शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अधुरै रह्यो विनोद खन्नाको त्यो अन्तिम इच्छा

सोमबार, १५ वैशाख २०७७, १२ : २९
सोमबार, १५ वैशाख २०७७

बलिउडका सबैभन्दा ह्यान्डम नायक मानिने विनोद खन्नाको आज (अप्रिल २७) मा तेस्रो पुण्यतिथि हो । २७ अप्रिल सन् २०१७ मा क्यान्सरका कारण उनको निधन भएको थियो । उनको एउटा अन्तिम इच्छा थियो जुन अधुरो रह्यो । भारतीय मिडियाको दाबी अनुसार उनी आफ्नो पाकिस्तानमा रहेको पुर्ख्यौली घर हेर्न चाहन्थे । विनोद खन्नाको नाम बलिउडमा ती नायकमा गनिन्छ जसले आफ्नो फिल्मी करियरको यात्रामा थुप्रै उतार–चढाव देखे । भिलेन बनेर करिअरको सुरुवात गरे र त्यसपछि हिरो बनेर फिल्मी पर्दामा छाए ।

सुनिल दत्तले दिए पहिलो पटक पर्दामा आउने मौका

विनोद खन्ना बाल्यकालमा निकै लजालु थिए, स्कूलमा हुँदा उनलाई एक शिक्षकले जबरजस्ती नाटकमा राखिदिए । यहिँबाट उनको अभियनतर्फको रुझान सुरु भयो । बोर्डिङ स्कूलमा पढ्दै गर्दा विनोद खन्नाले ‘सोलवां साल’ र ‘मुगल–ए–आजम’ जस्ता फिल्म हेरे र यी फिल्मले उनीमाथि गहिरो असर छोड्यो र हिरो बन्नका लागि निकै आतुर भए । विनोद मुम्बईको सिडेनहेम कलेजमा पढिरहेका थिए । बलिउडमा कसैलाई चिनेका थिएनन् । बस्, अनुहार र जिउडाल राम्रो थियो । उनीसँग पढ्ने महिला साथीहरुले उनको व्यक्तित्व देखेर उनलाई फिल्मका लागि प्रयास गर्न सुझाउँथे । यसैबीच एक पार्टीका बेला उनले निर्माता–निर्देशक सुनिल दत्तसँग भेट्ने मौका पाए । सुनिल दत्त त्यतिबेला फिल्म ‘मन का मीत’ का लागि नयाँ अनुहारको खोजी गरिरहेका थिए । उनले फिल्ममा विनोदलाई सह–नायकको रुपमा काम गर्न अफर दिए । फिल्म त नराम्रो सँग फ्लप भयो तर विनोदको गाडी भने चल्यो ।

घरमा अभिनय गर्छु भन्दा बुवाले बन्दुक तेर्साए:

‘मन का मीत’ को सुटिङ गर्नुअघिको घटना पनि निकै रोचक छ । सुनिल दत्तबाट अफर पाएपछि जब यो कुरा विनोदले बुवालाई बताए तब उनको बुवा असाध्यै रिसाए । यहाँसम्म कि उनको बुवाले उनीमाथि बन्दुक तेर्साउँदै फिल्म खेल्नेबारे सोचे  गोली ठोकिदिने चेतावनीसमेत दिए । विनोद आफ्नो निर्णयमा अडिग रहे । पछि उनकी आमाले उनलाई समर्थन गरिन् । आमाले सम्झाएपछि उनको बुवाले उनलाई दुई वर्षसम्म फिल्ममा काम गर्न अनुमती दिए । फिल्ममा सफल नभए घरको व्यापारमा सघाउने बचन पनि उनको बुवाले लिए ।

डाकूको भूमिका र स्टन्टको क्षमतामा बनाए पहिचानः

उनको पहिलो फिल्म त असफल रह्यो तर फिल्ममा उनलाई मानिसहरुले याद भने गरे । उक्त फिल्ममार्फत् उनले अन्य फिल्ममार्फत् आफ्नो खुट्टा पसार्न मौका पाए । त्यसपछि ‘सच्चा झुठा, आन मिलो सजना, मेरा गांव मेरा देश’ जस्ता फिल्ममा खलनायकको भूमिका निभाउने मौका पाए । ‘मेरा गांव मेरा देश’ मा जब विनोद खन्ना डाकू बने र धर्मेन्द्रलाई टक्कर दिए तर थुप्रै निर्देशकको नजर उनीमाथि पर्यो । उनले विभिन्न खतरनाक सीन आफैं गरे ।

यद्यपि, उनले गुलजारको फिल्म ‘मेरे अपने’ बाट मात्रै सफलता पाए । फिल्ममा विनोद खन्ना र शत्रुघ्न सिन्हाबीच गज्जबको झगडा देखाइयो । त्यतिबेला नायकमाथि पुरातनवादी सोच भएको आरोपसमेत लाग्ने गर्दथ्यो । एकपटक खलनायक बन्दा निर्माताले सधैं खलनायकको रोल मात्रै अफर गर्दथे । गुलजारले विनोद खन्नामा एक ड्यासिङ हिरो देखे र त्यसपछि ‘अचानक’ (सन् १९७३) मा उनले विनोदको इमेज नै परिवर्तन गरिदिए ।

स्टारडम दाउमा राखेर बने ‘सेक्सी सन्यासी’

विनोद खन्नाको स्टारडम अमिताभ बच्चनको जस्तै थियो । ७० र ८० को दशकमा ‘काउन्टर कल्चर’ मुभमेन्ट चलिरहेको थियो । त्यति नै बेला विनोद खन्ना आफ्नो करियरको शीर्ष स्थानमा थिए तर उनी ती सबै छोडेर अमेरिकाको ओरेगोनस्थित रजनीशपुरम आश्रम गए । त्यति बेला विनोदको आमाको पनि निधन भएको थियो तसर्थ उनी दुःखी थिए । उनीसँगै महेश भट्ट पनि सन्यासी बनेका थिए । महेश भट्टले नै विनोद खन्नालाई सन्यासी बन्न राजी गराएको बताइन्छ । आश्रममा विनोद खन्ना रजनीशको माला लगाएर घुम्थे । त्यसकारण मिडियामा उनलाई ‘सेक्सी सन्यासी’ को संज्ञा दिइन्थ्यो ।

‘वान्टेड, दबंग र दबंग टु’ मा विनोदले सलमानका पिताको भूमिका निभाए । अन्तिमपटक उनलाई सन् २०१५ मा शाहरुख खानको फिल्म दिलवालेमा देखिएको थियो ।

विशेष साथीको पनि पुण्यतिथि

२७ अप्रिलमा विनोद खन्नाका विशेष साथी नायक फिरोज खानको पनि पुण्यतिथि हो । उनको निधन सन् २००९ को अप्रिल २७ मा भएको थियो । फिल्म दयावान, कुर्बानी र शंकर शम्भुमा यी दुई देखिएका थिए । फिरोज खान ७० को दशकमा फिल्म इन्डष्ट्रिका सबैभन्दा फेसनेबल नायक मानिन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप