बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाभित्रको विवाद र अध्यक्षहरूको रूपान्तरण

शनिबार, २७ वैशाख २०७७, १० : २१
शनिबार, २७ वैशाख २०७७

विश्वभरिबाट साम्यवाद पतन भयो, अब विचार र इतिहासको अन्त्य भयो भन्ने फ्रान्सिस फुकुयामाको बुर्जुवा दर्शनले विश्वभरि हल्ला मच्चाइरहेको बेला नेपालमा जनमतबाट कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मतका साथ सरकार सञ्चालन गरिरहेको छ । सरकार चलाएको दुई वर्ष नपुग्दै नेकपाभित्र आन्तरिक द्वन्द्व सिर्जना भयो । इतिहासको खास, खास मोडहरूमा पार्टीभित्र दुई लाइन सङ्घर्ष उत्कर्षमा पुग्ने गर्दछ ।

तर त्यस प्रकारका सङ्घर्षलाई सञ्चालन गर्ने कम्युनिस्ट पार्टीको आफ्नै विधि र प्रक्रियाहरू हुन्छन् । विधि प्रक्रियाद्वारा सञ्चालित अन्तरसङ्घर्षले पार्टीलाई गतिशीलता प्रदान गर्दछ । अहिले नेकपामा सरकार सञ्चालन र पार्टीमा शक्तिको बाँडफाँटका विषयलाई लिएर गम्भीर समस्या पैदा भएको छ । यस विषयलाई बेलैमा हल गर्न नेतृत्वले आफूलाई कसरी प्रस्तुत गर्दछ भन्ने कुराले पनि अन्तरसङ्घर्षमा महत्त्वपूर्ण भूमिका खेल्छ । अहिले पार्टीभित्रको विवाद हल गर्न पार्टीको मुख्य नेतृत्वको भूमिका गलत र दुरासयपूर्ण रहेको तथ्य सार्वजनिक भइरहेको छ । अहिले नेकपामा सिर्जित विवादहरू मुख्यतः विधि प्रक्रियाबाट सञ्चालन हुनुपर्नेमा सरकारका काम कारबाही जनमुखी हुनुपर्ने, एकता पक्रियामा सहमति भएका कुरालाई अक्षरश लागू गर्नुपर्ने, विषयमा केन्द्रित छ । 

अन्तरसङ्घर्षमा उठेका यी विवादलाई विषयान्तर गरेर पार्टीको एउटा पक्षले अर्को पक्षलाई नेतृत्व हत्याउन खोजेको, पार्टी फुटाउन खोजेको, अनुशासनहीन र अराजक बनेको जस्ता आरोप लगाउने गरेको पाइन्छ । यस प्रकारका आरोप सही र यथार्थ होइनन् । बरु भद्दा संसदवादी सोच र चिन्तनसँग मेल खाने स्वार्थी चिन्तनको अभिव्यक्ति हो । किनभने यो भनाइमा कुनै वैचारिक राजनीतिक सच्चाइ छैन् । पार्टी र सरकारका विषयमा जोडिएर उत्पन्न भएका विषयहरूलाई पार्टी नेतृत्वले गम्भीरता पूर्वक लिएको देखिँदैन् । नेतृत्व हुनका नाताले पार्टीभित्र उठ्ने हरेक विषयहरू प्रचण्ड वा केपी ओलीसँग जोडिन जानुलाई अन्यथा लिनु हुँदैन् । स्वाभाविक रूपमा पार्टी र सरकार प्रमुख भएको नाताले केपी ओली यतिबेला शक्तिको केन्द्रमा छन् । यस अर्थमा पनि यो अन्तरसङ्घर्षलाई विधि प्रक्रियामार्फत हल गरेर निकास दिनु उनको पहिलो दायित्व हो ।

यसको अर्थ अध्यक्ष प्रचण्ड र सचिवालयका अन्य शीर्ष नेताहरूको भूमिका केपी ओलीको भन्दा कम छ भन्न खोजिएको होइन् । पार्टीभित्रको विवादलाई हल गर्ने सन्दर्भमा शीर्ष नेताका वारिपरिका सहायक नेतृत्वले पनि विषयान्तर गरेर एकले अर्को नेतालाई जुधाउने र फुटाएर आफ्नो स्वार्थ सिद्ध गर्ने काममा लागिरहेका छन् । यदि  त्यसो नहुँदोहो त कमरेड केपीका लागि धरहराबाट हामफाल्न पनि तयारहुने, केपी नभए आन्दोलन नै खतरामा पर्ने, केपीकै करिष्मा र क्षमताका कारण पार्टीले अहिलेको बुहमत सिद्ध गरेको जस्ता हावादारी फतुर गफ सार्वजनिक सञ्चार माध्याममा आउने थिएनन् । 

भनेको सिद्धान्त विचार, नीति कार्यक्रमको समुच्च रूप हो । विवादित  विषयहरूमा समग्र पार्टीमा बुझाई एकरूपता भयो भने पार्टी एकताबद्ध हुन्छ अन्यथा थप विवाद चर्कंदै जाने र अन्ततः कम्युनिस्ट पार्टी विभाजन हुने गरेका ऐतिहासिक तथ्यहरू हाम्रासामु छन् ।

उदाहरणको रूपमा महाकाली सन्धिको विषयलाई लिएर उतपन्न विवादमा तत्कालीन नेकपा एमाले विभाजन हुन पुग्यो । त्यसैगरी दस वर्ष जनयुद्धमार्फत शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीभित्र पनि शान्ति संविधान र सेना सामायोजनका विषयमा देखा परेका मदभेदका कारण माओवादी पार्टी विभिन्न चिरामा विभाजन हुन पुग्यो । यद्यपि प्रचण्डले नेतृत्व गरेको माओवादीले शान्ति प्रक्रियालाई आधारभूत रूपमा टुङ्गोमा पु¥याई संविधान जारी गर्न सफल भयो । संविधान जारी भएपछिको नेपालको राजनीतिक व्यवस्थालाई सञ्चालन गर्ने कुरामा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच वैचारिक र कार्यनीतिक विवाद नरहेपछि ती पार्टीहरू छुट्टा छुट्टै रहनुको औचित्य देखिएन् । जसका कारण यी दुई पार्टीका बीच एकता गरी नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर अघि बढ्नुपर्ने ऐतिहासिक दायित्वलाई मुख्यतः प्रचण्ड र केपी ओलीले महसुस गरे । जसको परिणाम आज नेकपा ठूलो शक्तिका साथ दुई तिहाइ नजिकैको सरकार सञ्चालन गर्न सफल भएको छ ।

पार्टी एकतासँगै आम कार्यकर्ता र जनतामा ठूलो आशा र विश्वास पैदा भइरहेको सन्दर्भमा जनताको त्यो आशा र विश्वासलाई नेकपाले इमानदारिताका साथ पूरा गर्न लाग्नुपर्नेमा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेजस्तो भइरहेको छ । पार्टी एकतासँगै विचार, राजनीति र दर्शनमा खासै विवाद देखिँदैन् । तर सरकार र पार्टी सञ्चालन गर्ने सवालमा देखिएका सामान्य समस्यालाई पनि नेतृत्वले समयमै हल गर्ने दिशातिर पहल नगरेर जग हँसाइ गर्नु अर्को विडम्बना हो । नेतृत्वको यही विडम्बना पूर्ण भूमिकाले गर्दा पार्टीभित्र गुट उपगुटले चलखेल गर्ने मौका पाइरहेका छन् । जसले गर्दा सिङ्गो नेकपा दिन प्रतिदिन बदनाम हुँदै गइरहेको छ । 

निश्चित रूपमा यतिबेला पार्टीभित्रको अन्तर विरोध उत्कर्षमा पुगेको छ । यसलाई हल गर्नुको बदला पार्टीको बैठकहरूबाट नेतृत्व आफैँ भाग्न खोजिरहेको देखिन्छ । बैठकमा जाने र उत्पन्न परिस्थितिको सामना गर्ने आँट नेतृत्वले देखाउन सकिरहेको छैन । नेतृत्वले समस्याको सामना गर्दै सबैलाई मिलाएर लैजाने समस्याको उचित निकास दिनुको बदला आफ्नै अध्यक्षतामा बसेको बैठकका निर्णयलाई समेत लागू नगर्नुले थप समस्या पैदा भइरहेको देखिन्छ । बैठकमा छलछाम गर्ने, लोभहरू देखाउने, त्यसले पनि नभए पेलेरै जाने नियतले पार्टीभित्रको असन्तुष्ट पक्ष बाध्य भएर छुट्टै भेला र सार्वजनिक बहसमा उत्रन बाध्य भएको छ । असन्तुष्ट पक्षको यो बाध्यतालाई नेतृत्वले आफ्ना विरुद्धको घेराबन्दीको रूपमा बुझ्ने र प्रचार गर्ने काम गरिरहेको छ । यसले पनि पार्टीमा थप जटिलता सिर्जना गरिरहेको छ । नेतृत्वको यो शैलीले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित बनाई राख्ने सवालमा गम्भीर प्रश्न खडा भइरहेको छ । नेतृत्वले यो बुझ्नु पर्छ कि यो अन्तर सङ्घर्ष हल गर्न सामान्य पुरानो सोच र शैलीबाट सम्भव छैन । किनभने व्यवस्थारूपि गाडी नयाँ छ र यसलाई हाँक्ने ड्राइभर पनि नयाँ सीप सहितको चाहिन्छ । त्यसैले पार्टीभित्रको अहिलेको समस्यालाई हल गर्न सिङ्गो नेकपाका नेता कार्यकर्ताले नेतृत्वको चेतनाको ढोका खुल्नेगरी बहसमा भाग लिएर सहयोग पु¥याउनु आवश्यक छ । 

यतिबेला नेकपामा जुन अन्तरसङ्घर्ष चलिरहेको छ, त्यो कसैको मनोगत चाहना, आवेग असन्तुष्टि वा स्वार्थका कारण नभई पार्टीभित्रको बिशिष्ट शक्ति सन्तुलन र नेताहरूको कार्यशैलीले नै पैदा गरेको हो । यो तथ्यलाई नजरअन्दाज गरेर नेतृत्वले गुटका आधारमा पेलेर नै निकास निकाल्न सक्छु भन्नु मूर्खता हो । यो शैलीले पार्टीलाई एकताबद्ध गरी सरकारलाई प्रभावकारी बनाउँदै सुखी नेपाली समृद्ध नेपालको दिशामा अगाडि बढ्ने कुरा कल्पनासमेत गर्न सकिन्न । त्यसैले नेतृत्वले विषयलाई हल्का फुल्का रूपमा लिएर अराजनीतिक रूपमा समस्यालाई चर्काउने दिशातिर जानु हुँदैन् । पार्टीमा अराजकता र स्वइच्छाचारिता बढ्दा त्यसको असर देश र जनतामा प्रत्यक्ष पर्न जान्छ । कोरोनाको महामारीलाई छाडेर पार्टीभित्रको समस्यामा केन्द्रित हुँदा पार्टी र नेताहरूको सर्वत्र आलोचना हुन गैरहेको छ । सचिवालयमा रहेका कमरेडहरूले मुलुक र पार्टीको अवस्थाको बारेमा थाहा नपाए जस्तो गरेर बैठक बस्दासाथ आफूकेन्द्रित बहस गर्ने र आफूलाई सत्ता र शक्तिको हिस्सेदार बनाउन पावर सेयरिङमा लाग्ने गरेको देखिन्छ । त्यसो नहुँदो हो त जनताबाट अस्वीकृत भएका व्यक्तिलाई सांसद र प्रधानमन्त्री बनाउने, हारेकाहरूलाई राष्ट्रिय सभामा पठाउने, कसैलाई पार्टीकै उपाध्यक्ष, कसैलाई मुख्यमन्त्री, मन्त्री र संवैधानिक पद बाँढ्ने खेलो हुने थिएन् । त्यसैले पार्टीको हितलाई ध्यानमा राखेर सचिवालयका सदस्यहरूले आफूलाई रूपान्तरण गरेर निकास दिन सक्नुपर्छ । अन्यथा शक्ति सन्तुलन पनि नमिलेको र भूमिका पनि प्रभावकारी नभएको सचिवालयको औचित्यका बारेमा प्रश्न उठ्ने छ ।

 सचिवालयकै सदस्यहरूको भूमिका र पार्टी भित्रको अन्तर विरोधलाई हेर्दा नेकपा कम्युनिस्ट पार्टी नभएर संयुक्त मोर्चा जस्तो भएको अनुभूति हुन्छ । किनभने यहाँ पूर्वएमालेका स्थायी गुट उपगुटहरू जसले एकले अर्कोलाई निषेध गर्ने तहसम्मका हर्कत देखाउन बाँकी राखेका छैनन् । पूर्व माओवादी केन्द्रमा पनि प्रचण्डको व्यक्तित्व र रवाफका कारण युद्धकालदेखि अहिलेसम्मका पोखिन नपाएका प्रतिशोधपूर्ण प्रवृत्तिहरू अहिले प्रचण्डलाई देखाइदिने वा वदला लिने तहसम्म उजागर भएका छन् । ती सबै स्वार्थ समूहहरू पूर्वएमाले र माओवादीका गुट उपगुटमा विभक्त भई अध्यक्षद्वय प्रचण्ड र केपी ओलीसँग बार्गेनिङ गरिरहेका छन्  । केपी ओली र प्रचण्डबीच मतएक्यता नहुँदा पार्टीमा यिनै गुट उपगुटहरू हाबी हुने खतरा बढ्दै गएको छ ।

जबसम्म अध्यक्षहरूमा बीच एकता र विश्वास कायम रहन्न त्यतिबेलासम्म यी गुट उपगुटहरू थप प्रभावकारी बन्दै जान्छन् । त्यसैले नेकपाको अहिलेको विवाद हल गर्ने पहिलो सर्त हो दुई अध्यक्षहरूको रूपान्तरण । अध्यक्षहरू रूपान्तरण नभएसम्म अरू रूपान्तरण हुने प्रश्न उठ्दैन । यो पार्टी नेकपा निर्माण गरेको अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले नै हो । यी दुई जनाका बीचमा एकता हुँदा सिङ्गो पार्टी एक मतका साथ निर्वाचमा गएर ऐतिहासिक जनमतका साथ विजय हाँसिल गरेर सरकार बनाउन सफल भएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन् । तर यिनै अध्यक्षहरूका बीचमा भएको विवादका कारण पार्टीनै सङ्कटको सँघारमा उभिएको छ । यो सङ्कटलाई समाधान गर्न ओलीले प्रचण्डलाई साथमा लिएर माधवलाई पेल्ने वा माधव र प्रचण्ड मिलेर ओलीलाई धक्का दिने वा पूर्व एमाले मिलेर प्रचण्डलाई धक्का दिने जस्ता घातक योजना पार्टीका लागि दुर्भाग्यपूर्ण सावित हुनेछन् । त्यसैले पार्टीभित्र र बाहिरको समस्यासँग जुध्न दुई अध्यक्षहरूको रूपान्तरण अहिलो आवश्यकता हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णबहादुर केसी
कृष्णबहादुर केसी
लेखकबाट थप