मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि आपूर्ति व्यवस्था सहज

खाद्य, साल्ट र निगमको भूमिका प्रभावकारी
मङ्गलबार, २३ वैशाख २०७७, १६ : २६
मङ्गलबार, २३ वैशाख २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण प्रभावित बनेको बजार विस्तारै सम्हालिन थालेको छ । कोरोनाका कारण अन्य व्यवसायिक क्षेत्र भद्रगोलको अवस्थामा रहेपनि दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, नुन,तेल, दाल, चामलसहित ग्यास, पेट्रोलियम पदार्थलगायतको आपूर्तिमा सहजता देखिन थालेको हो ।

लकडाउनको ४२ दिन पूरा हुँदा सरकारी संयन्त्र तथा निकायहरुले आफू र आफ्नो मातहतमा परेका जिम्मेवारीहरु सही तरिकाले बहन गर्दा आपूर्ति व्यवस्था सहज भएको हो । 

सरकारी निकायहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रेडिङ कर्पोरेसन र नेपाल आयाल निगमको भूमिका प्रभावकारी देखिएको छ । यी संस्थानहरुले विपतको बेलामा पनि बजार आपूर्ति व्यवस्थालाई सहज राख्दै सर्वसाधारणलाई सेवा पु-याइरहेका छन् ।

लकडाउनको घोषण हुनेवित्तिकै सुरुमा बजार व्यवस्थामा केही असहजता देखिएको थियो । खाद्यान्न तथा पेट्रोलियम पदार्थको आपूर्तिलाई लिएर बजारमा समस्या उत्पन्न थियो । तर, लकडाउनको आज ४२ दिन पुगिसक्दा बजार आपूर्तिमा सहज देखिन थालेको हो । 

अहिले बजारमा खाद्यान्न, ग्यास, तेल, नुन लगायतका दैनिक उपभोग्य वस्तुहरुको अभाव भयो, किन्न पाइएन भन्ने जस्ता उपभोक्ताको गुनासा सुनिँदैन । त्यसो त खाद्य कम्पनी र साल्ट ट्रेडिङले सर्वसाधारणहरुको सहजताकै लागि भनेर ठाउँ–ठाउँमा आउटलेट पसलसहित अनलाइन होम डेलिभरी सेवा समेत चलाइरहेका छन् । 

त्यस्तै आयल निगमले समेत सर्वसाधारणकै सहजताका लागि निजी कम्पनीहरुको अतिरिक्त आफ्नै बिक्री केन्द्रहरुबाट पेट्रोलियम पदार्थको बिक्रिवितरण गरिरहेको छ । जसले बजारमा आपूर्ति व्यवस्थालाई थप सहजता प्रदान गरेको छ । 

‘अभावले होइन सहजताले बजार माग घट्दैछ’
कोरोना महामारीको विषम परिस्थितिमा पनि बजार आपूर्ति व्यवस्थालाई चुस्तदुरुस्त राख्न सक्दा बजारमा माग घट्दै गएको आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।  तुलनात्मक रुपमा गत चैत महिनामा भन्दा वैशाखमा बजार माग घट्दै गएको उनको भनाइ छ ।

‘हामीले बजार आपूर्ति व्यवस्थाको सहजताका लागि आवश्यक कुनै कसर बाँकी राखेका छैनौं । विषम परिस्थितिमा पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई चुस्त दुरुस्त र सहज राखेका छौं,’ प्रवक्ता उपाध्यायले भने, ‘बरु यो समयमा अभाव होइन सहजाले बजार माग घट्दै गएको छ ।’

गत मार्चमा मात्र निगमले ४५ हजार मेट्रिकटन ग्यास आयात गरेको थियो  । अझ बजारमा मागअनुरुप ग्यास बिक्रीवितरण हुन नसकेपछि निगमले आधा सिलिण्डर ग्यास बिक्रीवितरणको नीति लिन परेको थियो । अहिले त्यस्तो अवस्था छैन ।

 ‘गत महिना लकडाउनको पहिलो चरण हुँदा के होला कसो होला भनेर उपभोक्ताहरु अतालिदा बजारमा केही समस्या आएको थियो । तर अहिले अवस्था सहज भएको छ । गत मार्चमा ४५ हजार मेट्रिकटन ग्यास आपूर्ति भएको बजारमा अहिले हामीले मुस्किलले ३५ हजार मेट्रिकटन मात्र आयात गरेका छौं’, प्रवक्ता उपाध्यायले भने ।

यता, पेट्रोल, डिजेल, मट्टितेलको अवस्था पनि उस्तै छ । झन लकडाउनको समयमा सवारीसाधानदेखि हवाई सेवासमेत पूर्ण रुपमा बन्द हुँदा तेलको खपत ९० प्रतिशतमाथिले घटेको छ । 

उपाध्यायका अनुसार हाल नेपालभरबाट दैनिक तीन सय किलोलिटर पेट्रोल र एक हजार किलोलिटर मात्र डिजेलको खपत हुँदै आएको छ । जबकी सामान्य दिनहरुमा दैनिक तीन हजार किलोलिटर पेट्रोल र झण्डै ७ देखि ८ हजार किलोलिटर डिजेल खपत हुने गथ्र्यो ।

खाद्यान्नमा समस्या छैन
लकडाउनको विषम परिस्थितिमा खाद्यान्नलाई लिएर कुनै चिन्ता लिनु नपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारमा खाद्यान्नको सहज आपूर्ति भइरहेको र अझ सरकारसँग तीन–चार महिनालाई पुग्ने खाद्यान्न स्टक रहेको मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए ।  

‘अहिले नै खाद्यान्नलाई लिएर बजार चिन्ता गर्नुपर्ने अवस्था छैन । सरकारसँग अझै १९ हजार मेट्रिकटन खाद्यान्न स्टक छ,’ सचिव अर्यालले भने, ‘यसले यदि बाहिरबाट तत्काल आयात नहुने हो भनेपनि र आफ्नो उत्पादन समेत आइनसक्दा समेत यसले कम्तिमा तीन–चार महिना धान्न पुग्छ ।’ 

यसको अलवा सरकारले थप १० हजार मेट्रिकटन खाद्यान्न आयात गर्न लागेको सचिव अर्यालले बताए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत खाद्यान्नलाई लिएर चिन्ता लिनुनपर्ने बताएको छ । सरकारसँग पर्याप्त खाद्यान्न मौज्दात रहेको अवस्थामा यसैलाई लिएर चिन्ता लिनुपर्ने अवस्था नरहेको खाद्य कम्पनीका नायव महानिर्देशक श्रीमणि खनालले बताए ।

‘अहिले पनि खाद्यसँग करिब १९ हजार मेट्रिकटन चामल मौज्दात छ । यसले घटीमा पनि तीन–चार महिनालाई पुग्ने हाम्रो अनुमान छ,’ खनालले भने, ‘बाँकी भण्डारण रित्तिन नदिन खाद्यले तत्कालै अझ १० हजार मेट्रिकटन चामल आयात गर्दैछ ।’

खनालका अनुसार खाद्यले चामल आयात गर्न आगामी बैशाख २५ गते सार्वजनिक खरिद आह्वान(टेन्डर) खुल्ला गर्दैछ । यसको अन्तिम टुंगो लागेपछि खाद्यान्न खरिद प्रक्रिया अघि बढ्ने छ । 

त्यसो त खाद्यले यसअघि नै गत चैत ५ गते एक महिनाको अवधि राखेर खाद्यान्न खरिदको टेन्डर आह्वान गरेको थियो । तर उक्त टेन्डरमा एक जनाले पनि दरखास्त नहालेपछि खाद्यान्न खरिद प्रक्रिया रोकिएको थियो । त्यसैको निरन्तरतामा खाद्यले पुनः दोस्रो पटक खाद्यान्न खरिदको टेन्डर आह्वान गर्न लागेको हो ।

‘साल्ट सधैं सर्वसाधारणको सेवामा समर्पित’
यता, नुन,चिनी ग्यास र रासायनिक मलको कारोबार गरिरहेको साल्टले पनि बजार आपूर्ति व्यवस्थामा कुनै समस्या नभएको बताएको छ । 

नाकावन्दी र विनाशकारी महाभूकम्पको बेलामा समेत सर्वसाधारणको सेवा समर्पित हुँदै आफ्नो जिम्वेवारी पूरा गरेको साल्टले कोरोना महामारीको विषम परिस्थितिमा पनि अत्यन्त जिम्वेवारीका साथ काम गरिरहेको र बजारमा समस्या आउन नदिएको साल्टका बजार प्रवन्धक ब्रिजेशकुमार झाले बताए ।

‘साल्ट आफ्नो जिम्मेवारीबाट कहिल्यै भाग्दैन । आफ्नो दायित्व पूरा गरेरै छाड्छ,’ प्रवन्धक झाले भने, ‘त्यो नाकावन्दीको असहज परिस्थितिमा होस् या  विनासकारी महाभूकम्पको बेलामा । हामीले हाम्रो जिम्वेवारी राम्रैसँग पुरा गरिरहेका छौं । अहिलेको कोरोनाको महामारीको विषम परिस्थितिमा पनि हामी त्यो जिम्वेवारीलाई आत्मसाथ गर्दै पुरा गर्छौ र गरिरहेका छौं।’

‘बजारमा खाद्यान्न, ग्यास, तेल नुनको आपूर्तिमा समस्या छैन । सबैले सहज रुपमा पाइरहेका छन् । सर्वसाधारणको सुविधाका लागि भनेर हामीले अतिरिक्त आउटलेटहरुबाट समेत बिक्री बितरण जारी राखेका छौं । यसमा खाद्यले समेत सहयोग गरिरहेको छ । अनलाइन होम डेलिभरीको समेत सेवा प्रवाह भइरहेको छ’, प्रवन्धक झाले भने ।

झाकाअनुसार अहिले साल्टसँग १० महिनालाई पुग्ने करिब १६० मेट्रिकटन नुन मौज्दात छ । चिनी भने करिव साढे तीन हजार मेट्रिकटन स्टक छ । झाकै अनुसार साल्ट बाहेक बाहिरी बजारमा पनि अहिले चिनीको स्टक करिब ४० हजार मेट्रिक टनको हारहारीमा मात्र छ । मासिक २० हजार मेट्रिकटन खपत हुने बजारमा यसले करिब दुई महिना मात्र धान्ने अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप