बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईमा नेपालीको अवस्था : कोरोनाले ५ को मृत्यु, एक सयभन्दा बढी संक्रमित

आइतबार, २१ वैशाख २०७७, २० : ३२
आइतबार, २१ वैशाख २०७७

युएई - कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै कायल बनाएको बेला मध्यपूर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन।

यो समाचार तयार पार्दासम्म युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ भने १ सय २६ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार २७ सय ६३ जना उपचारपछि निको भएका छन् । 

युएईको स्वास्थ्य मन्त्रालयले युएईमा अहिलेसम्म १३ लाख ५० हजार भन्दा बढी जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ। 

कोरोना भाइरसका कारण गत अप्रिल ६ देखि २४ तारिखसम्म दुबईमा मेट्रो लगाएत अन्य सार्वजनिक आवात–जावत ठप्प गरिएको थियो । तर, गए हप्ता २५ तारिखदेखि भने बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म लकडाउनलाई खुकुलो गरिएको छ।

मलहरुमा सजिलै आवात–जावतलाई अनुमति दिइएको छ । २८ तारिखदेखि विश्वकै सबैभन्दा ठूलो मल दुबई मल खुल्ला गरिएको छ। दुबई सरकारले लकडाउन खुकुलो पारेसँगै यहाँको आर्थिक गतिविधि नियमित र सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ।

कोरोना भाइरसका कारण युएईमा कति नेपाली प्रभावित भए भन्ने यकिन जानकारी छैन। दुबईमा एक महिना अघि सुरु भएको भएको प्रतिबन्ध र २० दिनसम्म लागेको पूर्णलकडाउनले श्रम गर्ने धेरै नेपाली प्रभावित भएका छन् ।नेपाली दूतावास युएईको तथ्यांकअनुसार युएईमा २ लाख ७५ हजार नेपालीहरु कार्यरत छन् ।

तीमध्ये पनि धेरै जसो नेपालीहरु ‘लो क्याटेगोरी’को काम गर्छन्। केही नेपालीहरु सेक्युरिटी, हस्पिटालिटी, अफिस, सेल्स र व्यापार, व्यवसाय गर्दछन् । ती मध्ये धेरैले रोजगारी गुमाएका छन्। धेरै नेपालीहरु बेतलबी बिदामा रहेका छन् भने केहीको तलब कटौती भएको छ। अधिकाशं नेपाली व्यवसाय रेस्टुरा, ट्राभल्स बन्द छन्।

भिजिट भिसामा युएई घुम्न आएका धेरै नेपालीहरु अलपत्र परेका छन् । यहाँ कार्यरत केही गर्भवती महिलाहरु नेपाल फर्कन नपाउँदा जटिल समस्या उत्पन्न भएको छ। एक सयको हाराहारीमा रहेका बिद्यार्थीहरू, बिभिन्न कारण बिरामी भएर बसेका नेपालीहरू समस्यामा परेका छन्। भिसाविना बसेका, घर फर्कन टिकट लिइसकेका ठूलो संख्यामा रहेका नेपाली कामदारहरू हवाई यातायात बन्द हुँदा नेपाल जान नपाएर अलपत्र परेका छन् । 

नेपालीहरु महामारी बढेसँगै डिप्रेशनको शिकार बनेका छन्।  पछिल्लो एक महिनाको अवधिमा मात्रै ५ जना नेपालीहरुले ज्यान गुमाएका छन्। जसमध्ये ३ जनाले आत्महत्या र २ जनाको हृदयघातबाट मृत्यु भएको छ। 

विश्व नै कोरोनाको महामारीमा परेको बेला युएईमा रहेका नेपालीहरुको अवस्था पनि के कस्तो छ ? भन्ने चासो सबैमा हुन थालेको छ। उनीहरूले युएईमा रहेका नेपालीहरूको सत्यतथ्य विवरण सार्बजनिक गर्न दूतावासलाई अनुरोध समेत गरेका छन्। तर, युएईस्थित नेपाली दुतावासले अधिकारिक तथ्यांङ्क दिन सकेको छैन।

दूतावाससँग कति नेपालीहरु कोरोना भाइरसको संक्रमणमा परे ? कति नेपालीहरुले उपचार पाए ? कोरोनाका कारण कति नेपालीको ज्यान गयो ? भन्ने आधिकारिक तथ्यांङ्क छैन। नेपाली दुतावास युएईले गत तीन हप्ता पहिलेको तथ्यांकमा ११ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएको त्यसमध्ये २ जना उपचारपछि निको भएका र ९ जनाको सामान्य उपचार भइरहेको तथ्यांङ्क सार्बजनिक गर्दै आएको छ।

नेपाली दूतावास अबुधाबीले आफूहरुसँग सम्पर्कमा आएका नेपालीलाई अस्पतालसम्म लैजान विभिन्न प्रयास गरिरहेको बताएको छ। केही नेपालीलाई आफ्नो अनुरोधमा अस्पताल लगेर उपचार गरिरहेको दूतावासको भनाइ छ। युएईमा नेपालीहरुले कतिपय केसमा उपचारमा ढिलाइ हुने गरेको गुनासो गरेका छन्। दूतावासले भने सम्बन्धित निकायमा पत्राचार गर्ने गरेको र बिरामीसँग नियमित सम्पर्कमा रही सहयोग पुर्‍याउदै आएको जनाएको छ।

बिदेशमा रहेका नेपालीका सघसंस्थाहरुले कोरोना पीड़ित नेपालीहरुलाई  सहयोग उद्दार गरिरहँदा नेपाल सरकारका समन्धित नियोग नेपाली दूतावास युएई भने लामो समयसम्म किन मौन बस्यो ? भन्ने बिषय उठ्न थालेको छ। लामो समयपछि दूतावासले गत मंगलबारदेखि युएईमा रहेका नेपाली नागरिकहरूको अनलाइनमार्फत विवरण संकलन गरेको छ।

नेपाली नागरिकहरूको विवरण संकलन फाराम  (Registration Form)  भर्नेहरूको संख्या हालसम्म ९५२८ पुगेको नेपाली दुतावास युएईले जनाएको छ। दुतावासले नेपाल फर्कन चाहनेहरूको हकमा नेपाल सरकारले कुनै निर्णय गरेमा यसै पेजमार्फत जानकारी गराइने बताएको छ।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले कोरोना भाइरस संक्रमणका कारण युएईमा पाँच नेपालीको मृत्यु भएको जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार युएईमा एक महिलासहित ४ पुरुषको ज्यान गएको हो। यसैगरि, युएईमा एक सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको कोइरलाले जानकारी दिए। जसमध्ये १५ जना नेपाली उपचारपछि निको भएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले आज २४औं दिनसम्म  कोरोनाका कारण अलपत्र परेका २ हजारभन्दा बढि नेपालीलाई झण्डै १५ लाख रुपैयाँ बराबरको राहत खाद्यान्न सामाग्री वितरण गरेको बताएको छ । यस्तै, नेपाली समाज युएई लगाएत युएईमा भएको क्रियाशिल सघसंस्थाहरूले पनि कोरोना प्रभाबित नेपालीलाई खाद्य सामाग्री विरतण गरेका छन्।

युएईमा रहेका ७ हजार पाँच सयभन्दा धेरै नेपालीहरुले स्वदेश फर्किनका लागि एनआरएनएमार्फत आवेदन दिएका छन्। विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण युएईमा समेत प्रभाव पर्न थालेपछि स्वदेश फर्किन चाहने नेपालीको संख्या बढ्दै गएको छ।

एनआरएनए युएई र नेपाली क्युआरएफुको हटलाइनमा प्राप्त सूचना अनुसार ३२ जना कोरोना पोजेटिभले प्रत्यक्ष लाभ लिएका छन्। जसमध्ये १० जना उपचारपछि निको भएर पर्केका, ११ जना सरकारी आइसोलेसनमा, ५ जना कम्पनी, २ जना सेल्फ क्वारेन्टाइनमा र ४ जना एम्बुलेन्सको पर्खाइमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष तथा क्युआरएफु दुवईका संयोजक पासाङ शेर्पाले रातोपाटीलाई बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप