बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मलाई जीवनभर एक पेजको कथा बोकेर बसिरहनु छैन’

बुधबार, १७ वैशाख २०७७, १३ : ५३
बुधबार, १७ वैशाख २०७७

निखिल उप्रेती नेपाली फिल्म क्षेत्रका चर्चित एक्सन स्टार हुन् । थुप्रै हिट फिल्म दिएका निखिलले फिल्म अभिनयमा १८ वसन्त बिताइसकेका छन् । यो अवधिमा उनले ७ तलाबाट हामफाल्नेदेखि विभिन्न अवार्ड र पुरस्कार जितेर समेत विभिन्न रेकर्ड राख्न सफल छन् ।  तर उनी यसलाई जीवनको महत्त्वपूर्ण उपलब्धि भन्दैनन् । यो जीवनको एक हिस्सा हो भन्छन् । 

अन्य सेलिब्रेटी झैँ उनी पनि घरमै बसिरहेका छन् । फरक यति मात्र हो, अन्य सेलिब्रेटी फिल्म हेर्ने, इन्टरनेटमा रमाउने लगायत गरिरहका छन् । उनी भने अध्ययन र ध्यान गर्छन् । अन्य सेलिब्रेटी गीत, कविता र उपन्यास अध्ययन गर्र्ने गर्दछन् उनी भने दर्शन, मेडिकल, इन्जिनियरिङ सम्बन्धी अध्ययनमा लकडाउन समय बिताइरहेका छन् । अभिनेता निखिल उप्रेतीकै शब्दमा यस्तो छ उनको लकडाउन डायरीः
 
यो लकडाउन मेरा लागि एउटा अवसर बनेर आयो । जीवन सधैँ भागदौडमा बितिरहेको थियो । अहिले भने जीवनमा जान्न चाहेका, बुझ्न खोजेका सबै कुरा अध्ययन गर्ने अवसर पाएँ ।

हरेक दिन बिहानै उठ्छु । ध्यान, योगा, मेरिटेसन गर्छु । यो नगरे त खाएको कसरी पचाउने । अर्काे कुरो फिट हुनका लागि त्यो सबै गर्नुपर्छ ।

त्यसपछिको सबै समय मेरो अध्ययनमा बित्ने गर्दछ । अहिले अध्ययनबाहेक मेरो अन्य केही काम छैन ।

अध्ययन पनि मेरो आफ्नै किसिमको रहेको छ । अहिले म उपन्यास, गीत, कविता, कथाभन्दा पनि दर्शन, मेडिकल, इन्जिनियरिङ लगायतका विषय पढिरहेको छु ।

हुन त अहिले मैले पढिरहेको विषय सुन्दा धेरैलाई अचम्म लाग्छ होला, फिल्म क्षेत्रको कलाकार, अध्ययन भने विभिन्न गरिरहेको छ भनेर ।

फिल्म क्षेत्र मैले गरेको कर्म हो । मैले काम पनि यही क्षेत्रमा पाएको हो । फिल्म क्षेत्रमा नपाएको भए अर्काे काम गर्थंे होला । 

फिल्म क्षेत्रमा हिरो बन्छु भन्ने सोच र तयारीले भित्रिएको थिइनँ । फिल्म निर्देशन अध्ययन गरेको मानिस म, हिरो भएँ ।

यो क्षेत्रमा १८ वर्ष बित्यो । पहिला फिल्म क्षेत्रमा सुपरहिट हुँदा पनि मैले यो कुरा भनेको थिएँ । अहिले पनि भन्छु । हिरो बन्नका लागि जन्मिएको पनि होइन म । मेरो जीवनको उद्देश्य पनि यो थिएन । हिरो हुनु सानो कुरो हो भनेर पहिलेदेखि भन्दै आएको थिएँ । अहिले पनि दोहोर्याएँ ।

त्यसैले लकडाउन फिल्मी त परैजाहोस् टिभी र समाचार समेत धेरै हेरेको छैन । 

मानिसहरु अहिले यति बेचैन छन् कि समाचार सुन्न नचाहे पनि आएर सुनाउँछन् । मिडियामा हेर्दा बरु केही समाचार छुट्ला तर अरुले सुनाएकोमा केही छुट्दैन । 

स्क्रिप्ट र नयाँ कन्सेफ्ट
यो समय केही फिल्मकर्मी नयाँ फिल्मको तयारीमा लागेका होलान् । मेरो केही तयारी छैन । किनभने म हरहमेसा स्क्रिप्ट र नयाँ कन्सेफ्ट बनाइरहेको हुन्छु । 

मलाई लाग्छ अब फिल्म निर्माण गतिले छिटै रूप लिँदैन होला । किनभने अहिलेको अवस्था सामान्य भयो भने पनि थिएटरमा दर्शक जान करिब एक वर्ष लाग्ला ।

पछिल्लो समय नेपाली फिल्म उद्योग सानो भएर खुम्चिएको छ । कमेडी र हल्काफुल्का जोक्स्मा आएर अड्किएर छ । मैले बनाउने फिल्मको कन्सेप्ट एक्सन हुन्छ । यो जहिले पनि महँगो खालको हुन्छ । धेरै खर्च गरेर फिल्म बनाउने अवस्था अहिले छैन ।

त्यसैले पनि २, ३ वर्षदेखि मैले फिल्मका लागि काम नगरेको हो । 

ध्यान राम्रो 
ध्यानको कुरा गर्ने हो भने म जुनै समय पनि बस्छु । मानिसहरु ध्यान बिहान र बेलुका मात्र भन्छन् । यसमा मेरो धारणा भिन्न छ । कुनै पनि विषय गहन रूपमा जान्नु पर्यो भने जुनै बेला पनि ध्यान गर्छु । 

ध्यानलाई मानिसले कसरी बुझेका छन् त्यो मलाई थाहा छैन । मेरो बुझाइमा ध्यान भनेको आफूलाई लागेको विषयमा गहिरो सोच बनाउनु हो । यसका लागि जुनै समय पनि उपयुक्त हुनसक्छ ।

स्वास्थ्य बुझ्दैछु 
यो लकडाउनमा कति किताब पढियो होला भनेर ठ्याक्कै भन्न नसक्ने अवस्था छ । किनभने मेरो अध्ययन विषय अनुसार छ । अहिले मेडिकल अर्थात शरीर स्वास्थको बारेमा धेरै अध्ययन गरिरहेको छु । हाम्रो शरीरको वास्तविक नेचुरल फङ्सन के हो ? हामीले कसरी बिगारेका रहेछौँ भनेर थाहा पाउने कोसिस गर्दैछु ।

यो विषयका लागि नेट, पुस्तक र चिनजानका, नजिकका साथीभाइ, स्वस्थ्यकर्मीबाट पनि जानकारी लिइरहेको छु । मलाई रावणको बारेमा अध्ययन गर्न मन लागेको थियो । पहिले पनि पढेको थिएँ । अहिले फेरि पढेँ । 
लकडाउन मेरो मात्र होइन धेरै मानिसको पहिलो अनुभव होला । रोगका कारणले विश्वमा लकडाउन भएको अहिलेसम्म कहाँ थाहा थियो र ? महामारी त पहिले पनि आएको सुनेको थिएँ ।

कोरोनाले रियलाइज गरायो 
प्रकृतिले हामीलाई पहिलेदेखि नै केही न केही सिकाइरहेको छ । कोरोनाले अहिले त्यो कुरो रियलाइज गरायो भन्ने मेरो धारणा हो । हामी प्राकृतिक हुनपर्छ भन्ने हो ।

यो कुरो बुझ्नेले बुझ्छन् नबुझ्नेले बुझ्दैनन् । त्यो मानिसको सोचमा फरक पर्ने कुरो हो । 

अहिले धुप बालेको, मन्दिर गएर माथा टेकाको भरमा कोरोना लाग्दैन भन्ने पनि भेटिएका छन् ।

तर कोरोनाले हामी प्राकृतिक हौँ । प्रकृतिक हुनुपर्छ । प्रकृतिभन्दा बलियो कोही छैन । प्रकृति बुझेर यसको लय पक्रिनुमा हाम्रो भलाइ छ भनेर बुझाएको छ । 

कोरोनाले सबै व्यक्ति मर्दैनन् । तर जीवनमा सबै व्यक्तिले मर्नुपर्छ । जन्मिएको मर्नका लागि हो । जीवन एक किसिमले सोच्ने हो भने महामारी नै हो ।

के हामी सर्वश्रेष्ठ हौँ !
केही व्यक्तिले लकडाउनले परिवारसँग नजिक हुने अवसर दियो समेत भनेका छन् । यो विषय सानो हो । हामी परिवारबाट टाढा किन भएको कमाउने आसमा हो नि, हैन र ? मायाको भन्दा पैसाको भ्यालु ठूलो भएका कारणले हो ।

यति मात्र कारण होइन । हामीले के खान थालेका थियौँ सोचौँ त । अहिलेको समय युरोप अमेरिकाको मानिस खानेकुराभन्दा केमिकल बढी खान्छन् । यो कुरामा ध्यान खोइ । 

हाम्रो खानपिन र जीवन शैलीका कुरामा पनि छ यहाँ । कोरोनाले घरमा बस्न पाठ सिकाएको लगायतको कुरा त सानो हो । मुख्य कुरा त हामी खान नहुने कुरो खान्थ्यौँ । नसुत्ने समयमा सत्थ्यौँ । हामीलाई यो पृथ्वीमा मानिसबाहेक अन्य केही होइन भन्ने लाग्थ्यो । हामी नै सर्वश्रेष्ठ भन्ने लाग्थ्यो । अहिले सोचौँ न के हामी सर्वश्रेष्ठ हौँ र ? त्यसो हो भने किन कोरोनासँग हारिरहेका छौँ ।

के यही हो त जीवन ?
अहिले म मिडिया, कलाकर्मभन्दा अलि बाहिर पनि छु । किनभने १८ वर्ष यो क्षेत्रमा काम गरे । यो अवधिमा मैले के गरेँ र, मेरो के कथा छ र ? 

७ तलाबाट हाम फालेँ, यतिवटा फिल्म अभिनय गरेँ, यो यो हिट भए, यति अवार्ड जितेँ भनेर कति भन्ने । यी आठ, दस विषयबाहेक केही छैन । के म जीवनभर यही ८, १० प्वाइन्ट रिपिट गर्नु ?

मैले फिल्म क्षेत्रमा गरेको योगदान र क्रियाकलाप लेख्ने हो भने एक पेज पनि भरिँदैन । के यही हो त जीवन ? मलाई एक पेजको कथा बोकेर गीता पाठ गरेको जस्तो गरेर जीवनभर बसिरहनु छैन ।

सूक्ष्म कोरोनाले आतङ्क मच्चायो 
कोरोनाले हामीलाई सचेत गराएको हो । हामीले प्रकृति बुझ्न सकेका छैनौँ । यो कुरो बुझौँ । हामी पनि प्रकृतिको एउटा हिस्सा हौँ । बोल्न सक्ने विद्वान भयो भन्दैमा हामीले प्रकृतिलाई दबाउन खोज्ने हाम्रो अधिकार छैन । हामीले यो पृथ्वीको सर्वश्रेष्ठ हामी हौँ भनेर प्रकृतिको रुखबिरुवा, जनावर, चराचुरुङ्गीको मतलब गरेनौँ । 

यो अवस्थामा सूक्ष्म कोरोना आएर हामीलाई आतङ्क मच्चाइदिएको छ । हामीलाई थर्काएको मात्र होइन दुलोभित्र छिराएको छ । यो कुरो बुझाैं, आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित राखौँ भन्छु । कोरोनासँग आफ्नो अहंकारको पनि तुलना गर्न अनुरोध गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप