शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको कहरबीच फ्रन्टलाइनमा तीन पेशाकर्मी अनवरत ड्युटीमा, कसरी गरिरहेका छन् काम ?

बिहीबार, ०१ जेठ २०७७, १७ : १४
बिहीबार, ०१ जेठ २०७७

काठमाडौं । विश्वव्यापी महामारी ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरसको संक्रमण नेपालमा पनि विस्तारै बढ्न थालेको छ । समुदायस्तरमा संक्रमित फेला पर्न थालेको अवस्थामा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी स्वाभाविक रुपमा संक्रमणको जोखिममा पर्न थालेका छन् ।

प्रारम्भिक चरणमा विदेशबाट आएकाहरुमा संक्रमण देखिने गरेकोमा समुदायस्तरमा संक्रमण फैलन थालेसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसमेत संक्रमित हुन थालेका घटना प्रकाशमा आइरहेका छन् । यस्तो अवस्थामा यी क्षेत्रमा कार्यरत जनशक्तिले पेशागत कर्तव्यपालनका अतिरिक्त आफूलाई सुरक्षित तुल्याउने चुनौती पनि सामना गर्नुपरिरहेको छ ।

नर्सिङ काउन्सिलका अध्यक्ष गोमा निरौला श्रेष्ठ कोरोना संक्रमणविरुद्ध अहिले युद्धकै अवस्था रहेको र यस्तो युद्धमा स्वास्थ्यकर्मी फ्रन्टलाइनमा रहेर लड्नुपरिरहेको बताउँछिन् ।

‘चिकित्सकभन्दा पनि अझ नसै बढी जोखिममा छन्,’ उनले भनिन्, ‘चिकित्सकहरुले त संक्रमितको पहिचान भइसकेपछि आवश्यक सावधानी र सतर्कता अपनाएर उपचारमा खटिने हो,’ उनले भनिन्, ‘नर्सले त बिरामी हो या होइन भनेर छुट्याउने क्रमदेखि बिरामी पहिचान भएर उपचारका लागि राखुन्जेलसम्म हेरचाह गर्नुपर्ने हुन्छ । अझ बिरामीका आफन्त पनि आउँछन् उनीहरुसँग पनि सम्पर्क गर्नुपर्ने हुन्छ ।’

photo : http://www.swasthyakhabar.com/story/24531

जतिमात्रामा सुरक्षाका साधनहरु उपलब्ध हुनुपर्ने हो, त्यो हुन नसकेको उनको भनाइ छ । ‘पिपिई, मास्क, पञ्जालगायतका सुरक्षा साधनहरु खरिद भएको छ, कतिपय सामान आइरहेका छन्,’ उनले भनिन्, ‘तर जुन मात्रामा उपलब्ध हुनुपर्ने हो, त्यो अझै हुन सकेको छैन, जोखिम मोलेरै भए पनि स्वास्थ्यकर्मीले यो महामारीको अवस्थामा आफ्नो दायित्व निर्वाह गर्नुपरिरहेको छ ।’

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमा संक्रमणको जोखिम बढ्ने खतरा देखिए पनि सावधानी अपनाएर काम गरिरहेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको सुझावलाईसमेत समेटेर प्रहरीले ड्यटीमा जाँदा के गर्ने र के नगर्ने भनेर मातहतका इकाइलाई निर्देशन जारी गरेको उनको भनाइ छ । ‘फिल्डमा कसरी काम गर्ने, कार्यालय कसरी सुरक्षित राख्ने, कर्मचारी कसरी सुरक्षित रहने भनेर निर्देशिका जारी गर्दै सबैतिर पठाएका छौं,’ रातोपाटीसँग उनले भने, ‘ड्युटीमा खटिनेहरुका लागि मास्क, पञ्जा लगायतका सुरक्षाका सामग्री सकेसम्म उपलब्ध गराएका छौं ।’

बिदा सकेर ड्युटीमा आउनेहरुको हकमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको उनले बताए । संक्रमण भइहालेको अवस्थामा आइसोलेसनमा राख्नेदेखि लिएर उपचारका लागि आवश्यक व्यवस्थासहित दुईसय बेड तयार पारेको उनको भनाइ छ ।

सामान्य अवस्थामा ड्युटी निर्वाहका क्रममा प्रहरीले संक्रमणबाट जोगिनका लागि सतर्कता अपनाउने गरेको भए पनि भीडभाडसहितका विरोध प्रदर्शन लगायतका गतिविधि भएको अवस्थामा सामाजिक दूरी पालना गराउने दायित्वसमेत प्रहरीले नै निर्वाह गर्नुपर्दा केही असहज अवस्था आउने गरेको प्रवक्ता शाही बताउँछन् ।

‘भीड जम्मा भएपछि पुलिसले यसरी जम्मा नहुनुस् भनेर रोक्नै पर्छ,’ उनले भने, ‘बेलाबखत विभिन्न बहानामा जम्मा हुने भीड नियन्त्रण गर्न खटिदा व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गर्न कहीँ कतै त्रुटी भएमा ठूलो जोखिम हुनसक्छ ।’

विश्वव्यापी महामारी र यसका जोखिमलाई ध्यानमा राखेर विश्वका ठूला मुलुकले समेत लकडाउन गरेको अवस्थामा सामाजिक दूरी बनाउनु नै सुरक्षाको भरपर्दो उपाय हुने उनले बताए । विरोध गर्नु, जुलुस निकाल्नु संवैधानिक अधिकार भए पनि अहिलेका लागि त्यस्ता गतिविधिका लागि उपयुक्त समय नहुने भन्दै उनले भीडभाडयुक्त गतिविधि आयोजना गर्नेहरुले पनि यसको गम्भीरतालाई बुझ्नुपर्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ पनि सम्भावित जोखिमप्रति चनाखो रहेर ड्युटी निर्वाह गरिरहेको बताउँछन् । ‘फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई अहिलेको अवस्था चुनौतीपूर्ण छ,’ उनले भने, ‘यही चुनौतीलाई सामना गर्दै सुरक्षित रुपमा दायित्व निर्वाह गर्नुपर्छ ।’

फिल्डमा खटिने सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राख्ने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको र सुरक्षाका आवश्यक साधनहरु उपलब्ध गराइएको उनले बताए ।

पछिल्लो समय सञ्चारकर्मीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । समाचार संकलनका लागि फिल्डमा खटिने सञ्चारकर्मीको सुरक्षामा देखा परेको यो जोखिमलाई नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल ‘अहिलेसम्मकै सर्वाधिक समवेदनशील अवस्था’ बताउँछन् ।

‘सञ्चारकर्मीका लागि यति व्यापक मात्रामा जोखिम कहिल्यै थिएन, यो पेशामा लागेका जति पनि साथीहरु हुनुहुन्छ, पेशागत जिम्मेवारी निर्वाहका क्रममा यो जोखिमको सामना गर्नैपर्ने अवस्था देखिएको छ,’ रातोपाटीसँग उनले भने, ‘सामाजिक दूरी, सुरक्षाका विभिन्न उपाय अपनाएर जनतालाई सुसूचित गर्ने जिम्मेवारी निर्वाह गर्नु परेको अवस्था छ ।’

सुरक्षाका लागि योमात्र पर्याप्त नभएको दृष्टान्तहरु देखा परेको भए पनि कर्तव्य पालनामा खटिनुको विकल्प नरहेको उनको भनाइ छ । ‘जताततै जोखिम छ, आफू जोगिएर, परिवारलाई जोगाएर जनतालाई सुसूचित गर्ने दायित्व निर्वाह गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘फिल्डमा मात्र होइन, मिडिया हाउसमै पनि जोखिम रहन्छ ।’

पत्रकारका सुरक्षाका लागि भनेर मिडिया हाउसमा सुरक्षाको उचित प्रवन्ध नभएको उनले बताए । ‘अनलाइन, छापा माध्यममा काम गर्ने पत्रकारले घरबाटै आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने भए पनि फोटोग्राफर, फिल्डमै पुग्नुपर्ने रिपोर्टर, स्टुडियोमै पुग्नुपर्ने रेडियो तथा टेलिभिजनकर्मीले जोखिममुक्त अनुभूति गर्न पाएका छैनन्,’ उनले भने ।

व्यक्तिगत सुरक्षाका लागि पीपीई, मास्क, पञ्जा, सेनिटाइजर लगायतका साधन उपलब्ध गराएको खण्डमा फिल्डमा खटेर काम गर्ने सञ्चारकर्मीको आत्मबल बढ्ने जिकिर गर्दै उनले यसतर्फ मिडिया हाउस, सरकार लगायतका जिम्मेवार सबैले ध्यान दिनुपर्ने बताए ।

यस्तो अवस्थामा सुरक्षाका लागि जे–जस्ता स्रोत–साधन उपलब्ध छन्, तिनकै प्रयोगबाट जोखिम मोलेरै भए पनि फिल्डमा खटिएर सञ्चारकर्मीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको सचिव दाहाल बताउँछन् । उनले भने, ‘यसरी काम गर्दा प्रोत्साहन गर्नु त परै जावस्, कतिपय मिडिया हाउसमा सञ्चारकर्मीले नियमित पारिश्रमिकसमेत नपाएको, जबर्जस्ती बिदामा राखिएको, पारिश्रमिक कटौती गरिएको भन्नेजस्ता गुनासो आएका छन्, यो दुर्भाग्यपूर्ण अवस्था हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप