपछि सधैँ बाच्ने काम केही गरेको जस्तो लाग्छ । अझै गर्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप