बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायक बद्री पङ्गेनीको लकडाउन डायरी : कोरोनापछि सुनौलो दिन आउँछ

आइतबार, २१ वैशाख २०७७, ११ : ४२
आइतबार, २१ वैशाख २०७७

काठमाडौँ । नेपाली सङ्गीतिक क्षेत्रका चर्चित लोकदोहोरी गायक हुन् बन्द्री पङ्गेनी । ५ दर्जनभन्दा बढी गीत गाएका पङ्गेनीका थुप्रै लोकदोहोरी गीत हिट छन् । 
गीत सङ्गीतका कारण आफ्नो अधिकांश समय देशविदेशका साङ्गीतिक कार्यक्रमा रमाउने  उनी कोरोनाको त्रासका कारण सरकारले गरेको लकडाउनमा विगत डेढ महिनायता घरभित्र खुम्चिएर बस्न बाध्य छन् । सायद त्यसैले होला यो लकडाउनले आफूलाई जीवन बुझाएको उनी बताउँछन् । 
फिल्म हेर्ने, किताब पढ्ने र परिवारसँग माया साटेर अहिले उनी समय बिताइरहेका छन् । यो समय केही गीत सिर्जनासमेत गरेका गायक बद्री पङ्गेनीकै शब्दमा उनको लकडाउन डायरी  ः

जीवनमा नसोचेका धेरै कुरा भोग्नुपर्छ भनेर अग्रजले भनेको सुनेको थिएँ । मेरो विचारमा यो लकडाउन पनि जीवनमा नसोचेको परिस्थिति मध्येको एक हो ।

मैले मात्र होइन । यो लकडाउन भोगिरहेका सबैले कोरोना र यसको कारण श्रृजित परिस्थितिको सायदै कल्पना गरेका थिए होलान् ।

यो लकडाउनका अधिकांश समय मेरो घरमै बित्ने गरेको छ । लकडाउन भन्दैमा दिनचर्या पूरै फरक भएको भने छैन । केही फेरिएको भने अवश्य हो ।

यतिबेला मेरो हरेक दिनको सुरुवात ब्याडबेन्टिन खेलबाट हुने गरेको छ । मेरो घर अगाडि खुल्ला ठाउँ छ । त्यहाँ सधैँ बिहान ४ जना साथीहरु भेला भएर करिब २ घण्टा ब्याडमिन्टन खेल्ने गरेका छौँ । यसले मेरो फिट्नेसमा मद्दत गरिरहेको छ ।

त्यसपछिको समय म नियमित केही क्ष्णका लागि बाहिर निस्किन्छु । घरमा सकिएको सामान सपिङ लागि । पसलमा धेरै भीड नभए पनि दुई मिटर टाढाबाट पालो कुरेर लिनुपर्ने व्यवस्था गरिएको छ । यसमा पनि मेरो एक घण्टा बित्छ ।

अनलाइन, टिभीमा समाचार पढ्ने, सुन्ने, हेर्न, सामाजिक सञ्जाल चलाउने मेरो नियमित दिनचर्या पनि हो ।

सामाजिक सञ्जालबाट साथीभाइ, फ्यान लगायतसँग यस्तो अवस्थामा पनि नजिक हुन सकिन्छ । फिल्म हेरेर, किताब पढेर पनि समय बिताइरहेको छु ।

यो लकडाउनमा धेरै समय म किचेनको काममा रमाउँछु । किचेनमा रोटी, मासु लगायतका परिकार पकाउँछु ।

यो हो फाइदा
मैले विवाह गरेपछि अहिलेसम्म धेरै समय श्रीमतीलाई दिन सकेको थिइनँ । अहिले परिवारसँग समय बिताउन पाएको छु । उनको काम सघाउन पाएको छु । यस्तो अवस्थामा बेग्लै अनुभूति हुँदो रहेछ । लकडाउनले दिएको एउटा फाइदा यो पनि हो । 

नयाँ गीत बनाए
हुन त मजस्तै धेरै कलाकारले यो लकडाउन राम्रो गीतसङ्गीत सिर्जनाका लागि अवसर हो भनेर भनेका छन् । मैले भने यसलाई अवसरको रूपमा सदुपयोग गर्न सकेको छैन वा जानिनँ । अबको दिन भने केही विशेष बनाउने सोच छ ।

लकडाउनको अवधिमा मैले गीतसङ्गीतमा पूरै समय नदिएको भने हो । अहिले स्टुडियोहरु बन्द छन् । गाउन, गीत रेकर्ड गर्न मिल्दैन । त्यसैले पनि नयाँ गीतसङ्गीत बनाउन पाएको छैन ।
यो समय फरक खालका गीतका शब्दहरु कापीमा उतार्ने काम भने गरेको छु । लकडाउन खुल्ने बितिकै रेकर्ड गरेर बाहिर ल्याउँछु ।

दुःख छैन
यो लकाउन म एक्लैले भोगेको दुःख होइन । संसारका धेरै देशमा अहिले लकडाउन चलिरहेको छ । हाम्रो देशमा पनि अधिकांश मानिसले लकडाउनको सामान गर्नुपरेको छ । यसैले पनि यस्तो परिस्थितिमा पनि दुःख महसुस भएको छैन ।
अर्काे कुरो लकडाउन कोरोनाबाट आफू र आफ्नो परिवारलाई टाढा राख्ने सबैभन्दा उपयुक्त र सुरक्षित तरिका पनि हो । यसमा दुःख मान्नु हँुदैन भन्ने मेरो धारणा हो । 

जिउन सिकायो 
यो कोरोना र कोरोनाको कारण सिर्जित लकडाउनले हामीलाई धेरै कुरा सिकाएको छ । संसार र जीवन केही रहेनछ भनेर समेत महसुस गराएको छ । हामी खाली पैसाको पछि भाग्छौँ, काममा व्यस्त रहन्छौँ । त्यो सबै केही होइन रहेनछ भनेर अहिले अनुभूति गराएको छ ।
अर्काे कुरो जीवन दुई दिनको छ । मृत्यु कुन रूपमा कसरी आउँछ त्यो भन्न सकिन्न ।

काम काम भनेर सधैँ दौडधूप गर्ने मानिस मध्येको एक म पनि थिएँ । तर यो परिस्थितिले धेरै दौडधूप ठीक रहनेछ । मरेर लानु केही रहनेछ । संसारलाई ठप्प बनाउन कोरोना जस्तो महामारी पनि आउँदो रहेछ  भन्ने सिकायो । 

एक ठाउँमा संयम भएर बस्न सिकाएको छ । समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्ने बनाएको छ । हामी सधैँ भीडभाडमा रमाउने कलाकारलाई साँधुरो परिस्थितिमा पनि रहन सिकाएको छ ।

हाम्रै लागि हो 
राज्यले लगाएको लकडाउन सरकारका लागि होइन हाम्रो लागि हो । त्यसैले हामीले यसको पूर्ण पालना गर्नुपर्छ । यो लकडाउनमा सबैलाई मेरो अनुरोध पनि यही छ । घरमै रहनुस्, सुरक्षित रहनुस् भन्ने मेरो अनुरोध हो ।

अहिले सुख, दुःख जे परे पनि जीवन सकारात्मक सोचका साथ चलाउनुस् । रातपछिको दिन भने झैँ कोरोनापछि पनि सुनौलो दिन आउनेछ । 

आफूलाई सहज छ भने असहजमा रहेकाको सहयोग गरौँ । असहजमा हुनुहुन्छ भने आवश्यक सहयोगका लागि अपिल गरौँ । आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऊँ भनेर भन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप