बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपामा ‘म्याच फिक्सिङ’ को सम्भावना कति ?

शनिबार, २० वैशाख २०७७, १४ : २४
शनिबार, २० वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको शक्तिसंघर्ष कसरी अवतरण होला भन्ने चासो बढिरहेको समयमा आज बस्ने सचिवालय बैठकले गर्ने निर्णय महत्त्वपूर्ण हुने नेकपा वृत्तमा अपेक्षा छ ।

नौ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय अल्पमतमा परेका छन् । सुरुवातमा ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित महासचिव विष्णु पौडेल, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’को समर्थन सहजै पाउने गरेको अवस्थामा पछिल्लो समय सचिवालयको समीकरणमा निकै फेरबदल भएको छ ।

यतिबेला अध्यक्ष ओलीलाई सचिवालयमा खुलेर साथ दिनेमा ईश्वर पोखरेलमात्र बाँकी छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि प्रधानमन्त्री ओलीलाई खुलेर साथ दिन हिच्किचाउन थालेको बताइन्छ । 
बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा गौतमका अतिरिक्त प्रचण्ड, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतको बैठकले सचिवालयको समीकरण नै फेरबदल गरिदिएको हो । भैंसेपाटीमा भएको उक्त बैठकपछि नै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले गरेको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भैंसेपाटी भेलालाई राजनीतिक द्वेषका रुपमा लिएर बेलाबखत शब्दवाण प्रहार गर्दै आएका छन् । भैंसेपाटी बैठकबाट बनेको गठबन्धनलाई टुटाउनकै लागि पछिल्लो समय ओलीले नयाँ प्रस्ताव ल्याएको चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ ।

अघिल्लो सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेर भैंसेपाटी बैठकका निर्णय र गठबन्धनलाई छिन्नभिन्न बनाउन खोजेको भनेर अथ्र्याउन समेत थालिएको छ । नेकपाभित्र अहिले प्रधानमन्त्री ओलीमाथि ‘एक व्यक्ति एक पद’ को दबाब बढेको छ भने ओली निकटका व्यक्तिमाथि लागेका विभिन्न आरोप, पार्टीको छवि गिराउने गरी प्रकाशमा आएका विभिन्न काण्डको निष्पक्ष छानविन गर्नुपर्ने, पार्टीसँगको समन्वयमा सरकार सञ्चालन हुनुपर्ने र पार्टीका बैठकहरु नियमित सञ्चालन हुनुपर्ने माग उठेको छ ।

यही मागलाई कमजोर तुल्याउनका लागि प्रधानमन्त्री ओलीले सचिवालयभित्र समीकरण तोडफोडको प्रयासस्वरुप विभिन्न व्यक्ति केन्द्रित आश्वासन दिएको पार्टीकै एक स्थायी कमिटी सदस्य बताउँछन् ।

सचिवालयका केही सदस्यले व्यक्तिगत फाइदाका लागि ‘म्याच फिक्सिङ’ गर्दै भैंसेपाटी बैठकका निर्णयलाई धोका दिन्छन् त ? ती सचिवालय सदस्य त्यस्तो सम्भावना नरहेको बताउँछन् । ‘अहिले त्यसरी धोका दिएर आफ्नो राजनीतिक उचाइ बढाउन सम्भव छैन,’ उनले भने, ‘यत्रो बहुमत भएर पनि सरकार यति कमजोर र आलोचित बनेको छ, जनताका मुद्दाहरु सम्बोधन भएको छैन, भ्रष्टाचार बढेको छ, यो अवस्थामा यस्ता गलत क्रियाकलापलाई चोख्याएर आफ्नो राजनीतिक उचाई बढ्छ भन्नु मुर्खता हो ।’

प्रायजसोका सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, विष्णु पौडेल एउटै कित्तामा उभिने गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएका विवाद समाधानका लागि मध्यमार्गी भूमिका निर्वाह गरेजस्तो देखिए पनि यही खेमालाई सघाउँदै आएका छन् । 

अर्का सदस्य रामबहादुर थापा भने यो वा ऊ खेमामा आफूलाई चिनाउन चाहँदैनन् । उनी बैठकमा सबैभन्दा कम बोल्ने नेता मानिन्छन् । र, बुधबारको बैठकमा समेत थापा ओलीको प्रस्तावको पक्षमा उभिन पुगेका थिए । 

ओलीले आफू इतरको गठबन्धनलाई अल्पमतमा पार्नका लागि गौतम र नेपाललाई पदको ‘ललिपप’ देखाए पनि ओलीका विगत र बानी–व्यहोरालाई दुवै नेताले बारम्बार बुझ्ने मौका पाइसकेका छन् ।

आफ्नो स्वार्थका लागि ओलीले पार्टीभित्रको वरियतालाई फेरबदल गरेर एक समय झलनाथ खनाल र माधवकुमार नेपालबीच फाटो ल्याएकोमात्र होइन, कहिले नेपाललाई तेस्रो वरियता दिने, कहिले खनाललाई तेस्रो वरियता दिने गरेर राजनीतिक रुपमा ‘अपमान’ गरेको दृष्टान्त धेरै पुरानो छैन । 

अर्कोतिर गौतमलाई पनि कहिले यसअघि प्रतिनिधिसभामा लैजाने, राष्ट्रियसभामा लैजाने सम्बन्धमा स्वयं ओलीले नै आश्वासन दिएका भए पनि जति आश्वासन दिएका थिए, त्यो भन्दा बढी आलोचित बनाएर अलपत्र पारिदिएको घटना पनि पुरानो भइसकेको छैन ।

वर्तमान सरकारले २६ महिना पार गरिसकेको छ । लगभग आधा समय बिताएको अवस्थामा सरकारले जनस्तरमा, कार्यकर्तापंक्तिमा आर्जन गरेको आलोचना आगामी निर्वाचनका लागि प्रत्युत्पादक हुने नेकपाका कतिपय नेताहरुको बुझाइ छ । प्रधानमन्त्री ओलीले पार्टीका सुझाव, निर्देशनलाई बेवास्ता गर्दै सानो कोटरीभित्रको स्वार्थ र सल्लाह, सुझावका आधारमा निर्णय गर्ने गरेकै कारण पार्टीले यति प्रभावशाली बहुमतका बाबजुद जनताको मन जित्नेगरी काम गर्न नसकेको नेकपाकै एकथरी कार्यकर्ताको बुझाइ छ ।

आजको सचिवालय बैठकले यी सब अवस्थाका बाबजुद ‘म्याच फिक्सिङ’मार्फत सचिवालयको समीकरण फेरिएर ओलीका लागि अनुकुल परिस्थिति निर्माण गरिदिने हो या पार्टीलाई नयाँ ढंगले अघि बढाउन ओली इतर समूहले बनाएका योजना र गठबन्धन अटुट रहने हो भन्नेमा आम कार्यकर्ता पंक्ति चाख मानेर प्रतीक्षा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप