शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पतालका शेयर होल्डरलाई मानव अङ्ग प्रत्यारोपण केन्द्रको ‘जिम्मा’

कार्यकारी निर्देशक बनाउन स्वास्थ्य मन्त्रालयको ‘चोर बाटो’
मङ्गलबार, ३० वैशाख २०७७, १४ : १४
मङ्गलबार, ३० वैशाख २०७७

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक नियुक्त भएका डाक्टर प्रेमराज ज्ञवाली निजी अस्पतालका ठूला शेयर होल्डर भएको खुलासा भएको छ । सरकारले केही दिनअघि मात्रै मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकमा नियुक्त गरेका टिचिङ अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. प्रेम ज्ञवाली देशकै महङ्गो अस्पताल ग्रान्डी अस्पतालका प्रमुख शेयर होल्डर हुन् ।

ग्रान्डी अस्पताल सञ्चालनमा ल्याउनुअघि डा. ज्ञवाली मेडिकेयर अस्पतालमा काम गर्दथे । तर ग्रान्डी अस्पताल खुलेपछि ज्ञवाली, चक्रराज पाण्डे लगायतका व्यक्तिहरु मिलेर ग्रान्डी अस्पतालमै शेयर लगानी गरेका थिए । हाल मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक नियुक्त भएका ज्ञवाली ग्रान्डी अस्पतालका प्रमुख शेयर होल्डर हुन् ।

शिक्षा मन्त्रालय मातहतको शिक्षण अस्पतालको जागिरे भएपनि उनी गान्डी तथा ह्याम्स अस्पतालमा पनि मेडिकल प्राक्टिस गर्दछन् । ग्रान्डी अस्पतालमा मिर्गौला प्रत्यारोपण समेत गर्ने डाक्टर ज्ञवाली ह्याम्स अस्पतालमा भने उनले युरोलोजी प्राक्टिस गर्ने गरेका छन् ।

ठूलो निजी अस्पतालका शेयरहोल्डर तथा शिक्षण अस्पतालका कर्मचारीलाई सरकारले सरकारी स्वामित्वको मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरी पठाएको पाइएको छ ।

गठन आदेश नै संशोधन गरेर आफ्नालाई जागिर !

मानव अङ्ग प्रत्यारोपण केन्द्र विकास समिति ऐन अन्तर्गत गठन आदेशबाट सञ्चालित अस्पताल हो । मानव अङ्ग प्रत्यारोपण केन्द्रको गठन आदेश २०६८ सालमा बनेको भएपनि २०६९ साल वैशाख ११ गते यो आदेश पास भएको थियो । त्यसलगत्तै विधिवतरुपमा सञ्चालित यो अस्पतालमा यतिबेला भने सरकारले कानुन नै मिचेर निजी अस्पतालका शेयर होल्डरलाई नियुक्ति दिएको छ ।

मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ अनुसार यस केन्द्रमा कार्यकारी निर्देशक बन्नका लागि स्वास्थ्य सेवामा कार्यरत चिकित्सक हुनुपर्ने उल्लेख गरेको छ ।

गठन आदेशको दफा ६ मा कार्यकारी सम्बन्धी व्यवस्था गरेको छ । यस दफाको उपदफा १ मा कार्यकारी निर्देशक प्रशासकीय प्रमुख बन्ने कुरा उल्लेख गरेको छ ।

यसैगरी दफा ६ को उपदफा २ मा कार्यकारी निर्देशकको योग्यतासम्बन्धी कुरा उल्लेख गरेको छ । उपदफा २ मा लेखिएको छ, ‘नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरु मध्येबाट कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।’

यसको अर्थ मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक बन्नका लागि स्वास्थ्य सेवाकै डाक्टर हुनुपर्ने उल्लेख गरेको थियो ।

तर सरकारले भने स्वास्थ्य सेवाभन्दा बाहिर अर्थात् शिक्षा मन्त्रालय मातहत रहेको त्रिवि शिक्षण अस्पतालका डाक्टर प्रेमराज ज्ञवालीलाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको छ । यसअघि केन्द्रमा कार्यकारी निर्देशक रहेका डाक्टर पुकारचन्द्र श्रेष्ठलाई हटाएर उनको स्थानमा ज्ञवालीलाई नियुक्ति दिइएको छ । श्रेष्ठ स्वास्थ्य सेवाका ट्रान्सप्लान्ट सर्जन थिए ।

सरकारले गठन आदेश नै परिवर्तन गरी नियुक्ति दिएको हो कि गठन आदेशमा कुनै परिवर्तन नगरी कार्यकारी निर्देशक नियुक्त गरेको हो, यतिबेलासम्म स्पष्ट भएको छैन । यद्यपि स्वास्थ्य सेवाभन्दा बाहिरबाट कार्यकारी निर्देशक नियुक्त गरेपछि सरकारी डाक्टरहरुको छाता संस्था गोदानले आपत्ति जनाइसकेको छ ।

हेर्नुहोस् गोदानको विज्ञप्ति ।

यसरी स्थापना भएको थियो मानव अङ्ग प्रत्यारोपण केन्द्र

२०६५ सालसम्म नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था दयनीय नै थियो । त्यसभन्दा अगाडि २०६१ सालदेखि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम सुरु भएको भएपनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।

त्यसो त २०५५ सालमै एभरेष्ट नर्सिङ होममा मिर्गौला प्रत्यारोपणको काम सुरु भएको थियो । भारतीय चिकित्सक ल्याएर मिर्गौला प्रत्यारोपण सुरु गरिएको भएपनि त्यो त्यति प्रभावकारी थिएन ।

तर सन् २००८ अगष्टमा अष्ट्रेलियाबाट ट्रान्सप्लान्ट सर्जन ल्याएर त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको नयाँ युग सुरु गरिएको थियो । शिक्षण अस्पतालमा विधिवतरुपमा प्रत्यारोपण सुरु भएसँगै वीर अस्पतालमा पनि डिसेम्बर २००८ बाट मानव अङ्ग प्रत्यारोपणमा नयाँ युगको सुरुवात भयो ।

वीर अस्पतालका सर्जन डाक्टर पुकारचन्द्र श्रेष्ठ बेलायतमा गएर ६ वर्ष मानव अङ्ग प्रत्यारोपणसम्बन्धी अध्ययन र प्राक्टिस गरी नेपाल फर्किएपछि सरकारी अस्पतालमै प्रत्यारोपणले गति लिएको थियो । सन् २००८ डिसेम्बरबाट सुरु भएको प्रत्यारोपणको काम सन् २०१२ मा आइपुग्दा जम्मा ९९ वटामात्रै गर्न सकिएको थियो । यद्यपि ९९ प्रतिशत प्रत्यारोपण सफल भएको थियो ।

जतिबेला वीर अस्पतालमा पुकारको टिमले काम गरिरहेको थियो, त्यतिबेला वीर अस्पतालका निर्देशक थिए डाक्टर प्रविन मिश्र । वीर अस्पतालमा राम्रो ट्रान्सप्लान्ट युनिटसम्म नभएको देखेका मिश्र जब स्वास्थ्य मन्त्रालयको सचिव भए, उनकै पहलमा भक्तपुरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भयो ।

भक्तपुर अस्पतालमा गाइनो वार्ड सञ्चालनमा ल्याएको भवनमा गाइनो वार्ड नचलेपछि ताला लागेको भवनमा मानव अङ्ग प्रत्यारोपणको काम गर्ने तयारी भयो ।

त्यसका लागि स्वास्थ्य सचिवले विकास समिति बनाउन लगाए र त्यसै मातहत रहने गरी गठन आदेशबाट केन्द्रको स्थापना गराए । केन्द्रको स्थापना गरेपछि २०६९ वैशाख १८ गते डाक्टर पुकारचन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएर मिर्गौला प्रत्यारोपणको काम सुरु भयो ।

डाक्टर पुकारले वीरकै अर्का डाक्टर कल्पना श्रेष्ठ, नर्सिङ स्टाफ इन्दिरा प्रधान, डाक्टर ब्रम्हदेव झा, डाक्टर राकेश वर्मा लगायतको टोली लगेर केन्द्रलाई सञ्चालनमा ल्याए । र, एक सातामा ८ वटासम्म मिर्गौला प्रत्यारोपण गरी केन्द्रलाई सफलताको बाटोतर्फ डोहोराए ।

गत आर्थिक वर्षमा मात्रै केन्द्रले १ सय ७९ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो भने ७ वर्षको अवधिमा ६ सय ९५ वटा मानव अङ्ग प्रत्यारोपणको काम भएको थियो । पछिल्लो ४ सय ७० प्रत्यारोपणमा केन्द्रले शत प्रतिशत सफलता हात पारेको छ भने सबे बिरामीहरु डिस्चार्ज भइ नियमित दैनिकीमा फर्किसकेका छन् ।

मिर्गौलाबाहेक केन्द्रले ५ जनाको कलेजो प्रत्यारोपण पनि गरिसकेको छ । जसमध्ये कलेजो दान गर्ने तथा लिने ४ जनामा सफलता मिलेको छ भने ब्रेन डेथ भएका एकजनाको कलेजो प्रत्यारोपण गर्दा एक जनाको मृत्यु भएको थियो ।

त्यस्तै ब्रेन डेथ भएका ६ जनाको मिर्गौला निकाली प्रत्यारोपण गरिएको थियो, जो सबै अहिले आरम गरिरहेका छन् ।

विश्वभर नै मिर्गौला प्रत्यारोपणको सफलता दर करिब ९० प्रतिशत रहेको छ । छिमेकी देश भारतमा पनि मिर्गौला प्रत्यारोपणको सफलता दर करिब ९० प्रतिशत रहेको छ । तर नेपालमा भने मिर्गौला प्रत्यारोपणको सफलता दर करिब ९९ प्रतिशत रहेको देखिन्छ ।

अहिले कार्यकारी निर्देशक श्रेष्ठलाई हटाएर अहिले उनको स्थानमा स्वास्थ्य सेवाभन्दा बाहिरबाट निजी अस्पतालका शेयर होल्डरलाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

निवर्तमान कार्यकारी निर्देशक श्रेष्ठको पदावधि २०७३ सालमै सकिएको थियो । तर केही समय काम चलाउ निर्देशकको जिम्मेवारी दिएपनि उनले अर्को ४ वर्षजति काम गरे र अस्पताललाई सफल बनाएका थिए । उनीसँगै काम गरेकी डाक्टर कल्पना श्रेष्ठ पनि स्वास्थ्य सेवाकै क्षमतावान डाक्टर भएपनि उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी नदिइ शिक्षा सेवाका डाक्टरलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नुले कैयन् आशंकाहरु जन्माएका छन् ।

प्रत्यारोपण केन्द्र झन् सफल होला कि अवसानतिर जाला ?

अहिलेको अवस्था हेर्ने हो भने मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई सफल मान्न सकिन्छ । अस्पतालभित्रको आन्तरिक व्यवस्थापनका समस्या त बेलाबेलामा आएकै हो, तर प्रत्यारोपणको अवस्था हेर्ने हो भने यसलाई अत्याधिक सफल मान्न सकिने अवस्था थियो ।

प्रमुख ट्रान्सप्लान्ट सर्जन डाक्टर पुकारचन्द्र श्रेष्ठ बेलायतमा ६ वर्षसम्म ट्रान्सप्लान्ट सम्बन्धी अध्ययन र मेडिकल प्राक्टिस गरेका चिकित्सक हुन् । बंगलादेशबाट एमबीबीएस, वीर अस्पतालबाट एम एस र बेलायतबाट एमआरसिएस गरेका डाक्टर पुकार तिनै डाक्टर हुन् जसले नेपालमै कलेजो प्रत्यारोपणको सुरुवात गराए र सफलता पनि हात पारे ।

त्यसो त त्रिवि शिक्षण अस्पतालका डाक्टर प्रेम ज्ञवाली पनि करिब १२ वर्षदेखि मानव अङ्ग प्रत्यारोपणमै संलग्न चिकित्सक हुन् । रुसबाट एमबीबीएस गरेका उनले मानव अङ्ग प्रत्यारेपण सम्बन्धमा सिंगापुरमा एक वर्षको फेलोसिप गरेका थिए । अष्ट्रेलियाबाट मानव अङ्ग प्रत्यारोपणका चिकित्स ल्याएर शिक्षण अस्पतालमा उनकै पहलमा मानव अङ्ग प्रत्यारोपणको सुरुवात भएको थियो ।

तर चिकित्सक हुनु र प्रशासक हुनु एउटै कुरो होइन । चिकित्सकसँगै प्रशासक हुनु जटिल विषय हो र व्यवस्थापन गर्न सकिएन भने त्यसले समस्या मात्रै निम्त्याउन सक्छ ।

त्यसमाथि गठन आदेश विपरीत (परिवर्तन गरिएको पनि हुनसक्ने) नियुक्ति गर्दा यदि सफलता पाउन सकिएन भने त्यसले बदनामी मात्रै गराउन सक्छ ।

ग्रान्डीमा प्रत्यारोपण बढाउने खेल त होइन ?

त्यसो त कतिपयले अब ग्रान्डी अस्पतालमा मिर्गौला प्रत्यारोपणको सङ्ख्या बढ्ने अनुमान पनि गर्न थालेका छन् । किनभने डाक्टर प्रेम ज्ञवाली ग्रान्डी अस्पतालका प्रमुख लगानीकर्तामध्ये एक रहेको अवस्थामा अब भक्तपुरमा आउने बिरामीलाई ग्रान्डीमा पठाउने त होइन भन्ने आशंकाहरु पनि जन्मन थालेका छन् ।

अहिले ग्रान्डी अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउन कम्तीमा पनि १५ लाख रुपैयाँ खर्च हुन्छ । निजी अस्पतालका लागि त्यो रकम ठूलो रकम हो र निजी अस्पतालको सञ्चालन खर्च तथा नाफा यस्तै प्रकृतिको उपचारमा निर्भर रहन्छ ।

केन्द्रमा प्रत्यारोपणको चाप बढेको अवस्थामा छिटो चाहिने बिरामीलाई ग्रान्डी अस्पतलमा पठाउन ज्ञवालीलाई कुनै समस्या हुँदैन । त्यसकारण अब कतै केन्द्रमा प्रत्यारोपणको सङ्ख्या घट्दै ग्रान्डीमा बढ्ने वा बढाउने नियत त होइन भन्ने सवालहरु पनि देखिन थालेका छन् ।

दिव्या सिंहको योजनामा ज्ञवालीको इन्ट्री

सरकारी सेवाका चिकित्सकहरुले प्रेम ज्ञवालीको इन्ट्रीलाई दिव्या सिंहको योजना रहेको आरोप लगाएका छन् । सरकारी स्वास्थ्य सेवाका एक चिकित्सकले भने, ‘यसअघि प्रधानमन्त्रीको प्रत्यारोपणमा सफलता भन्दै दिव्याको समूहले ज्ञवालीलाई मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लैजान धेरै दौडधूप गरेको थियो । जबकि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतबाट डाक्टर अनन्त कुमारसहित ३ जनाको टोली पनि नेपाल आएको थियो । तर प्रधानमन्त्रीलाई फकाएर विष्णु रिमालमार्फत् दिव्या सिंहले चलखेल गरेर ज्ञवालीलाई कार्यकारी निर्देशक बनाइएको छ । यो हालको कानुनको बर्खिलापमा छ र हामी सरकारी चिकित्सकहरु यसको बिरुद्धमा अगाडि बढ्दैछौँ ।’

ती सरकारी डाक्टरका अनुसार निजी अस्पताललाई पोस्नका लागि र आफ्ना कार्यकर्ता भर्ती गर्नकै लागि केन्द्रमा स्वास्थ्य सेवाभन्दा बाहिरबाट निर्देशक ल्याइएको हो । ‘अब दिव्या सिंहले टिचिङ अस्पताल र प्रेम ज्ञवालीले प्रत्यारोपण केन्द्रबाट ग्रान्डी अस्पतालमा बिरामी पठाएर प्रत्यारोपणको काम गर्नेछन् । यसको नतिजा केही महिनामै देखिन थाल्नेछ,’ ती चिकित्सकले भने ।

भारतभन्दा सस्तोमा प्रत्यारोपण, सरकारले दिन्थ्यो सोधभर्ना

अहिले नेपालमा मिर्गौला प्रत्यारोपण गर्नका लागि करिब ५ लाख रकम भए पुग्थ्यो । जबकि यसअघि भारतमा गएर मिर्गौला प्रत्यारोपण गराउन ४० देखि ५० लाखसम्म लाग्ने गर्दथ्यो ।

नेपालमा प्रत्यारोपण गर्दा ५ लाख खर्च हुने भएपनि ४ लाख रुपैयाँ सरकारले नै सोधभर्ना दिने गरेको थियो ।

नेपालमा सफलताको दर उच्च रहेको र भारतमा भन्दा सस्तोसमेत भएको कारणले भारतबाट समेत मानिसहरु नेपालमा मिर्गौला प्रत्यारोपणका लागि आउने गरेका थिए । भारतीय नागरिकका लागि केन्द्रले ५ लाख भारतीय रुपैयाँ अर्थात् ८ लाख नेपाली रुपैयाँमा मिर्गौला प्रत्यारोपण गर्ने गरेको थियो । अब यो गति बढ्नेछ वा घट्नेछ, त्यो भने हेर्न नै बाँकी छ ।

ज्ञवालीले गरे पदबहाली, श्रेष्ठले चिठी नै पाएनन्

स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकको नियुक्ति दिएर पठाएपछि शिक्षण अस्पतालका डाक्टर प्रेम ज्ञवालीले सोमबार नै केन्द्रमा पुगेर आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । यद्यपि स्वास्थ्य मन्त्रालयले भने सोमबार साँझसम्म केन्द्रका तत्कालीन निर्देशक श्रेष्ठलाई हटाएको बारे पत्र दिएको छैन ।

सोमबार साँझ रातोपाटीले सम्पर्क गर्दा नयाँ व्यक्ति नियुक्त गरिएको बारे आफूले पनि सुनेको तर आफूलाई हटाएको वा काज फिर्ता गरेको बारे कुनै पत्र नदिएको बताए । श्रेष्ठले भने, ‘नयाँ मान्छेलाई नियुक्त गरेको भन्ने सुनेको छु । तर मेरो सम्बन्धमा अहिलेसम्म पत्र पाएको छैन । त्यसकारण अहिले नै के भएको हो भनेर भन्न सक्ने अवस्थामा म छैन ।’

यस विषयमा डा. प्रेमराज ज्ञवालीलाई उनको मोबाइल नम्बरमा फोन तथा एसएमएसको माध्यमबाट सम्पर्क गर्दा फोन उठाएनन् । उनीसँग सम्पर्क भएपछि उनको भनाइ पनि समावेश गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप