केन्द्रीय संस्करण
राजनीतिमा रिटायरमेन्टको बहस

बाबुरामले भनेजस्तै कार्यकारी भूमिकामा पुरानो पुस्ताको औचित्य सकियो ?

person explore access_timeबैशाख २७, २०७७ chat_bubble_outline0

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रश्न गरे– यो देशमा ३८ जना प्रधानमन्त्री भइसके, कसको सम्झना गर्छ मान्छेले ?
जवाफ पनि उनले नै दिए– बीपी कोइराला लगायत एकाध जनाको नाम मान्छेले सम्झना गर्छ । अरु धेरैको त नाम पनि आउँदैन । म पनि प्रधानमन्त्री भइटोपलेको मान्छे, मलाई थाहा छैन, कतिबेलासम्म मान्छेले सम्झन्छन् !

डा. भट्टराईका यी भनाइ समकालीन पुस्ताका नेताबाट, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मुलुकको कार्यकारी भूमिका सम्हालिसकेका व्यक्तिहरुबाट अब मुलुकले काँचुली फेर्न सक्दैन भन्नेतर्फ केन्द्रित थियो ।

उनले लामो समय सत्तामा बस्दैमा मानिसलाई इतिहासले राम्रो अर्थमा मूल्यांकन गर्दैन भन्ने पनि संकेत गरे । सत्तामा रहेकै कारण कोही मानिस दशकौंसम्म स्मरणमा रहिरहन्छ भन्ने पनि होइन भनेर उनले महात्मा गान्धी, गौतम बुद्धलगायतका उदारहण पनि दिए ।

संघीय संसदको प्रतिनिधिसभामा उनले भने, ‘यो व्यवस्था फेल हुँदा हामी सबै फेल हुन्छौं, लोकतन्त्र खत्तम हुँदा हामी सबै खत्तम हुन्छौं, हाम्रो जीवनभरीको बलिदान खेर जान्छ ।’

सत्तामा को कति समय बस्यो भन्ने आधारमा मान्छेले मूल्यांकन नगर्ने उनको जिकिर थियो । ‘पद ठूलो होइन । मान्छेले के सत्कर्म ग¥यो, त्यसको आधारमा सम्झन्छन्,’ उनले भने, ‘कुर्सीमा बसेर, सत्ताको प्रयोग गरेर महान् भइँदैन, नैतिक आचरण ठूलो हुन्छ ।’

उनका यी भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीतिर केन्द्रित थिए । उनले प्रधानमन्त्री ओलीलाई प्रष्ट शब्दमा भने, ‘लोकतन्त्र र तपाईंको आफ्नै छविलाई बचाउनका निम्ति पनि तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’

ओलीको राजीनामापछिको विकल्पमा उनले आफ्नो निजी विचार भन्दै प्रस्ताव गरे, ‘हामी ६०÷६५ उमेर नाघिसकेका मान्छेले लोभ नगरेर अब प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहने अर्थात् प्रधानमन्त्रीको दावेदार हामी नबन्ने र हामीले अरुलाई सघाउने, नयाँ पुस्तालाई अगाडि ल्याउने, पुस्तान्तरण गर्ने दिशातिर हामी गयौं भने देशले निकास पाउँछ, राजनीतिले निकास पाउँछ, लोकतन्त्र सुरक्षित हुन्छ । मलाई यही बाटो नै उपयुक्त लाग्छ ।’

आफूसहितका पूर्वप्रधानमन्त्रीहरु सबैले कुनै पनि प्रकारका इच्छा, आकांक्षा राख्न नहुने उनले बताए । ‘हामीले दिशानिर्देश गरौं, सहयोगको भावना गरौं । राजनीतिबाट अलग्गिने, सन्न्यास लिने भनेको होइन, राजनीति महत्वपूर्ण विषय हो । देशको, सम्पूर्ण समाजको नेतृत्व गर्ने भनेको राजनीतिले हो,’ उनले भने, ‘त्यसैले राजनीतिबाट सन्न्यास लिएर सुख पाइँदैन । यसमा त असल मान्छे, सक्षम मान्छेहरु ल्याउनुपर्छ ।’
नयाँ पुस्ता नै किन ?
नेपालमा अझै सक्रिय राजनीतिमा रहेका पूर्वप्रधानमन्त्रीहरुको सूची लामो छ । राजनीतिक अस्थिरताका कारण कुनै पनि सरकार पाँच वर्ष नटिकेको, बर्सेनिजसो सरकार परिवर्तन भइरहने परिस्थितिका भुक्तभोगी हामीले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीका सूची निकै लामो बनाइसकेका छौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै सबैभन्दा धेरै पूर्वप्रधानमन्त्री छन् । नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपालले मुलुकको कार्यकारी भूमिका निर्वाह गरिसके । प्रधानमन्त्री ओली दोस्रो पटक उक्त भूमिका निर्वाह गर्दैछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, राप्रपा नेता लोकेन्द्रबहादुर चन्दपनि पूर्वप्रधानमन्त्रीको सूचीमा छन् ।

सत्तारुढ दल नेकपाकै नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङ कुनै पनि पूर्वप्रधानमन्त्रीले राज्य सञ्चालनमा जनताबाट अब्बल नम्बर नपाएको बताउँछन् । ‘अहिले भएका पूर्वप्रधानमन्त्रीहरुलाई राज्य सञ्चालनका हिसाबले जनताले मूल्यांकन गर्नुपर्दा कसैले पनि अब्बल नम्बर पाउनुभएको मलाई लाग्दैन ।’

नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग उठ्नु स्वाभाविक ठान्छन् उनी । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मानिसको स्वभाव रातारात परिवर्तन हुँदैन, सबैको स्वभाव जनताले देखिसकेका छन्, त्यसैले यही स्वभाव, यही कार्यशैलीबाट नयाँ कुरा केही पाउन सकिने होइन भनेर नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग बेलाबखत उठिरहेकै छ ।’

शेरबहादुर तामाङ

डा. बाबुराम भट्टराईले शुक्रबार प्रतिनिधिसभा बैठकमा राखेको प्रस्तावप्रति राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहमत देखिन्छन् । उनले भने, ‘बाबुरामजीले भनेको कुरा सही नै हो, उहाँले भनेकै कुराबाट मुलुकको हित हुन सक्छ ।’
पुरानो पुस्ता ऊर्जाविहीन भइसकेको, संसार बुझ्ने क्षमता गुमाइसकेको विश्लेषक आचार्यको भनाइ छ । ‘पुरानो पुस्तामा बाबुरामजी त बरु अलि पढेलेखेको, संसार बुझ्ने, अध्ययन गर्ने, सामाजिक सञ्जालमा सक्रिय रहने नेता हुनुहुन्छ,’ उनले भने, ‘जब बाबुरामजीले नै अब हामीजस्ताको काम छैन भनेर स्वीकार गरिसक्नु भयो भने अरुको कुरै नगरौं ।’

६५÷७० वर्ष पुगेका मानिसलाई विभिन्न मुलुकले घरमै सीमित रहन विशेष आग्रहसहितको व्यवस्था मिलाउने गरेको उदाहरण दिँदैउनले भने, ‘त्यो उमेर भनेको आराम गर्ने हो, शारीरिक रुपमा पनि मानिस रोगी र अशक्त हुने उमेर हो त्यो ।’

‘उमेरका आधारमा मूल्यांकन बेठिक’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे र राजनीतिक विश्लेषक हरि रोका भने उमेरका आधारमा नेतृत्वको क्षमता र आवश्यकता निर्धारण नहुने तर्क गर्छन् ।

गुरुराज घिमिरे

कांग्रेसका युवा नेता घिमिरेका अनुसार राष्ट्रिय राजनीतिमा भूमिका र उपयोगिताका आधारमा नेतृत्व अनुमोदन हुन्छ । उनले नेल्सन मन्डेला, महाथीर मोहम्मद, गिरिजाप्रसाद कोइरालाको उदाहरण दिँदै भने, ‘उहाँहरुले पाको उमेरका बाबजुद राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका र उपयोगितालाई सार्थक तुल्याउनु भयो, त्यसैले उमेरकै आधारमा कसैको औचित्य र आवश्यकतालाई निर्धारण गर्नु ठिक होइन ।’

नेतृत्व गर्ने व्यक्तिमा रचनात्मक क्षमता छैन र ऊप्रति जनस्वीकृति छैन भने उमेर भएर पनि उसले नेतृत्वमा बसिरहनुको अर्थ नरहने घिमिरे बताउँछन् । राष्ट्रिय राजनीतिमा मियोको काम गर्छ, ऊर्जा छ र उत्प्रेरकको काम गर्छ भने पाको उमेर भएकाले पनि धेरै ठूलो योगदान गर्न सक्ने उनले बताए ।

राजनीतिक विश्लेषक रोका पनि यो तर्कमा सहमत देखिन्छन् । उनले शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको कालखण्ड र त्यसबेला संसदीय राजनीतिमा देखा परेको विकृतिलाई उदाहरणका रुपमा प्रस्तुत गरे ।

२०५२ भदौमा देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा उनको उमेर ४९ वर्षको थियो । उनकै कार्यकालमा सुरा–सुन्दरी काण्डदेखि लिएर सांसद किनबेचजस्तो संसदीय अभ्यासका विकृत रुप देखा परेको विश्लेषक रोका स्मरण गर्छन् ।

‘२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री थिए, युवा थिए । त्यही आधारमा मुलुकको कार्यकारी नेतृत्वमा देउवाले केही गर्लान् भनेर धेरैले अपेक्षा गरे,’ रोकाले भने, ‘२०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा के भयो भन्ने हामी सबैले देखिहाल्यौँ ।’

हरि रोका

रोकाका अनुसार पुस्ताले होइन विचारले राजनीति गर्ने हो । अहिले पनि नयाँ पुस्ता भनिएका योगेश भट्टराई, प्रदीप ज्ञवाली, भानुभक्त ढकाललगायतले गरेका काम हेर्ने हो भने नयाँ पुस्ता भनेरमात्र ढुक्क हुने स्थिति नरहेको उनले बताए । ‘योगेश भट्टराईलाई युवा नेता मानेको होइन हामीले ?’ उनले प्रश्न गरे, ‘कोरोना भाइरसको संक्रमणप्रति विश्व सतर्क भइरहँदा, कयौं मुलुले आफ्ना सीमा बन्द गर्दासमेत नेपाल कोरोना–फ्रि मुलुक भनेर पर्यटन वर्षको प्रचार गरिरहने उनै योगेश भट्टराई होइन ?’

विदेशमा रहेका नेपालीको अवस्था, उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउन पहल गर्ने, उनीहरुको अवस्थाबारे निरन्तर सोधखोज गर्ने भूमिकामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कोरोना संत्रास बढ्दै गएको अवस्थामा आवश्यक स्वास्थ्य सामग्रीको बेलैमा जोहो गर्ने, ठाउँठाउँमा परीक्षण केन्द्र स्थापना गर्नेलगायतका भूमिकामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तुलनात्मक रुपमा युवा भएर पनि प्रशंसायोग्य भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।

पूर्वमन्त्री तथा नेकपा नेता शेरबहादुर तामाङ बाबुराम भट्टराईले कुनै योजना बनाएर नयाँ पुस्तालाई कार्यकारी भूमिकामा ल्याउनुपर्छ भनेर प्रस्ताव नगरेको बताउँछन् । ‘उहाँले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था लगायतका कुरालाई ध्यानमा राखेर उक्त प्रस्ताव गर्नुभएको हो,’ उनले भने, ‘कुनै उपयुक्त विकल्प भएर भन्नुभएको होइन । कसले कस्तो काम गर्छ भन्ने कुरा उसको दृष्टिकोणमा भर पर्छ र दृष्टिकोण भनेको नयाँ र पुरानो भन्ने हुँदैन ।’

मानिसको काम गर्ने क्षमता उसको शारीरिक अवस्था, खट्ने क्षमतमा भर पर्ने भएकाले पनि कतिपयले बूढो मान्छेको तुलनामा युवालाई मौका दिउँ भनेर भन्ने गरेको उनी बताउँछन् । उनले भने, ‘युवा भनेरमात्र कहाँ हुन्छ र ? ऊ निष्ठामा उभिन्छ कि उभिदैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’ निष्ठामा उभिन सकेन भने पुरानोको तुलनामा नयाँले झन् ठूलो हानी गर्ने उनले प्रष्ट पारे ।

अहिलेको सन्दर्भमा मुलुकको कार्यकारी भूमिका निर्वाह गरिसकेकाहरुले मुलुकमा उनीहरुको नेतृत्व किन आवश्यक छ भन्नेकुरा प्रमाणित गर्न नसकेको पूर्वमन्त्री तामाङ बताउँछन् ।   

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको प्रश्न
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि राजनीतिमा रिटायर्डमेन्टको आवश्यकता औंल्याएका छन् । प्रधानमन्त्री ओलीले विश्राम लिनुपर्छ, उहाँको शारीरिक अवस्था, स्वास्थ्य लगायतले पनि कार्यकारी भूमिका निर्वाह गर्न उहाँलाई असहज हुने भन्दै बाबुराम भट्टराईकै शैलीमा धेरैले राजीनामाका लागि सार्वजनिक रुपमै सुझाव दिँदै आएका छन् । 

सूर्य थापा

शुक्रबार डा. भट्टराईले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामाका लागि सुझाव दिँदै ६०÷६५ वर्ष नाघेकाले कार्यकारी भूमिकाको लोभ नगरौं भनेर राखेको प्रस्ताव प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई पनि निकै घत लागेको देखिन्छ । राति फेसबुकमा स्टाटस लेख्दै उनले प्रश्न गरेका छन्, ‘राजनीतिमा रिटायर्डमेन्ट जरुरी छ भनेर कहिले बाटो खुला गर्ने हो ? सम्बन्धित व्यक्तिले भन्नुपर्ने बेला अझै भएन र ?’ यद्यपि उनले त्यो ‘सम्बन्धित व्यक्ति’ को हो भनेर खुलाएका छैनन् ।

राजनीति शास्त्रका सामान्य विद्यार्थीले बुझ्न सक्ने कुरा हो– प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भनेझैं राजनीतिमा रिटायर्डमेन्टको व्यवस्था कसैले लागू गर्न सक्छ भने मुलुकको कार्यकारी भूमिका निर्वाह गरेको व्यक्तिले नै सक्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्, ‘डा. बाबुराम भट्टराईले बोल्नुभएका अरु कुरा त त्यस्तै हुन्, प्रधानमन्त्री भइसकेका नेताहरुले अब प्रधानमन्त्री बन्न मुख नमिठ्याऔं भन्नेचाहिँ उचित तर्क हो ।’ उनले पुराना पात झरेर नै नयाँ पात पलाउने प्रकृतिको उदाहरण पनि प्रस्तुत गरेका छन् ।

फर्कीफर्की पुरानै र प्रधानमन्त्री भइसकेका व्यक्ति तयार हुने, तम्सिने र आफूबाहेक अरुलाई योग्न नदेख्ने दृष्टिदोष हटाउनु आवश्यक रहेको पनि उनले औंल्याएका छन् । उल्लेखनीय छ, प्रधानमन्त्री ओली संविधानअनुसार जननिर्वाचित प्रधानमन्त्री भए पनि सरकारका कमी कमजोरी औंल्याउने कतिपय आफ्नै दलका नेतालाई समेत देखिसहँदैनन् । आफूलाई बाहेक अरुलाई योग्य नदेख्ने दृष्टिदोष उनमा पनि प्रशस्त देखिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.