शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा महिला तथा बालिकामाथिको हिंसा

सोमबार, २२ वैशाख २०७७, १४ : ४३
सोमबार, २२ वैशाख २०७७

-गीता केसी दर्नाल

झापा कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राईबाट वैशाख १८ गते ५ वर्षीय बालिका बलात्कृत भइन् । राईले अबोध बालिकालाई ललाई–फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगेर बलात्कार गरे । राईलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । 

वैशाख १५ गते भक्तपुरमा आफ्नै दाजुबाट १४ वर्षीय बहिनी बलात्कृत भइन् ।  सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा हाल बसोबास गर्दै आएका उनले आफनै बहिनीलाई जवरजस्ती करणी गरेका हुन् । २३ वर्षीया दाजुले  १४ वर्षीया बहिनीलाई  बलात्कार गरेको किटानी जाहेरी महानगरीय प्रहरी परिसर भक्तपुरमा परेपछि उनी पक्राउ परे । भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा अनुसन्धान भइरहेको छ ।  

वैशाख १० मा रौतहटको फुता विजयपुर नगरपालिकामा १० वर्षीया बालिका बलात्कृत भइन् । विजयपुर नगरपालिका–५ का ५५ वर्षीया वारिस अन्सारीले सुस्त मनस्थितिकी ती बालिकालाई राति शौचालय गर्न आफ्नो घर बाहिर निस्केको बेला ललाई–फकाई गरी आफू सुत्ने गोठमा लगेर बलात्कार गरे । बालिकालाई खोज्दै जाँदा उनकी आमाले करणी गर्दै गर्दा रङ्गे हात पक्राउ गरे पनि भाग्न सफल भएका अन्सारी पक्राउ परे । अहिले अन्सारीलाई जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । 

वैशाख ३ मा कैलालीको गौरीगंगा नगरपालिकामा राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भयो । गौरीगङ्गा–१ चनौराबाट आफ्नो घर धनगढी उपमहानगरपालिकाको भादगाउँ फर्कने क्रममा राति साढे १२ बजे किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेको अभियोगमा गौरीगङ्गा नगरपालिका–४ का नरेश नेपाली, निर्मल चौधरी, नरेश भट्ट र अर्जुन सावदलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो र हाल उनीहरु प्रहरी हिरासतमा छन् ।  

वैशाख ५ मा सप्तरीमा एक १२ वर्षीया बालिका बलात्कार भइन् । सप्तरीको राजगढ गाउँपालिका २ का २० वर्षीया रामजीवन यादवले ती बालिकालाई राति पिसाब फेर्न घरबाहिर निस्किएको बेला जबरजस्ती नियन्त्रणमा लिएर नजिकैको चौरमा लगि बलात्कार गरे । बालिकाको दाजुले उजुरी दर्ता गरेपछि आरोपित यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता घटनाहरु हाम्रो समाजमा दिनहुँ झनझन झाँगिँदै गइरहेका छन् । बलात्कार जस्तो जघन्य अपराध र निकृष्ट कार्यको शिकारमा दिनहुँ बालिकाहरु  परिरहेकै छन् । के घर, के बाहिर सबै सबैतिर बालिकाहरु असुरक्षित बन्दै गइरहेका छन् । आफनै बाबु, दाजुभाइ, छिमेकीहरुबाट बढी मात्रामा बालिकाहरु पीडित भइरहेका छन् ।   

विश्व अहिले कोरोना महामारीको चपेटामा छ । यसको कुनै पनि औषधि र भ्याक्सिन अहिलेसम्म नभएकाले यसबाट बच्न भन्दै लगभग सबै देशहरुले आफ्नो देशलाई लकडाउन गरेका छन् । यही क्रममा नेपाल पनि यसबाट अछुतो रहेको छैन । यहाँ पनि अहिलेसम्म ७५ जनामा यसको संक्रमण पुष्टि भएको  छ र अझै धेरै भन्दा धेरै मानिसहरुलाई यसको टेष्ट गरिदैछ । अमेरिका , बेलायत, स्पेन, जर्मनी, इटली, फ्रान्समा हजारौँको सङ्ख्यामा मानिसहरुको मृत्यु भइरहेको छ तर हाम्रोमा यस्तो भयावह स्थिति त केही छैन तर पनि कोरोना महामारी फैलन नपाओस् भन्दै सरकारले यसको नियन्त्रणको लागि भनेर लकडाउनबाट देश अगाडि बढ्दै छ । एक महिना बेसी भएको लकडाउनकै अवधिमा धेरै महिला तथा बालिकाहरुमाथि हिंसा र बलात्कारका घटनाहरु आइरहँदा महिला र बालिकाहरु फेरि पनि आफ्नै घर र समाजमा जस्तोसुकै परिस्थितिमा पनि सुरक्षित छैनन् भन्ने तथ्याङ्क यो लकडाउनकै समयमा भएका कारुणिक तस्बिरहरुले चित्रण पक्कै गर्छ । 

यतिबेला महिला र बालिकामाथि हुने गरेका हिंसाले उग्र रूप नै लिएको छ । हुन त लकडाउनकै कारण धेरै परिवारमा थप एकता पनि बलियो भएको छ, सिङ्गो परिवारमा एकले अर्कालाई थप बुझ्ने चिन्ने अवसर पनि दिएको छ । यसको एकातिर सकारात्मक पक्ष छ भने अर्कोतिर नकारात्मक पक्ष पनि कहाली लाग्दो नै बन्दै गएको छ । श्रीमान्, घरपरिवार र छिमेकीबाट मानव अधिकार, मौलिक अधिकार र मान्छेको सुरक्षित साथ बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप भइरहेको छ ।

महिला पुनस्र्थापना केन्द्रका अनुसार लकडाउन प्रारम्भ चैत ११ देखि वैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिकाहरुमाथि विभिन्न हिंसा भएको पाइएको छ । १५ वटा जिल्लाहरुबाट सङ्कलन गरिएको घटना मध्येमा पनि ७२ वटा महिला तथा बालिकामाथि घटेका हिंसा छन् भने १८ वटा बलात्कारका घटनाहरु छन् र २ वटा बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ । बलात्कारका घटनामा १३ वटा छिमेकीबाट, १ जना बुबाबाट, १ वटा परिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र २ पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ । त्यस्तै प्रहरीमा दर्ता भएका ४० वटा घटनामध्ये ७५ प्रतिशत बालिकामाथि यौन दुव्र्यवहार भएको छ । जसमध्ये पाँच नम्बर प्रदेशमा ११, बागमती प्रदेशमा १०, दुई नं प्रदेशमा ९, एक नं प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा एक जना बालिकामाथि यौन दुव्र्यवहार भएका घटना प्रहरीमा दर्ता भएका छन् । तर प्रहरीसमक्ष नपुगेका घटना भने त्यसको दोब्बरभन्दा बढी छ । त्यस्तै बलात्कारबाट पीडित बालिकाहरुमा ८३ प्रतिशत ११ वर्षदेखि १७ वर्ष उमेरका रहने गरेको पाइएको छ भने ८० प्रतिशत पीडकहरु १८ देखि ३५ वर्षका भएको साउथ एसियन इनेसेटिभ टु एन्ड भ्वालेन्स एगेन्टस चिल्ड्रेनले जनाएको छ ।

लकडाउनको समयमा महिलामाथिको हिंसा र बलात्कारका घटना झनै बढ्दै गइरहेका छन् । तर यो बन्दाबन्दीको कारणले मात्र भएको होइन, यो त समाजमा सर्दियौँदेखि स्थापित विभेद, सरकारद्वारा अवलम्बन गरिएको आर्थिक सामाजिक नीतिहरु, संसारमा स्थापित, अर्थ नीति, सैन्य नीति, राजनीति जस्ता नीतिहरुको परिणामभन्दै महिलामाथि हुने हिंसा अन्त्य गर्ने हो भने हामीले अवलम्बन गरेका आर्थिक, सामाजिक, सांस्कृतिक नीति, पुँजीवादी व्यवस्थाका आधारहरुका साथै डरलाग्दो रुपमा रहेको पितृसत्तात्मक सोच, व्यवहार, योजना अनि कार्यान्वयनका संयन्त्र फेर्नुपर्ने महिला अधिकारकर्मी डा. रेणुराज अधिकारीको तर्क छ । 
नेपालको संविधान २०७२ ले राष्ट्रिय महिला आयोगलाई संवैधानिक निकायको हैसियत त दियो । संविधान अनुसार २०७४ साल असोज २९ गते महिला आयोगसम्बन्धी नयाँ ऐन पनि आयो तर दुर्भाग्यवश यसमा अहिलेसम्म पदाधिकारीहरुको नियुक्त हुन सकेन । १ अध्यक्ष र ४ सदस्य रहने आयोग सरकारको संवैधानिक निकाय भएकाले रिक्त रहेका पदपूर्ति अहिलेसम्म सरकारले गर्न नसकेकाले पनि महिला तथा बालिकामाथि हुने यस किसिमको हिंसाहरु र जघन्य अपराधको न्यूनीकरणका लागि दबाबमूलक तवरले कामहरु गर्न नसकिएको महिला अधिकारकर्मीहरुको क्षेत्रमा क्रियाशील महिलावादीहरुको विश्लेषण छ ।  

लकडाउनका कारण घरमै बस्नुपरेको अवस्थाले नेपालमा मात्र होइन, धेरै देशमा घरेलु हिंसाका घटना भएका छन् । अन्य समयमा भन्दा निकै बढी महिला र बालिका हिंसामा परेको अवस्थालाई संयुक्त राष्ट्रसङ्घले द स्याडो पेन्डामिक (छाया महामारी) को संज्ञा समेत दिएको छ । फ्रान्समा लकडाउनको अवधिमा घरेलु हिंसाका घटना ३० प्रतिशतले बढेको छ भने यूकेमा घरेलु हिंसाकै कारण आत्महत्या गर्नेहरुको सङ्ख्या दोब्बर भएको छ ।

भारतमा राष्ट्रिय महिला आयोगको रिपोर्टअनुसार हटलाइनमा घरेलु हिंसाका घटना ४० प्रतिशतले बढेको रेकर्ड भएको छ । पाकिस्तानमा ४८ वर्षीय एक पुरुषले लकडाउनका कारण घरमै बसेर खेलिरहेकी ७ वर्षीया भतिजीलाई किन हल्ला गरेको भनी गोली हानेर हत्या गरेको यूकेबाट प्रकाशित पत्रिका डनले लेखेको छ । यता सार्क मुलुकहरुमा पनि बालिकामाथि हुने हिंसा अन्त्यका लागि विगत ८ वर्षदेखि क्रियाशील सञ्जाल नेसनल एक्सन एन कोर्डिनेटिभ ग्रुपले समेत केही समय यता बालिका र महिलामाथि यौन दुव्र्यवहारका घटनाहरुमा उल्लेख्य वृद्धि भइरहेको जनाएको छ ।  

कोभिड–१९ को भाइरसले फैलाएको विश्व्यापी महामारीका कारण नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी ४०औँ दिनसम्म आइसकेको छ । कोरोनाको सङ्क्रमणसँगै, यस बन्दाबन्दीको समयमा महिला तथा बालिकामाथि भएको र हुन सक्ने हिंसाको सम्बोधनका लागि सरकारले थप गम्भीरता र संवेदनशीलताका साथ आवश्यक कार्यहरु गर्नुपर्ने देखिन्छ । आफ्ना नागरिकलाई हरेक किसिमको जोखिमबाट सुरक्षा गर्ने, हिंसा, अन्याय हुनबाट संरक्षण गर्ने र हिंसामा परेकालाई सहयोग गर्ने प्रमुख दायित्व राज्यको हो तर यसो हुन सकिरहेको छैन ।

अहिलेकोे विषम परिस्थितिमा पनि सरकार र त्यसमा आसिन नेतृत्व कुर्सी बचाउकै फोहोरी खेलमा रुमल्लिरहेका छन् । पूरै विश्व कोरोना महामारीबाट बच्न दिनरात औषधि तथा भ्याक्सिन निर्माणमा लागिरहँदा हाम्रा नेताहरु र सरकार भने सत्ताकै फोहोरी खेलमा दोहोरी खेलिरहेका छन्  । यस्तो अवस्थामा सरकार र शासकबाट आम जनताले के आशा गर्नु ? कोरोना महामारी हुनुभन्दा अघि त यिनीहरुले महिला र बालिकाहरुमाथि भएका हिंसा तथा बलात्कारका दोषीलाई पक्राउ गर्न नसकी आफ्नो असक्षमता र असफलता देखाइसकेका छन् भने अहिले त समय र परिस्थिति नै बेग्लै बन्यो कोरोना महामारीको । यस्तोमा यिनीहरुले दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन सफल होलान् भन्ने सोच्नु ‘आकाशको फल आँखा तरी मर’ हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा