शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा थप दुई डेङ्गु बिरामी, सङ्क्रमितको सङ्ख्या नौ पुग्यो

शनिबार, २७ वैशाख २०७७, १० : ५८
शनिबार, २७ वैशाख २०७७

कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ ।  म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । 

बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई  युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिनुभयो । “डेङ्गुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेङ्गुले सताउने सङ्केत देखिएको छ”, डा बस्ताकोटीले भने । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो ।
 
यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् । बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै सङ्क्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ । 

शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ । गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो । 

डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेङ्गुको सङ्क्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप