केन्द्रीय संस्करण
कोरोना कैरन – १४

सरकार सनक सिं, लकडाउन सनक

person explore access_timeबैशाख २०, २०७७ chat_bubble_outline0

‘बुझ्दै जाँदा यो लकडाउनलाई यस्तो अवैज्ञानिक तरिकाले अघि बढाउनुमा जनस्वास्थ्य नभई राजनीतिक कारण बढी देखिन थाल्यो । त्यसैले हालको अवस्थामा उच्च जोखिम बाहेकका अधिकांश ठाउँमा लकडाउनको औचित्य के हो, प्रश्नचिन्ह खडा भएको छ ।’

—टेवीटे समीर एम दिक्षित, पीएचडी

श्री समीर आफ्नो विषयमा दह्रो दक्खल भएका पीएचडी हुन् । यी उदार मनुवा लोकलाई मौसमको प्रायः सही भविष्यवाणीको निःशुल्क ज्ञानदान गरिरहन्छन् । कोरोना भाइरस सम्बन्धी यथार्थको ज्ञानदानमा हाल यी नित्य क्रियाशील छन् । थपिँदो लकडाउनमा यिनले कर्ताको निहित राजनीतिक स्वार्थको छनक पाएका छन् । तर यी प्वाक्क मुख फोरेर भन्दैनन्, लजाउँछन् । र, केवल ‘प्रश्नचिन्ह खडा भएको छ’ भनी छिसिक्क सङ्केतमात्र गर्छन् । शायद यिनलाई मलाईजस्तै सर्वज्ञानी प्रधानमन्त्रीले अस्थिरताकारी तत्वको आरोप लगाउलान् भन्ने डर छ ।

‘प्रश्नचिन्ह’ सही हो समीरजी । थपिएको यो लकडाउन सम्माननीय प्रधानमन्त्री ओलीको  सनकको एकल क्रीडा हो । निजहजुरको राजनीतिक दाउ पूरा गर्ने एक बहाना हो यो । लकडाउनको सिक्रीले मानिसहरुका हातखुट्टा बाँधेर, तिनका मुख थुनेर सिंहासनमा टाँसिइरहने पदलोलुप दाउ । आफ्नो जालझेलको कुटिल कलामा मायावी कार्चोपी भरिरहने चटके दाउ । हो, राजधानी खाल्डोमा न संक्रमण फैलिरहेको सबुत छ, न संक्रमित पात्रहरुमा चर्को व्यथा नै कतै गोचर भएको छ । यथार्थ यस्तो छ त घ्याच्च–घ्याच्च लकडाउन थपिरहनुको तात्पर्य के ?

हाललाई मिति गुज्रिएको यो लकडाउन हो पनि र होइन पनिजस्तो छ । ईश्वरवल्लभको कविताजस्तो— ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ भन्यास्तो । लकडाउन कतै दमनकारी औतारमा उपस्थित छ, कतै पूर्ण अराजकता छ । अचम्म छ, लडकाउन लाउने पनि सरकार, लकडाउन तोड्ने पनि सरकार ! नागरिकले जान–अन्जान लकडाउन तोडे उसलाई दुनियाँले देख्ने गरी अपमान गरिन्छ । दिनभर ठिङ्गे लगाएर उसको हुर्मत लिइन्छ । सनासोले च्पापेर उसलाई पशुलाइझैँ धकेलिन्छ । तर सरकारका प्रतिबद्ध भजनकर्मीहरुलाई लकडाउन तोड्न हाकाहाकी छूट छ । प्रधानमन्त्रीको सदिच्छा बमोजिक पूर्व आइजीपी र पूर्व मन्त्रीलाई जनकपुरबाट सांसद ‘अपहरण’ गरेर काठमाडौँ ल्याउन बाटो खुला छ । तिनलाई कहीँ कतै केही रोकटोक छैन । विराटनगरबाट बसमा थानकोट आइपुगेका नागरिकहरुलाई उपत्यकामा पस्न निषेध छ । सरकारी अखिल र युवा संघका तरुणहरुलाई सरकारी वकिलको कार्यालयसामु मौरीको गोलोसरी झुम्मिन छूट छ । अत्यावश्यक आपसी दूरीको सरासर अवज्ञा गर्न तिनलाई छूट छ । लकडाउन तोडदै ‘बाबुराम भट्टराई मुर्दावाद’ भन्न तिनलाई छूट छ । नेवि संघका तरुणहरुलाई दूरी मिलाएर सनो झुण्डमा ‘अध्यादेश मुदार्वाद’ भन्न वर्जित छ । सरकारी तरुण र प्रहरीहरुमाझ मानौँ मामा–भानिजको नाता छ । नाराबाज भानिजहरु लकडाउनका यावत् संहिता तोड्दै ताण्डव रच्छन्, सुरक्षाकर्मी मामाहरु कानमा तेल हालेर रमिता हेर्छन् । उता नेवि संघका तरुणहरुलाई भेटे ठाडै शिकार गरुँलाझैँ गरी यी मामाहरु लखेट्न् । आखिर प्रभुको सदिच्च्छा हो । निजहजुरको अकाट्य सदिच्छासामु कसका बाउको पिताम !

नागरिकले जान–अन्जान लकडाउन तोडे उसलाई दुनियाँले देख्ने गरी अपमान गरिन्छ । दिनभर ठिङ्गे लगाएर उसको हुर्मत लिइन्छ । सनासोले च्पापेर उसलाई पशुलाइझैँ धकेलिन्छ । तर सरकारका प्रतिबद्ध भजनकर्मीहरुलाई लकडाउन तोड्न हाकाहाकी छूट छ । प्रधानमन्त्रीको सदिच्छा बमोजिक पूर्व आइजीपी र पूर्व मन्त्रीलाई जनकपुरबाट सांसद ‘अपहरण’ गरेर काठमाडौँ ल्याउन बाटो खुला छ । तिनलाई कहीँ कतै केही रोकटोक छैन ।


कहाँ के गर्ने, के नगर्ने ? कसले के गर्न पाउने, कसले के गर्न नपाउने ? लकडाउनको संहिता हास्यास्पद सनकमा आधारित छ । लकडाउनको कुनै सविचारित योजना छैन । कुनै स्पष्ट नियम छैन । संहिता र नियम सत्ताबली, पहुँचबली, धनबली र बाहुबलीका लागि एउटा छ, अकिञ्चन र निमुखा नागरिकका लागि अर्कै छ । पूर्व छापामार मन्त्री वर्षमान पुन छापामार शैलीमा राति ३ बजे कोटेश्वरमा फुत्त प्रकट हुन्छन् । यी मन्त्री माननीय आफ्ना मतदाता उर्फ सत्तामा उक्लिने भर्‍याङहरुलाई बसमा कोचाकोच हुने गरी भित्र्याउँछन् ।  र, तिर्र सिठ्ठी बजाएर तिनलाई रोल्पातिर चलान गर्छन् । लकडाउनको मर्यादा पालन गराउन खटिएका सुरक्षाकर्मीहरु मन्त्री महोदायलाई झ्याप्प सलाम ठोक्छन् । मन्त्री भनेको मन्त्री हो, ठूलो र ठालू । ओलीतन्त्रको मन्त्रीलाई लकडाउनको संहिताले छुँदैन । ठालू मन्त्रीसामु सुरक्षाकर्मी लकडाउनलाई तोड्न विवश हुन्छ ।

अर्को घटना छ, जसमा सिधासादा नागरिकको कन्तबिजोकको कथा छ । सुनसरीको दुबही हुँदै घर जान निस्केकाहरु बालकुमारीमा बसभित्र कैद भएका छन् । तिनलाई प्रहरी न जान दिन्छ, न निस्कन दिन्छ । माथिको आदेश यस्तै छ ! भोजपुरकी शान्ता तामाङको काखमा वर्ष दिनको बच्चा छ । रुँदै उनी भन्छिन्, ‘गाडीमा बसेको दुई दिन भयो । खाने–पिउने केही छैन । रातभर लामखुट्टेले टोकेर सुत्न दिएन ।’ तिनको बिलौना सुन्न चतुरमति मन्त्री वर्षमान पुन त्यहाँ हाजिर छैनन् । ‘अब आसँ खसाउनु पदैन’ भन्ने कवि खड्गप्रसाद शर्मा ओली दरबारको कौसीबाट तल धूलामा तिनका आँसु देख्दैनन् ।

तरकारी बजार हेर्नु, पसलैपिच्छे मान्छे झुरुम्म देखिन्छन् । कतै केही सस्तो छ भन्ने छनक पाए त मान्छे झन् मौरीको गोलोसरी झुम्मिन्छन् । प्रहरीबन्धु बाहिरपट्टि आफू र अरुलाई कुनै बाधा नपारी लुखुर–लुखुर हिँडिरहेको मनुवालाई कडा केरकार गरिरहेको हुन्छ । काँ हिँडेको ? लकडाउन थाहा छैन ? तरकारी किन्ने निहुँले किन यता हल्लिरहेको ? दिनभर होल्डमा बस्ने हो ? भित्रको भीडमा जहाँ सुरक्षाकर्मीको खाँचो छ, त्यहाँ ऊ हाजिर छैन । बाहिर जसले केही बिगारेको छैन, त्यहाँ ऊ उसलाई थर्काउनमा मस्त छ । शायद उसलाई कहाँ के गर्ने भन्ने मिहिन प्रशिक्षण नै छैन । माथि बालुवाटारदेखि तल सडकसम्म सब कुरा सनकको भरमा चलेको छ । माथि ठालु ख्वामितहरुको सनक, तल ठालुहरुद्वारा उपेक्षित र तिरष्कृत प्रहरीहरुको सनक । माथि ठालुहरु आफ्नो विलासी हबेलीभित्र शायद ‘एन ९५’ मास्क लगाएर सुरक्षित भएका होलान् । तल सडकमा प्रहरीहरु दश रुपियाँको मास्क लगाएर दिनभरि भोकभोकै ड्यूटी गर्न अभिशप्त छन् । 


भित्रको भीडमा जहाँ सुरक्षाकर्मीको खाँचो छ, त्यहाँ ऊ हाजिर छैन । बाहिर जसले केही बिगारेको छैन, त्यहाँ ऊ उसलाई थर्काउनमा मस्त छ । शायद उसलाई कहाँ के गर्ने भन्ने मिहिन प्रशिक्षण नै छैन । माथि बालुवाटारदेखि तल सडकसम्म सब कुरा सनकको भरमा चलेको छ । माथि ठालु ख्वामितहरुको सनक, तल ठालुहरुद्वारा उपेक्षित र तिरष्कृत प्रहरीहरुको सनक । माथि ठालुहरु आफ्नो विलासी हबेलीभित्र शायद ‘एन ९५’ मास्क लगाएर सुरक्षित भएका होलान् । तल सडकमा प्रहरीहरु दश रुपियाँको मास्क लगाएर दिनभरि भोकभोकै ड्यूटी गर्न अभिशप्त छन् । 


लकडाउनका आँखा छलेर लामो दूरीका वाहन आइजाइ गरिरहेकै छन् । तिनमा आपसी दूरीको कुनै पर्वाह छैन । शासक सत्ताको दाउमा लिप्त छ, त्यो देख्दैन । क्रूर शासकले सीमापारि अड्काएका असंख्य नागरिकहरु अब भित्रिन थालेका छन् । जब पारि थिए, ती रातोदिन खचाखच भीडमा बस्न बाध्य भए । तिनलाई न खान्की गतिलो थियो, न दूरी मिलाउने ठाउँ थियो । झुलाघाट र धार्चुला नाकाबाट ती एकै दिन २६०० जना भित्रिए । तिनको भित्रिने क्रम अस्तव्यस्त र भद्रगोल छ । ती देहमा अदृश्य शत्रु  बोकेर पो आएका छन् कि ! ती अब क्वोरेन्टाइनमा बस्छन् कि यत्रतत्र फुक्काफाल हिँड्छन् ? लामो दूरीका सडकमा त्यो भद्रगोल छ, सीमा क्षेत्रमा त्यो अस्तव्यस्तता छ । यता शहरमा लकडाउनको यो कुरुप नाटक किन मञ्चन भइरहेको हो ?  दरबारबासी शासकहरुलाई यसबारे शायद उत्रो चासो र चिन्ता छैन । तिनको चासो र चिन्ता अन्तै छ । त्यो कता र केमा छ भन्नु हुँदैन । कति राम्रोसँग चलिरहेको शासनतन्त्रमा अस्थिरताको पैरो जान्छ ! 

‘पत्रिका प्रकाशन गर्न पाइने, बेच्ने पसल खोल्न नपाइने ! तरकारी ढुवानी हुने, किन्न जानेलाई सखारै पनि सडकमा उभ्याइदिने ! औषधि व्यवसायी संघले खोल्नैपर्छ भनेको ३ पेट स्टोरको ढोकामा प्रहरी आएर बन्द गराउने ! हामीले नबुझेको कि बुझाउन नसकेको ? यसको जबाफ कता पाइएला ?’ अमृता लम्सालको ट्वीटको जिज्ञासा हो यो । उत्तर कतै पाइँदैन, अमृता । उत्तर दिने सत्ताको सर्वोच्च आसनमा जो विराजमान छ, उत्तर उसैलाई थाहा छैन । उसलाई त मलाई उत्तर थाहा छैन भन्ने पनि थाहा छैन । शासनतन्त्र जस्तो छ, लकडाउन त्यस्तै छ । भद्रगोल, अस्तव्यस्त, अराजक र मनपरी ! शासकहरु जे कुरामा व्यवस्थित छन्, त्यो भन्न मिल्दैन । भने सुन्दर शासनतन्त्रको स्थिरताको जग हल्लिाएको बात लाग्ने खतरा छ ।

‘घरभित्र बस्नेलाई कोरानाको त्रास, घरघरबाट निस्किएको फोहोर उठाउने मजदुरसँग न पन्जा छ न मास्क ।’ ल हेर चिन्ता !  शासक झुण्डलाई केवल खानको चिन्ता, ट्वीटे दिपका अधिकारीलाई फोहोर उठाउने मजदूको चिन्ता । चिन्ता सही हो, पार्टनर । तर यो चिन्ता जसप्रति लक्षित छ, उसलाई यसको बाल मतलब छैन । सत्ताशीन ख्वामित्हरुलाई यो मुलुकमा श्रमिक, गरिब र दीनदुखीहरु पनि छन् भन्ने कुराको सम्झना  छैन । सम्झना थियो होला कुनै बेला । यति होल्डिङस्, सेक्युरिटी प्रिन्टिङ प्रेस पार्टनर, ओम्नी कमरेड आदि इत्यादिसँग मोयामोह र दिनु–खानुको सम्मोहक नाता जब गाँसियो, पुरानो स्मृति विस्मृतिको गर्तमा विलीन भयो । 

विश्वको ‘विशालतम लोकतन्त्र’का महाराज मोदीले लकडाउन दुई हप्ता थपे । जसोजसो बडे दादा, उसैउसै छोटे भैयाको तालमा यता पनि लकडाउन थपिन बेर छैन । पिन्जराको सुगाले जानेको जम्मा कुरा मालिकको बोलीमा लोली मिलाउनु त हो ! यो लोली मिलाई घोर आपत्तिजनक छ । यो सर्वथा अस्वीकार्य छ । यसको ठाडो अवज्ञा गरिनुपर्छ । यो अराजक लकडाउनले जनजीविका र अर्थतन्त्रमा कति घात गरिसक्यो, शासक महलका बडे काजीहरुलाई खासै मतलब छैन । बेरोजगार र भोका जन एक स्वरमा भनिरहेछन्— हामीलाई कोरोना भाइरसले भन्दा पहिल्यै भोकले मार्ने भो !


विश्वको ‘विशालतम लोकतन्त्र’का महाराज मोदीले लकडाउन दुई हप्ता थपे । जसोजसो बडे दादा, उसैउसै छोटे भैयाको तालमा यता पनि लकडाउन थपिन बेर छैन । पिन्जराको सुगाले जानेको जम्मा कुरा मालिकको बोलीमा लोली मिलाउनु त हो ! यो लोली मिलाई घोर आपत्तिजनक छ । यो सर्वथा अस्वीकार्य छ । यसको ठाडो अवज्ञा गरिनुपर्छ । यो अराजक लकडाउनले जनजीविका र अर्थतन्त्रमा कति घात गरिसक्यो, शासक महलका बडे काजीहरुलाई खासै मतलब छैन । बेरोजगार र भोका जन एक स्वरमा भनिरहेछन्— हामीलाई कोरोना भाइरसले भन्दा पहिल्यै भोकले मार्ने भो ! सत्ताको अतिशय मादक नशामा लठ्ठ भएको शासक झुण्डले सामान्य जनको यो दारुण चीत्कार के सुन्थ्यो ! ऊ त अर्कै कुरा सुन्नमा लिप्त छ । के सुन्नमा ? त्यो भन्नु हुँदैन । किन ? समृद्धिको सिर्जना र सुखको वितरणमा कति राम्रोसँग लागिपरेको सरकारको सिंहासनमा अस्थिरता पैदा हुन्छ ।

कोरोना भाइरसग्रस्त इटलीको उत्तरी भेगमा जेन भन्ने एउटा तन्नम बस्ती छ । त्रिचालीस वर्षीय रोजी पेन्साटो त्यो बस्तीकी एक गरिब बासिन्दा हुन् । उनको लकडाउन अनुभव सुनिनसक्नु अप्रिय छ  । उनी भन्छिन्, ‘जसको फराकिलो निवास छ, र लकडाउन सिद्धिएपछि जसलाई स्वागत गर्न जागिर पर्खिरहेछ, उसलाई ‘घरैमा बस’ भन्न सजिलो छ । जसको आउने अनेक महिनासम्म धान्ने ब्याङ्क ब्यालेन्स छ, यो दुःखमा हामी सबै साथ छौँ भन्न उसलाई सजिलो छ । तपाईँ आफूलाई हाम्रो ठाउँमा राखेर सोच्नोस्त । हामी कोभिड– १९ अघि नै गरिब थियौँ । यो महामारी टुङ्गिदा हामी झन् गरिब हुनेछौँ ।’ (द गार्डियन, ३० अप्रिल २०२०)

गरिब रोजी पेन्साटोको यो हृदयविदारक चीत्कारमा दशौँ लाख नेपाली गरिबको चीत्कार बोल्छ । समृद्धिको सिर्जना र सुखको वितरणमा दत्तचित्त भएको अतिशय कुरुणामयी ओली सरकारलाई यो चीत्कार भन्छ— तिम्रो निहित राजनीतिक स्वार्थ र सनकको तुष्टिका लागि लकडाउन अब किमार्थ नथप !


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.