बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : आत्मबोध

शनिबार, १३ वैशाख २०७७, १० : ०४
शनिबार, १३ वैशाख २०७७

-टी‍.एन. आचार्य

बुद्ध जन्मेको इतिहास काखी च्यापेर
म देहभरी छरपस्ट भइसकें एकाबिहानै 
एउटा कठोर प्रश्न गर्छु म इतिहासमाथि
के मेरो गर्वानुभूति गलत थियो त ?
मलाई मान्छे हुनुको आत्मबोध नदिने 
अनि हरितन्नम झुपडीमा बसेर पनि
आत्मरतिका ेमैलो रुमालले अनुहार पुछ्दै
सोच्छु मेरो वस्तुपरक पहिचान चाँहिँ के हो ?
बुद्धत्वको आत्मबोध विनापनि
सम्राट अशोकले बनाएको स्तम्भ हेर्दै
गौतमबुद्धको स्थुल शरीरमाथि
गर्व गरेर उचालिएका हाम्रा शीरहरु ।

नालापानीको युद्धमा पराजित भएर पनि
हारेको युद्धमा अंग्रेजले छोडेका ेशिला लेखले
भुँईमा झर्नबाट बँचाएका हाम्रा नुरहरु
हामी शिलालेखको गुढार्थतिर लम्केनौँ
गोर्खा भर्ति केन्द्र खोलिने धरातल खोजेनौँ
मलार्इ आत्मबोध अगाडि नै प्रश्नबोध हुन्छ ।
भीमसेन थापाले सुगौली सन्धी गर्दा
विमति र विरक्ति बोकेका अमरसिंह थापा
गोसाइकुण्डतिरै बसी उतै देहत्याग गर्दा 
हामीले सोधेनौँ इतिहासमा हाम्रा कमजोरी 
मलार्इ आत्मबोध अगाडि नै प्रश्नबोध हुन्छ ।

रणबहादुर शाहको भ-याङ्ग ओर्लदा
जेलभित्र कठोर मृत्यु भोगेका बहादुर शाह
षड्यन्त्रै षड्यन्त्रको त्यही भारदारी भ-याङ्ग उक्लेर 
बत्तीस वर्ष सत्तासीन भई सेरिएका भीमसेन थापा
हामीले खोतलेनौँ राणा शासन शुरु हुनाका जराहरु
मलाई फेरि आत्मबोध अगाडि नै प्रश्नबोध हुन्छ ।
इतिहासको पुर्नलेखन गर्न निस्केका सिपाहीहरु
नतमस्तक भई आधा सम्झौता गर्दै मोडिएपछि
हाम्रा प्रश्नहरु सुन्ने वर्तमान निकै बहिरो भएर 
सत्यान्वेषीहरु नकामर अर्धबेरोजगार बनेपछि
दह्रो मुखबुझो लागेको छ प्रश्नातुर ओठहरुमा ।
अब म प्रश्न गरुँ वा आत्मबोधको बाटो समातू ?

मैले पढेको इतिहासको खोक्रो गर्वानुभूति
दिल र देहभरी प्रशस्त जमेर बसेपनि
जीवनको मध्यभागमा एक प्रश्न तेर्सिन्छ 
एक प्रश्नको वरीपरी घुम्छन् बग्रेल्ती प्रश्नहरु 
मलाई एकपटक इतिहासको पुनरावृति गर्दै  
महापुरुष कार्ल मार्क्सको छिमेकी भएर 
कंश र रावणसँग अन्तरवार्ता लिँदै
लखन थापाको जीवनको पुस्तक पढेर
बिसे नगर्ची र यिनका पुस्ता छाम्दै
चे ग्वेभारासँगै हिँड्नु छ जंगलै जंगल ।

किनकी मलाई सिधा प्रश्न गर्नुछ
के थियो हाम्रो आलोचनात्मक इतिहासरु 
अनि के हो मान्छेको सही गर्वानुभूतिरु
के सत्ताको इतिवृतान्त नै
मेरो आत्मवोध हो त?
के मेरा नाङ्गो आँखाका दृश्यहरु नै  
मेरा आत्मस्लाघा हुन् त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप