शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च निगरानी

मङ्गलबार, १६ वैशाख २०७७, ०९ : ५५
मङ्गलबार, १६ वैशाख २०७७

बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो । 

भारतीय सीमा क्षेत्रसँंग जोडिएको प्रदेश नं ५ का जिल्लामा पनि सशस्त्र प्रहरी बल परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।  

यस प्रदेशमा करीब ७ हजार सशस्त्र प्रहरी बल परिचालन भएको बताउँदै सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा करीब ३५०  जाँचचौकी स्थापना गरिएको जानकारी दिए । “प्रदेश ५ मा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा सशस्त्र प्रहरी बल बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयनमा खटिएको छ”, प्रवक्ता श्रेष्ठले भने । 

सीमाक्षेत्रमा अस्थायी चौकी निर्माण गरी बलले सुरक्षा दिनाका साथै नियमित मोटर पेट्रोलिङसमेत गरिरहेको छ ।

कोभिड–१९ को लडाइँमा सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि गाउँगाउँसम्म पुगेर जनतालाई सचेतना दिलाउँदै सरकारले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गरेको प्रदेश नम्बर ५ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म सूचना शाखाले जनाएको छ ।

प्रदेशका १२ जिल्लामध्ये ६ जिल्ला भारतीय सीमासँंग जोडिएकाले यस क्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा रोक्ने काम पनि सशस्त्र प्रहरीले गरिरहेको ३८ गुल्मले जनाएको छ । खुला सीमाका कारण चोरी, तस्करी तथा सीमा अपराधले बढावा पाएको नेपाल भारत सीम क्षेत्रमा अहिले व्यापक रुपमा बल परिचालन भएपछि नियन्त्रण भएको छ ।

सीमाक्षेत्रमा हाल खटिएका सशस्त्र प्रहरी बललाई निरन्तरता दिनुपर्ने स्थानीवासीको माग छ । उनीहरुलाई प्राविधिक रुपमा समेत सक्षम बनाएर सधैँका लागि सीमामा खटाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । रुपन्देही सीमाक्षेत्रका बासिन्दा रमेश थापा अब सशस्त्र प्रहरीलाई अहिले जस्तै व्यवस्था गरी सीमा क्षेत्रमा खटाइनुपर्ने सुझाव दिन्छन् ।

सीमामा स्वचालित सेनेटाइज टनेल
 नेपालको दोस्रो ठूलो भन्सार नाका बेलहियामा स्वचालित सेनेटाइज टनेल मेसिन जडान गरिएको छ । करीब रु दुई लाखको लागतमा भैरहवा क्षेत्रमा रहेका लायन्स क्लबको लगानीमा स्वचालित सेनेटाइज टनेल मेसिन जडान गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

भन्सारमा आउने भारतीय कन्टेनर चालक, सहचालक र भारतीय क्वारेन्टाइनमा बसेर नेपाल प्रवेश गर्ने मानिसलाई ध्यानमा राखी  सेनेटाइज टनेल मेसिन जडान गरिएको आयोजक संस्था क्लबका विनोद खरेलले जानकारी दिए ।

सीमा क्षेत्रमा सेनेटाइज टनेल मेसिन जडान गरिएपछि नेपाल भारतमा हुने सुरक्षाकर्मीको आवतजावतलाई  सुरक्षित बनाउने र भन्सार क्षेत्रमा दैनिक काम गरिरहेका कर्मचारी तथा स्थानीयवासीलाई सहयोग पुग्ने सशस्त्र प्रहरी बल  राजस्व भन्सार नम्बर ३८  गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सीमा क्षेत्रमा अहिले सेनेटाइज टनेल मेसिन जडान भएपछि आसपासमा बसोबास गर्ने मानिसले समेत खुशी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप