बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

आइतबार, १८ भदौ २०७४, ११ : ४४
आइतबार, १८ भदौ २०७४

पूर्वसांसद डा. खिमलाल देवकोटाले नयाँ शक्ति पार्टी प्रवक्ताबाट केही समयअघि राजीनामा दिए । प्रवक्ता नरहे पनि पार्टी साधारण सदस्यचाहिँ छन् । संवत् २०३८ मा नेकपा चौथो महाधिवेशनको पार्टी सदस्य लिएका देवकोटा मोटो मशाल, एकताकेन्द्र हुँदै तात्कालिक माओवादी पार्टी प्रवेश गरे । 

माओवादी केन्द्रीय सदस्य रहे पनि संविधान जारीपछि नयाँ शक्ति पार्टीसँग जोडिए । पार्टी प्रवक्ताजस्तो जिम्मेवार भूमिकामा रहे पनि राजीनामा दिएर साधारण सदस्यमात्रै रहेका अन्तरिम संविधान मस्यौदा समिति सदस्यसमेत रहेका डा. खिमलाल देवकोटासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
दालभात, तरकारी नै मीठो लाग्छ । खानेकुरा मन नपर्ने नै हुँदैनन् । जानैपर्ने भयो भनेमात्रै रेष्टुरेन्ट पुग्छु । पुगिहाल्दा ‘ग्रीन स्न्याक्स’ खान छुटाउँदिनँ । बाध्यता पर्यो भने पकाउँछु । 

मेरो पोसाक
सानैदेखि सुट, टाइ लगाउँथें । बीचमा टाइ लगाउन छाडें । हिजोआजचाहिँ सुट, सर्ट, पाइन्ट लगाउँछु । पोसाकमा कम खर्च गर्नेमा पर्छु । घरव्यवहार श्रीमतीले चलाउने भएकाले पोसाकमा खर्च कति हुन्छ भन्न सक्दिनँ ।

‘स्काई ब्लु’ पोसाक मन पर्छ । तयारी पोसाक बढी प्रयोग गर्दै आएको छु । कहिलेकाहीं कपडा किनेर पनि सिलाउँछु । पोसाकको ब्रान्डप्रति त्यति सचेत छुइनँ । लगाउँदा सहज हुनुपर्यो । ह्याट, क्याप दुवै लगाउँछु । 

मेरो फिटनेस
एकताका ६ महिनासम्म निरन्तर योगा गरें । अहिले गर्दिनँ । डाइटिङ नै नभए पनि शरीर भारी हुन थाल्यो भने कम खान्छु । मर्निङवाक निस्कन्न । शारीरिक अभ्यास गर्ने बानी छैन । ट्रेडमिलमा दौडिने बानी छैन । 

मेरो अध्ययन
चिनियाँ क्रान्तिबारे अमेरिकी अनुसन्धाताले अध्ययन गरेर लेखेको किताब फानसेन र चीनले विश्वलाई कहिले नेतृत्व गर्छ भन्ने चिनियाँ लेखकको किताब पढ्दै छु । ‘लिडरसिप क्राइसिस’ सम्बन्धी किताब पढ्न जाँगर चल्छ । समसामयिक विषयमा लेखिरहने खगेन्द्र संग्रौलालगायतका लेखक मन पर्छ । 

सन् २०१२ मा ‘प्रस्पेक्टिभ अफ माओवेस्ट मुभमेन्ट’ नामक किताब सार्वजनिक गरेको थिएँ, त्यसैलाई ‘अपग्रेड’ गर्दै छु । मेरो निजी पुस्तकालयमा चार÷पाँच हजार किताब छन् । किताबमा वार्षिक खर्च यति नै हुन्छ भन्ने हिसाबकिताब गरेको छैन । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । ६/७ जिल्लामात्रै पुग्न बाँकी छ । २५/३० देश घुमेको छु । घुमेकामध्ये नर्वेको ओस्लो असाध्यै मन पर्यो । एकपटक स्वीट्जरल्यान्ड पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ । 

मेरो फुर्सद
हिजोआज फुर्सदिलो छु । जति नै व्यस्त भए पनि मोबाइल ‘अफ’ गरेरै आराम गरौं भन्ने लाग्दैन । बरु घरमै मोबाइल छाडेर काममा निस्कन्छु । फुर्सद भइहालेमा गुगल सर्च गरेर समय सदुपयोग गर्ने बानी छ । 

घरपरिवारलाई नै भनेर आजसम्म समय छुट्याउन सकेको छैन । कहिलेकाहीं परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र चलचित्र हेर्न हलसम्म जाने गर्छु । 

मेरो खेलकुद
भलिबल मन परे पनि खेलिनँ । तर, रेफ्रीसम्म गर्थें । सबै खेलप्रति उत्तिकै श्रद्धा छ । 

मेरो मोबाइल
सामसुङ ग्यालेक्सी नट थ्री प्रयोग गर्दै आएको छु । मोबाइल श्रीमतीजीले किनिदिएकीले कति पर्यो थाहा भएन । काम चलुन्जेलसम्म मोबाइल प्रयोग गर्छु । मोबाइलमा फेसबुक, ट्वीटर हेर्ने र अनलाइन म्यागेजिन पढ्छु । 

मेरो टीभी
टेलिभिजनमा समाचार हेर्छु । त्यसपछि हास्यव्यंग्य टेलिशृंखला पनि हेर्ने गर्छु । हिजोआज टीभी नहेरेको धेरै भयो । ल्यापटमै टीभी हेर्छु । घरमा भएका १४ इन्चको टीभी पुरानो हो । १५ वर्षअघि किनेको हो । 

मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ‘धौली’ हो । हलसम्मै पुगेर हेरेको थिएँ । हेरेकामध्ये झोला, दंगल र प्रेमगीत पनि मन पर्यो । प्रेमगीत युट्युबमा हेरेको थिएँ । करिश्मा मानन्धरलगायत सबै कलाकार मन पर्छन् । 

वकालत छाडेर तात्कालिक माओवादीले थालेको जनयुद्धसँगै भूमिगत हुँदासमेत गल्ती गर्यो भन्नेहरू थिए । माओवादी छाडेर नयाँ शक्तिमा जोडिँदा फेरि गल्ती गरे भन्ने पनि छन् । त्यतिमात्रै होइन, जागिरबाट अवकाशपछि राजनीति गरे हुन्थ्यो भन्ने पनि छन् । तर, मलाईचाहिँ पश्चाताप छैन ।

मेरो रोग
म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म चारपटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप ‘लो’ छ । म खाना कम खान्छु । त्यही कारण स्वस्थ भएको हुँ ।

मेरो भाषणशैली
प्रशिक्षण दिनेखालको भाषण गर्ने गर्छु । मैले गर्ने भाषण आक्रामक हुँदैन । भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तानिनु अस्वाभाविक होइन । भाषण गर्नअघि मस्तिष्कमा विषयवस्तुसम्म तयार गरेको हुन्छु । लेखेर तयारी कहिल्यै गर्दिनँ ।

मेरो मापसे
मापसे नै नभए पनि ‘सोसलाइजेसन’ सम्म हुन्छ । वाइन भए एक पेगसम्म लिन्छु । त्योभन्दा बढी शरीरले धान्दैन ।

मेरो संगीत
गीत/संगीत कमै सुन्छु । तारादेवी, आशाभोसको आवाज कर्णप्रिय लाग्छ । म बाथरुम सिंगर हुँ । 

मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेको छैन । म शिक्षक थिएँ । जागिर छाडेर क्याम्पस पढ्ने निधो गर्दा भन्नेले घरदैलाको जागिर छाडेर गल्ती गर्यो भने । लोकसेवा आयोग पास गरेर निजामती कर्मचारी भएँ । स्थायी जागिर छाडेर वकालत गर्न थालें । त्यतिबेला पनि स्थायी जागिर छाडेर गल्ती गर्यो भन्ने नभएका होइनन् । 

वकालत छाडेर तात्कालिक माओवादीले थालेको जनयुद्धसँगै भूमिगत हुँदासमेत गल्ती गर्यो भन्नेहरू थिए । माओवादी छाडेर नयाँ शक्तिमा जोडिँदा फेरि गल्ती गरे भन्ने पनि छन् । त्यतिमात्रै होइन, जागिरबाट अवकाशपछि राजनीति गरे हुन्थ्यो भन्ने पनि छन् । तर, मलाईचाहिँ पश्चाताप छैन ।

सजाय पाउनेगरी भूल गरेको सम्झना छैन । भूल नगरे पनि परिबन्धमा परेर सजाय पाएको छु । 

मेरो घर
म जुन घरमा बस्दै आएको छु, यो २०५६ मा बनाएको हुँ । वकालत गरेरै कमाएको पैसाले घर बनाएको हुँ । त्यतिबेला वास्तुशास्त्र हेराउने चलन थिएन, अहिले वास्तुसम्बन्धी जानकारसँग कुराकानी गर्दा घर मिलेको छैन । ‘ग्राउन्ड फ्लोर’ सम्मको हिसाबकिताब थाहा भए पनि घरको तला थपेपछिको खर्च श्रीमतीजीलाई नै सोध्नुपर्ने हुन्छ । 

आफूलाई यहींसम्म पुर्याउँछु भन्ने उद्देश्य कहिल्यै राखिनँ । नराख्न अनुरोध गर्छु । जब तपाईंले त्यस्तो उद्देश्य राख्नुभयो/हुन्छ भने तपाईं दुःखी हुनुहुन्छ । भनेकोजस्तो कहाँ हुन्छ र ? सोचेको सबै कहाँ पुग्छ र ।

मेरो राशी
मेरो राशी मकर हो । नहेराएकाले ग्रहदशा कस्तो छ भन्न सक्दिनँ । अहिलेसम्म ग्रहशान्ति पनि गराएको छैन । ग्रह नक्षत्रको फलप्रति विश्वास छैन ।

मेरो सौन्दर्यचेत
कपालमा केही लगाउँदिनँ । फेसियल गर्ने र अनुहारमा क्रिम लगाउने बानी छैन । कहिलेकार्ही पफ्र्युम प्रयोग गर्छु । कामविशेषले स्वदेश तथा विदेशमा आफू बसेको होटलमा सुविधा रहेछ भने स्टीम, साउनाबाथ बस्छु ।

मेरो प्रेम
पहिलेदेखि चिनेकासँग ‘जेन्टिल अन्डरस्ट्यान्डिङ’ मा बिहे गरेको हुँ । 

मेरो सपना
प्रयोगात्मक शासन व्यवस्था भएको मुलुकको परिकल्पना गरेको छु । जहाँ समानता, भ्रष्टाचाररहित, सुशासन, इमानदार राजनीतिक नेता, ‘व्युरोक्र्याट्स’ हुन् । यसैगरी, मैले सुखी र खुसी भएको समृद्ध समाज चाहेको हुँ ।

आफूलाई यहींसम्म पुर्याउँछु भन्ने उद्देश्य कहिल्यै राखिनँ । नराख्न अनुरोध गर्छु । जब तपाईंले त्यस्तो उद्देश्य राख्नुभयो/हुन्छ भने तपाईं दुःखी हुनुहुन्छ । भनेकोजस्तो कहाँ हुन्छ र ? सोचेको सबै कहाँ पुग्छ र । सांसद/सभासद् भएँ । अन्तरिम संविधान बनाएँ । यो सबै हुँला भनेर लागेको थिइनँ ।

 

मेरो परिवार
परिवारमा चारजना छौं । श्रीमती लक्ष्मी देवकोटा अधिवक्ता हुन् । एक छोरा र एक छोरी छन् । छोरा नितेशराज देवकोटा एमबीबीएस र छोरी निकिता देवकोटा दस जोड दुईमा अध्ययनरत छिन् । 

मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । तसर्थ, डर लाग्दैन । मृत्युका नजिक नजिक धेरैपटक पुगेको थिएँ । गाउँको मानिस हुँ । घाँस काट्न जाँदा भीरबाट लडेको छु । गोठ बस्दा बाघले मलाई टेकेर बहर लगेको छ । गोठ बस्दा आगो लाग्यो । आगोमा परेर गोरु मरे पनि म भने बाँचेको थिएँ । 

यसबाहेक जनयुद्धताका जेल परें । क्रूर यातना दिन्थे । मार्ने योजना भए पनि बाहिर हल्लाखल्ला बढी भएपछि बाँचें । जनयुद्धमा धेरैपटक जम्काभेट भए पनि म माओवादी हो भनेर सेनाले पत्याएनन् । त्यसरी जोगिएको थिएँ । घेराबन्दी पर्दा भागेर होइन उनीहरूले गोली नचलाएकाले बाँचेको हुँ ।

मृत्यु सहज होस् भन्ने धेरैको चाहना हुन्छ । मेरो चाहना त्योभन्दा परको छैन । 
 

यो जीवनकथा पनि पढ्नुहोस्

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

 

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप