शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेगानेसका म्यानेजरले खुलाए स्पेनिस ला लिगा शुरु हुने मिति

शुक्रबार, २६ वैशाख २०७७, ०८ : ०१
शुक्रबार, २६ वैशाख २०७७

स्पेनिस फुटबल क्लब लेगानेसका म्यानेजर ह्याभियर अगुइरे आगामी जुलाई १६ सम्म अन्त्य गर्ने गरी जुन २० देखि स्पेनिस ला लिगा शुरु गर्ने तयारी गरिएको खुलासा गरेका छन् ।

यसबारे कुनै औपचारिक वक्तव्य जारी नगरिए पनि मेक्सिकन म्यानेजरले उक्त सूचना ला लिगाका अधिकारीहरुले आफूलाई दिएको दाबी गरेका छन् । स्पेनिस फुटबल अधिकारीहरु यतिबेला लिग सञ्चालनका लागि स्पेनको सरकारसँग छलफलमा रहेका छन् ।

‘लिग सुरु गर्ने मिति तय भइसकेको छ,’ अगुइरेले भने, ‘जुन २० मा हामी लिग शुरु गर्छौँ र पाँच हप्तामा यसलाई सक्नेछौँ । ११ वटा मितिमा यसलाई शनिबार–आइतबार र बुधबार–बिहीबार खेलाइनेछ ।’

स्पेनिस क्लबहरु यो हप्तादेखि प्रशिक्षणका लागि फर्किएका छन् । प्रशिक्षणका लागि मैदानमा उत्रनुअघि सबै खेलाडीको कोभिड–१९ परीक्षण गरिनेछ । खेलाडीहरुले सुरुमा एक्ला एक्लै प्रशिक्षण गर्नेछन् । सामुहिकरुपमा उनीहरुले केही समयपछि मात्र प्रशिक्षण सुरु गर्न पाउनेछन् ।

लामो समय खेलाडीहरुले प्रशिक्षण गर्न नपाएको कारण स्पेनिस फुटबल फेडरेसनले लिगका बाँकी खेलहरुमा ५ जना स्बस्टिच्युट गर्न पाउने नियम लागू गर्ने जनाइसकेको छ ।

यता, स्पेनिस महारथी बार्सिलोनाले आफ्ना खेलाडीहरु ला लिगाको निर्देशिकाअनुसार शुक्रबारबाट प्रशिक्षणमा फर्कने जानकारी दिएको छ । सामाजिक दुरीको कडा नियम पालना गर्दै स्पेनि फुटबल क्लबहरु प्रशिक्षणमा फर्किएका छन् ।

युरोपमा कोरोनाभाइरसको ठूलो मारमा पर्ने देशहरुमध्ये स्पेन पनि एक हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप