बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : सबै आ–आफ्नो अडानमा यथावत, कसरी जुट्ला सहमति ?

बुधबार, १७ वैशाख २०७७, ११ : ५४
बुधबार, १७ वैशाख २०७७

काठमाडौं । अध्यादेश प्रकरणले पार्टीमा उत्पन्न गम्भीर परिस्थितिबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वाटर मानिने नौ सदस्यीय सचिवालय बैठक आज (बुधबार) साँझ बस्दैछ ।

अघिल्लो सोेमबार सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि तरङ्गित बनेको नेकपा सोही कारण झण्डै फुटको संघारमा पुगेका बेला छलफल गर्न बोलाइएको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।

अध्यादेशपछि १० दिन नेताहरुको दौडधुप, कोठे बैठक र विभिन्न कसरतपछि सचिवालय बैठक बोलाइएको हो ।

‘आजको बैठकलाई नेकपाका लाखौँ नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । नेकपाको भविष्य र समग्र नेपालको राजनीतिक अवस्थालाई समेत प्रभाव पार्ने भएकाले आजको बैठकले लिने निर्णयको पखाइमा छौँ,’ स्थायी समिति सदस्य तथा राष्ट्रिय सभा सांसद डा. बेदुराम भुषालले भने, ‘अध्यादेशपछिको तरंगित राजनीति कसरी अघि बढछ भन्ने दिशानिर्देश गर्ने भएकाले यसलाई महत्त्वका साथ हेरिएको छ ।’ त्यस्तै भुषालले स्थायी समिति बैठक टार्न हुने कुनैपनि सहमति मान्य नहुने पनि बताए ।

यसवीचमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीचको बेग्लाबेग्लै जमघट र छलफलहरु भएपनि त्यसबाट निकास निस्किएको थिएन । ती जमघट र छलफलमा खासगरी प्रधानमन्त्री समेत रहेका ओलीको कार्यशैलीप्रति दाहाल र नेपाल समुहले असन्तुष्टि जनाउँदै पद छोड्न दबाब दिएका थिए । नेता माधवकुमार नेपाल समुहले त ओलीलाई दुवै पद छोड्न सुझाव दिएका छन् ।

तर ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाहेक अरु सवै विषयमा छलफल गर्न तयार भएको सन्देश आफु निकटहरुबाट प्रवाह गरेका छन् । ओलीले यस्तो अडान कायम राखेपछि प्रचण्ड र नेपाल समूहका नेताले सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका खवर बाहिरिएका थिए ।

उता, असन्तुष्टहरुको यस्तो तयारी बुझेका प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा सांसदहरूको भेला गराएर आफूविरुद्धको मोर्चाबन्दीको सामना गर्ने रणनीति अख्तियार गरेका थिए । पार्टीभित्रका नेताहरुको आपसी परस्परविरोधी गतिविधिले नेकपा नै छिन्नभिन्न हुने हो कि भनेर नेकपा धेरैजसो नेताकार्याकर्ता चिन्तित बन्न पुगेका थिए ।

ओली निकट मानिने नेता कर्णबहादुर थापा प्रधानमन्त्रीको राजीनामा समस्याको समाधान नहुने भन्दै त्यो माग भनेको पार्टी विभाजनका लागि भएको बताउँछन्  । उनी भन्छन् ‘त्यो माग पुरा हुनै सक्दैन । त्यो बाहेकका अन्यमागमा छलफल गरेर निकास निस्कन सक्छ ।’ थापाले केही नेताहरुको स्वार्थका लागि पार्टीमा हुँडलो मच्चाइएको भन्दै दुई अध्यक्ष बसेर मन माझामाझ गरे समस्या समाधानतिर जानसक्ने बताए ।

तर समस्या समाधान गर्ने भन्दा पनि बल्झाउने प्रवृति कायमै रहेकाले सचिवालयबाट पनि निकास आइहाल्ला भन्नेमा विश्वास गरिहाल्ने अवस्था नरहेको बताए ।

दाहाल र नेपाल पक्षका स्थायी समिति सदस्यहरुले अध्यादेश ल्याउनु र खारेज गर्नुपर्नेे कारणबारे प्रधानमन्त्रीले जवाफ दिन स्थायी समितिको बैठक माग गरेपनि ओली तत्काल बैठक बोलाउने पक्षमा पुगिसेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप