शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा ७२ जनामा कोरोना संक्रमण, एकैदिन २ पत्रकारसहित ४० जना संक्रमित थपिए

मङ्गलबार, ३० वैशाख २०७७, १६ : ४६
मङ्गलबार, ३० वैशाख २०७७

जनकपुरधाम । प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

संक्रमितमा दुई जना पर्साका पत्रकार रहेको खुलेको छ । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 

सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले केही खुकुलो बनाउँदै गएको बेला आज एकै पटक ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा पर्साका ३९ र बाराका १ जना रहेका छन् । 

 जिल्ला प्रशासन कार्यलय पर्साका अनुसार आज थपिएका संक्रमितमा वीरगन्ज महानगरपालिकास्थित वडा नम्बर १, २ र ३ तथा छिपहरमाई गाउँपालिकाका स्थानीयबासी रहेका छन् । 

 यस्तै त्यस्तै बाराका संक्रमित विश्रामपुर गाउँपालिका वडा नम्बर ३ का हुन् । बाराका संक्रमित १४ वर्षीय किशोर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए ।

योसंगै प्रदेश नम्बर २ मा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ६४, बारामा ३, रौतहट ३, सर्लाहीमा १ र सप्तरी १ गरी जम्मा अहिलेसम्म ७२ जनामा कारोना संक्रमण पुष्टि भएको  सूचना अधिकारी  झाले जानकारी दिए ।

प्रदेश नम्बर २ पछि प्रदेश नम्बर ५ मा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर संक्रमितको संख्या १९१ पुगेको छ । ती मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप