बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री डा. यादव अपहरण प्रकरण : प्रदेश २ बाट अनुसन्धान शुरु

यादवका स्वकीय सचिवको आरोप : नेकपाका नेतालाई बोकेर हिँड्ने टोलीले के अनुसन्धान गर्ला ?
आइतबार, २८ वैशाख २०७७, १८ : ४२
आइतबार, २८ वैशाख २०७७

जनकपुर । नवगठित जनता समाजवादी पार्टी नेपाल सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको अपहरण काण्डको अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठले आफ्नो अपहरण गरेको आरोप लगाउँदै डा. यादवले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएर सांसद डा.यादवको अपहरण भएको भन्दै तत्कालीन समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले आरोप लगाएका थिए । पार्टी फुटाउने उद्देश्यले अपहरण गर्न काठमाडौँबाट पूर्वआईजीपी खनालसहित नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ सांसद डा.यादवको घर पुगेको पार्टीको आरोप छ ।

यादवको अपहरण भएको भनिएको मध्यरातमै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन पछि सांसद डा.यादव होटल मेरियटबाट भागेर संघीय अध्यक्ष डा.भट्टराईको सम्पर्कमा गएका थिए ।

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीले अपहरण काण्ड घटनाको अनुसन्धान जनकपुरबाटै सुरु गरेको छ । प्रहरी निरीक्षक पौडेल नेृतत्वको टोलीले आइतबार जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग २ घण्टा सोधपुछ गरेको स्रोतले बताएको छ । टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर नेता यादवसँग सोधपुछ गरेको हो ।

सांसद डा.यादवले दिएको जाहेरीमा मुख्य साक्षीसमेत रहेका नेता यादवले काठमाडौँबाट आएको टोलीले अपहरण काण्ड घटनाबारे आफूलाई २ घण्टा सोधपुछ गरेको स्वीकार गरे ।

पूर्वआईजीपी सहितको टोलीले सांसद डा. यादवलाई जनकपुरबाट काठमाडौँ लग्ने क्रममा उनले सबैभन्दा पहिले बाटोबाट नेता यादवलाई फोन सम्पर्क गरेका थिए ।

यसअघि अनुसन्धान टोली शनिबार महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित गैढाभेटपुरमा रहेको सांसद डा.यादवको घर समेत पुगेको थियो । सो टोलीले सांसद डा.यादवको गाउँ पुगेर त्यहाँका स्थानीयवासीहरुसँग समेत सोधपुछ गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य सरोज यादवसहित अनुसन्धान टोली गैढाभेटपुर पुगेको सांसद डा. यादवको सालो समेत रहेका स्वकीय सचिव सञ्जय यादवले जानकारी दिए । उनले नेकपाका केन्द्रीय सदस्य सरोज यादवलाई बोकेर हिँड्ने टोलीले घटनाको सही अनुसन्धान गर्नेमा आफुलाई शंका रहेको पनि बताए ।

सो टोलीले घटनास्थलले मुचुल्कामा घटना भएको समय, मिति, स्थानको विवरण सहित अपहरण काण्डसँग सम्बन्धितसँगको बायन समावेश गरेको छ । टोलीले काठमाडौँ जाँदै गर्दा उनीहरु बसेको तथा खाना खाएको भनिएको महोत्तरीको बर्दिवासस्थित गौतम होटल पुगेर पनि मुचुल्का उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप