मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपाल–समाजवादी पार्टीबीचको एकतालाई मूर्तरुप दिन ‘खाली कागज’ मा हस्ताक्षर

सोमबार, १५ वैशाख २०७७, १५ : २१
सोमबार, १५ वैशाख २०७७

जनकपुर । लकडाउनकै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात ल्याएको अध्यादेशले मधेश केन्द्रित दलमा भुईँचालो आएको छ । प्रधानमन्त्रीको कदमलगत्तै मध्यरातमा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले एकता गर्ने सहमतिको घोषणा गरे । रातारात ती दुई दलबीच भएको एकताले अहिले मधेशी दलका नेताहरुबीचमा समेत खैलाबैला मच्चिएको छ ।

ती दुई दलबीच शीर्ष तहमा एकताका लागि सहमति भएपनि निर्वाचन आयोगमा दल दर्ताका लागि गर्नुपर्ने काम अझै टुंगिएको छैन । त्यसैले अहिले राजपा र समाजावादी पार्टी केन्द्रीय समितिका सबै सदस्यहरुको हस्ताक्षर संकलन गरी निर्वाचन आयोगमा पेस गर्ने तयारीमा जुटिरहेका छन् । दल दर्ताका लागि आयोगमा निवेदन भने दिइसकिएको छ । पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल समेत जुराइसकिएको छ ।

पार्टी एकताका लागि केन्द्रीय समिति सदस्यहरुको बैठक र हस्ताक्षरको माईन्यूट अनिवार्य रहेकोले अहिले शीर्ष नेतृत्व त्यसका लागि जुटिरहेको छ । त्यसका लागि प्रत्येक जिल्लामा सादा (खाली) कागज हस्ताक्षरको लागि पठाइएको छ । केन्द्रीय सदस्यको हस्ताक्षरका लागि सादा कागज जिल्ला-जिल्लामा पठाइएको हो ।

राजपाका एक अध्यक्ष मण्डलका सदस्यका अनुसार आ-आफ्नो पार्टी निकटका सदस्यलाई हस्ताक्षर गराउन भनिएको छ । पछि सोही आधारमा माईन्यूट तयार गरिने छ ।  लकडाउनका बेलामा समेत यस्तो काम गर्नुपरेको सोही पार्टीका एक केन्द्रीय सदस्यले बताए । तर  केन्द्रिय सदस्यहरुले सादा कागजमा हस्ताक्षर गरेपछि पार्टीभित्र विवाद आउनसक्ने अर्का एक केन्द्रीय सदस्यले बताए । वैशाख १० गते गरिएको लिखित सहमतिमा पार्टीमा एकताको काम समान हैसियतको आधारमा गर्ने भनेर पहिलो बुँदामा नै उल्लेख छ । सहमति गरिएपनि नेता तथा कार्यकर्ताको समायोजन तथा व्यवस्थापन गर्न सजिलो नभएको उनले बताए ।

राजपामा कूल १ सय ३४ जना पदाधिकारी छन् भने ७ सय ९४ जना केन्द्रीय समिति सदस्य छन् । २७ जना वरिष्ठ पदाधिकारी तथा ७ जना सचिवालय सदस्य (स्थायी आमन्त्रित सदस्य रहने) गरी एउटा राजनीतिक समिति समेत गठन गरिएको छ । राजपा नेपालमा अध्यक्ष मण्डलका जो व्यक्ति संयोजक हुन्छन्, उनले नै राजनीतिक समितिको अध्यक्षता गर्ने गरेका छन् । प्रतिनिधिसभामा राजपाका १७ जना सांसद छन्, जसमध्ये सांसद रेशम चौधरी निलम्बित भएर जेलमा छन् । त्यस्तै राष्ट्रियसभामा २ जना सांसद छन् ।

यता प्रदेशअनुसार सांसदहरुको संख्या हेर्दा २ नम्बर प्रदेशमा २५, ५ नम्बर प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ जना सांसद छन् । राजपाको ५३ वटा जिल्लामा जिल्ला कार्यसमिति छ । कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा प्रदेश कमिटी तथा जिल्ला कमिटी रहेको केन्द्रिय प्रवक्ता कृष्ण सिंहले जानकारी दिए ।

उता, २५ जना पदाधिकारी रहेको समाजवादी पार्टीमा भने ४ सय ३१ जना केन्द्रीय समिति सदस्य छन् । उसका प्रतिनिधिसभामा १७ जना सांसद रहेका छन्, जसमध्ये हरिनारायण रौनियारको सांसद पद निलम्बनमा छ । सपाका राष्ट्रियसभामा १ जना सांसद छन् ।  २ नम्बर प्रदेशमा ३० जना सांसद छन् र सरकारको समेत नेतृत्व गरिरहेको छ । १ नम्बर प्रदेशमा ३ जना, ५ नम्बर प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २ जना सांसद छन् । गण्डकी प्रदेशका २ जना सांसद नयाँ शक्तिबाट डा. बाबुराम भट्टराई नेतृत्वमा एकीकरणबाट आएका हुन् । सपाको सातै प्रदेशमा प्रदेश कमिटी तथा ७७ वटा जिल्लामा जिल्ला कमिटी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप