केन्द्रीय संस्करण
लकडाउन डायरी

पम्फा भुसालको लकडाउन डायरी : कोरोनापछिको चिन्तन र चिन्ता

person explore access_timeबैशाख १४, २०७७ chat_bubble_outline0

काठमाडौँ । मुलुकले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन झेलेको एक महिना नाघेको छ । आम नागरिकको दैनिकी पनि थप कष्टकर बन्दै गएको छ । मुलुकमा चरम आर्थिक मन्दी सिर्जना हुँदै गइरहेको छ ।
कोरोनासँगको लडाइँमा विजयी प्राप्त गरिसकेपछि फेरि आर्थिक मन्दीसँगको लडाइँ सुरु हुनेमा दुई मत छैन । यिनै विषयमा केन्द्रित रही कोरोना महामारीले निम्त्याएको सङ्कट र अब अपनाउनुपर्ने मार्गचित्रबारे नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले आफ्नो लकडाउनको दैनिकी यसरी सुनाइन् :

लकडाउनपछि पनि म बिहान सबेरै उठ्छु । कुनै हतार नहुने भएकाले समाचार पूरै सुन्ने  गरेकी छु । त्यसपछि चिया पिउँछु, औषधि खान्छु र आमासँग बस्छु । अनि फेरि समाचार सुनेर आफूलाई अपडेट गर्छु । यसरी नै बिहान बित्छ । 

    आफ्नो निर्वाचन क्षेत्रभित्रै मेरो बसाइ भएकाले कहाँकहाँ केके भएको छ साथीहरुलाई सोध्छु । बेलाबेला वडाध्यक्षहरु, मेयरहरु र पार्टीका नेता साथीहरुसँग के छ समस्या भनेर बुझ्छु ।

सकेजति समस्या समाधानका लागि समन्वय पनि गर्छु । सरकारले एकद्वार प्रणालीअनुसार सम्बन्धित वडा र पालिकाबाट समस्या समाधान गर्ने भएकाले पनि राम्रो भएको छ । राहत वितरण पनि त्यसैगरी भइरहेको छ । कुनै सामान सहज तरिकाले नपाउने अवस्था भयो भने सहजीकरण गरिदिने गरेकी छु ।

सुरुसुरुमा स्वास्थ्य सामग्रीको अभाव थियो । अहिले मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाइदिएकी छु । 

त्यसपछि पालिकामा बसेर राहत वितरणमा सहजीकरण गर्ने काम गरेँ । साथै रातो मच्छिन्द्रनाथाको जात्रालाई कसरी सञ्चालन गर्ने ? १४ सय वर्षयता केहिल्यै पनि रोकिएको छैन । यसबारे सम्बन्धित पक्षसँग निरन्तर संवादमा छु । छलफल भइरहेको छ ।

निर्वाचन क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण सम्बन्धी जनचेता र राहत वितरणको समीक्षा गरौँ । नागरिकहरुले अब दिदीले के सहयोग गर्नुहुन्छ भन्ने कुरा आयो । सबै राज्यले नै हो गर्ने । हाम्रो आधा महिनाको तलब कटाएको छ । हामीले गर्ने सहयोग त्यही हो भनेकी छु । तर दिदीले केही देखिने गरेर सहयोग गर्नुपर्यो भनेपछि मेरो निर्वाचन क्षेत्रका २२ वटा वडामा ज्वरो नाप्ने थर्मल गन र मास्क लिएर पुगेँ । 

सबै वडाध्यक्षसँग अहिलेसम्म भएको कामको रिपोर्ट लिने, समस्याबारे जानकारी लिने र अब कसरी अगाडि बढ्ने भन्ने कुरामा केही दिनअघि छलफल गरेँ । अहिलेसम्म ललितपुरमा एक जनामा पनि कोरोना सङ्क्रमण देखिएको छैन ।

आगामी दिनमा पनि कसैमा कोरोना सङ्क्रमण नदेखियोस् भनेर सुरक्षाका उपाय अपनाउने काम भएको छ । 

साथसाथै उत्पादन र आर्थिक गतिविधि कसरी अगाडि बढाउन सकिन्छ भनेर लकडाउनकै बीचमा छलफल गरिरहेका छौँ ।

अहिले हामी कोरोना सङ्कटको बीचमा छौँ । कोरोनापछि अभाव र महँगीको स्थिति पनि अझ भयावह हुनेछ । त्यसैले खाद्यन्नको अभाव हुन नदिन उत्पादनमा जाड दिऔँ भन्ने कुरामा छलफल गरेका छौँ ।

वडा र पालिकामा बीउविजन वितरण गर्ने, जमिन एक इन्च पनि खाली नराख्ने र कोही जग्गा धनीले पलटिङ आदि इत्यादि गरेर बाँझो राख्नुभएको छ भने उहाँलाई उत्पादन गर्न लगाउने । 

उहाँले उत्पादन गर्ने अवस्था बनेन भने कसैलाई दिएर भए पनि उत्पादन गर्न लगाउने नीति बनाउँदै छौँ ।

यस्तै करेँसाबारी वा घरका छतमा तरकारी उत्पादन गर्ने कुरामा पनि जोड दिन सुझाव दिने र सम्भाव्य पछि आइपर्ने अभाव पूर्ति गर्न अहिले नै तयारी थाल्ने कुरा भइरहेको छ ।

यस्तै औद्योगिक क्षेत्र, घरेलु उद्योग र विभिन्न कामका लागि यहाँ आएका कामदारहरु घर फर्किन खोजेको स्थिति थियो । त्यसको तथ्याङ्क सङ्कलन गर्यौँ । सम्बन्धित जिल्लाका सांसद साथीहरुलाई र यहाँ भएका सम्पर्क समितिलाई सम्पर्क गरायौँ ।

घर जना चाहाने पठाइदियौँ । घर पुगेपछि कृषि तथा उत्पादन कार्यमा लाग्ने अवस्था बन्छ भन्ने हाम्रो निष्कर्ष हो । चार पाँच दिन पूरै निर्वाचन क्षेत्र घुमेर यो निष्कर्ष निकालेकी छु ।

अरू अधिकांश कुरा टेलिफोन सम्पर्कबाटै हुन्छ । यस्तो बेला सबै नेता साथीहरु घरम सुरक्षित बस्नुपर्ने भएकाले त्यति भेटघाट छैन । यो लकडाउनको बीचमा मैले एक चोटि मात्र अध्यक्ष कमरेड (प्रचण्ड)लाई भेटेँ । त्यो पनि सामाजिक दूरी कायम गरेर । अधिकांश नेतासँग फोनबाट कुराकानी हुँदैछ । 

घरमा स्थायी रूपले बस्ने भनेको आमा, दिदी, म र दिदीकी छोरी मात्र हौँ । घरमा काम गर्ने मान्छेलाई पनि अहिले बिदा दिएका छाँै । सई साबलाई पनि बिदा दिएको छु ।

त्यसैले घरको काम गर्छु । ९३ वर्षीया मेरी आमा हुनुहुन्छ । उहाँको स्याहार गर्छु । साथीभाइसँग फोन सम्पर्क गर्दागर्दै प्रायः दिन बित्छ ।

भूमिगत र लकडाउन अनुभव
भूमिगत काल एउटा नीति कार्ययोजना, कार्यक्रम र भौतिक सुरक्षाले बढो संवेदनशील थियो । जतिबेला पनि काम भइराख्थ्यो । जनसम्पर्कमा भइराखिन्थ्यो ।

नेता कार्यकर्तासँग पनि भौतिक हिसाबले होस् वा सञ्चारका साधनले भए पनि सम्पर्कमा भइराखिन्थ्यो । लकडाउन जीवनकै नयाँ अनुभूति हो । लकडाउन जारी भएको एक महिनाभन्दा बढी भयो ।

यतिदिन पूरै विना दबाब घरमा बसिएको छ । यद्यपि महामारीबाट जनता कसरी जोगाउने र राष्ट्रले यसलाई कसरी सामना गर्ने र कोरोनापछिको नेपाल कस्तो होला भन्ने कुराको चिन्तन र चिन्ता हुन्छ । यो नितान्त नयाँ खालको अनभूति दिने खालको छ । 

बस्न त म लगातार पाँच छ महिना जेलमा पनि बसेँ । त्यो अर्कै खालको हुन्थ्यो । युद्धकालको भूमिगत भनेको अर्कै खालको हुन्थ्यो । यसरी एक्लै एकै ठाउँमा बसिने पनि थिएन ।
अहिले खाने बस्ने सुविधासहित आमा र दिदीसित घरमै बस्ने हुनाले चिन्ताविहीन जस्तो छ ।

विज्ञान प्रविधिको प्रयोगले संसारलाई जोड्न सकिने, संवाद गर्न सकिने भएको छ । हेरेरै कुरा गरौँ भने भिडियो कन्फ्रेन्स पनि गर्न सकिने । सुनेर कुरा गरौँ भने पनि हुने । लेखेर कुरा गरौँ भने पनि हुने भएकाले निकै सहज छ । कहीँ पनि एक मिनेट समय विताउन ओहो भन्नु नपर्ने सहज स्थिति छ ।

अब गर्नुपर्ने कुरा
अधिकांश खाने कुरा हामी कहाँ उत्पादन भएको होइन । बाहिरबाट आएको हो । बाहिरबाट आउने कुरा रोक्न हामी सक्दा रहेछौँ । मैले बुझेसम्म काठमाडौँ उपत्यका फ्री हुँदैछ । भारतमा कोरोना वृद्धि भइराखेका बेला नाका एकदमै कडा गर्नुपर्ने देखिएको छ ।

कोरोनाले हाम्रो आर्थिक उत्पादनलाई पनि मार्ग निर्देशन गरेको छ । कृषि आधारभूत हिसाबले हाम्रो आफ्नो पेसा हो । त्यसैले कृषि उत्पादनका लागि भौतिक पूर्वाधारका साथै बजार व्यवस्थापन गर्नुपर्ने कुराको औचित्यता बढो छर्लङ्ग पारिदिएको छ ।

त्यसका लागि अहिले नै सुरु गर्नुपर्छ । एक ठाउँको उत्पादनलाई अर्को ठाउँ लगिदिने र किसानले उत्पादन गरिसकेपछि त्यसको बजारको ग्यारेन्टी राज्यलै नै गरिनदिने कुराको थालनी गर्नुपर्छ । 

नभए सरकारले आफै खरिद गरिदिए पनि हुन्छ । यस्तै स्वास्थ्य र शिक्षाको दायित्व राज्यको लिनुपर्छ । कृषि, उद्योग, व्यापार निजीलाई दिए हुन्छ ।

तर शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ भन्ने कुराको कोरोनाले महामारीले बोध गराएको छ । साथै राज्यले स्वास्थ्यमा प्राप्त लगानी गर्नुपर्छ । स्रोत साधन सम्पन्न अस्पतालहरु बनाएर मानवीय जीवनमा सेवालाई गुणस्तरीय बनाउनु आवश्यक छ भन्ने कुरा पनि प्रस्ट देखिएको छ ।

मानवीय रक्षाका लागि स्वास्थ्यमा प्राप्त लगानी गर्नुपर्छ र पालिका पालिकामा राम्रा राम्रा अस्पताल र सबै प्रदेशमा अझै उत्कृष्ट अस्पताल बनाउनुपर्ने कुराको बोध भएको मलाई अनुभूति हुन्छ ।

कोरोना महामारीले युरोप अमेरिकामा भएको नेपालको ठूलो जनशक्तिलाई मातृभूमिमै केही गर्नुपर्छ भन्ने कुराको ज्ञान आएको होला भन्ने मैले अनुमान गरेको छु । उनीहरु देश फर्किएर आउँछन् ।

पहिलो कुरा उनीहरुलाई कृषि उत्पादनमा लगाउने र कृषिमा आधारित साना तथा मझौला उद्योगको विकास गर्नुपर्छ । त्यो आर्थिक विकासको आधारभूत कुरा पूरा हुन्छ । यस्तै हामीले ऊर्जा क्षेत्रमा विकास गर्दै गएको छौँ ।

चुलोचौको, यातायात, उद्योग र कलकारखानमा त्यसको उपभोग गर्नुतिर लाग्नुपर्छ । विद्युत् प्रयोग गरेर अहिले पेट्रोलियम पदार्थको खर्बौंको आयत रोक्न सक्यो भने देश समृद्धितिर जान्छ । यतातिर हामी सबैले सोच्नुपर्छ । तर मुख्य गरेर राज्यले नै सोच्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.