शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको त्रासबीच दैनिक तीन सय बिरामीलाई सेवा दिँदै भक्तपुर क्यान्सर अस्पताल, सरकारको सहयोग शून्य

आवश्यक सुरक्षा उपकरण छैन, संक्रमण बढेपछि डराउन थाले डाक्टर
शुक्रबार, ०२ जेठ २०७७, ०९ : ०६
शुक्रबार, ०२ जेठ २०७७

बिरामीमा ज्वरोको मात्रा एक सय एक डिग्री फरेनहाइटकै हाराहारीमा छ । कतिपय बिरामीमा त्यो भन्दा बढी समेत ज्वरो आएको छ । तर पनि भक्तपुर क्यान्सर अस्पतालका डाक्टर र नर्सहरु बिरामीलाई सेवा दिइरहेका छन् ।

तस्विरमा देखिएकी एक स्वास्थ्यकर्मी क्यान्सर रोगीको अल्ट्रासाउण्ड गराइरहेकी छिन् । तर उनको मुखमा सामान्य प्रकृतिको मास्क र हातमा पञ्जा मात्रै छ । यदि बिरामीलाई कोरोना संक्रमण भएको रहेछ भने ती स्वास्थ्यकर्मीलाई पनि सर्ने सम्भावना रहन्छ । तर पनि ती स्वास्थ्यकर्मी सिमित सुरक्षा उपायबीच बिरामीको उपचारमा तल्लिन छिन् ।

अर्को तस्विरमा अस्पतालमा अर्को एक क्यान्सर बिरामीलाई केमोथेरापी दिइँदैछ । एकजना स्वास्थ्यकर्मीले गुणस्तरीय मास्क लगाएको भएपनि उनीसँग पीपीई भने छैन । अर्का स्वास्थ्यकर्मीसँग त गुणस्तरीय मास्कसमेत छैन । यदि ती बिरामीमा कोरोना संक्रमण भएको अवस्थामा ती स्वास्थ्यकर्मीलाई पनि संक्रमण हुने सम्भावना प्रचुर छ ।

उपचारमा संलग्न डाक्टर तथा नर्सहरुसँग पर्याप्त मात्रामा सुरक्षित स्वास्थ्य सामग्री छैन । केही स्वास्थ्यकर्मीसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट अर्थात् पीपीई भएपनि अधिकांश स्वास्थ्यकर्मीसँग सुरक्षा पोशाक र अन्य उपकरण छैन । तैपनि भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ३ सय क्यान्सर रोगीहरुको उपचार, केमोथेरापी तथा रेडियोथेरापी भइरहेको छ ।

सरकारी स्वामित्वको जग्गामा रहेको भएपनि भक्तपुर क्यान्सर अस्पताल पूर्ण सरकारी अस्पताल भने होइन । बेला बेलामा नेपाल सरकारले आर्थिक सहयोग गर्ने गरेको भएपनि आफ्नै आम्दानीको भरमा यो अस्पताल चलिरहेको छ । 

सरकारले कोरोना रोगसँग लड्न अरबौँ रकम छुट्टाएको भएपनि हालसम्म भक्तपुर क्यान्सर अस्पतालले भने कोरोनाबाट बच्न कुनै स्वास्थ्य उपकरण वा रकम पाएको छैन । यद्यपि अस्पतालले आफै मास्क तथा स्यानिटाइजर बनाउनुका साथै विभिन्न संघ संस्थासँग मागेर स्वास्थ्य उपकरण ल्याई सेवा दिइरहेको छ । अहिले अस्पतालले दैनिक ३ सय जना क्यान्सर रोगीको उपचार गरिरहेको छ ।

अस्पतालका निर्देशक डाक्टर ऋषिकेश श्रेष्ठले नेपाल सरकारबाट कोरोनाबाट सुरक्षित हुनका लागि हालसम्म कुनै सुविधा वा उपकरण प्राप्त गर्न नसकिएको गुनासो गरे । उनले भने, ‘राज्यले कोरोनाबाट बच्नका लागि अरबौँ रकम खर्च गरिरहेको छ । तर भक्तपुर क्यान्सर अस्पतालले हालसम्म कुनै सुविधा प्राप्त गरेको छैन । हामी जोखिम मोलेर नै क्यान्सर बिरामीलाई सेवा दिइरहेका छौँ ।’

क्यान्सर लागेका र केमोथेरापी तथा रेडियोथेरापी गरिरहेका बिरामीलाई ज्वरो आउनु सामान्य नै मानिन्छ । ज्वरो आएपछि पहिले अन्य अस्पतालमा केमोथेरापी गराइरहेका बिरामीहरु पनि अहिले ती अस्पतालले उपचार गर्न नमानेपछि भक्तपुर क्यान्सर अस्पताल पुग्ने गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर ऋषिकेश श्रेष्ठ भन्छन्, ‘पहिले अरु अस्पतालमा उपचार गराइरहेकाहरु पनि अहिले भक्तपुरमा आउने गरेका छन् । निजी अस्पतालले उपचार गराउनै नमानेपछि उनीहरु यता आएका हुन् । उनीहरुका लागि कोरोनाभन्दा ठूलो त क्यान्सर नै हो । त्यही भएर हामीले पनि उनीहरुलाई सेवा दिनुको विकल्प छैन ।’

अहिले अस्पतालले दैनिक करिब ३ सय जना बिरामीलाई सेवा दिइरहेको छ । अहिले दैनिक औसत ओपिडीमा १ सय ५० जना, भर्ना भएका बिरामी ७० जना, डे केयरमा २० जना र रेडिएसनमा ५७ जना रहेको अस्पतालले जनाएको छ ।

संक्रमण बढेपछि डाक्टर नै डराउन थाले

कोरोना भाइरसको संक्रमण दर बढेसँगै अहिले डाक्टरहरु पनि डराउन थालेको अस्पतालका निर्देशक डाक्टर ऋषिकेश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पहिले त निजी अस्पतालले ओपिडी लगायतका सबै सेवा बन्द गर्दा पनि हामीले सेवा दिइरहेका थियौँ । तर जब संक्रमणको दर बढ्यो र काठमाडौंमा पनि संक्रमण देखिन थाल्यो, अहिले भने डाक्टरहरु डराउन थालेका छन् । पीपीई नभई उपचारमा संलग्न हुन नसक्ने भन्दै डाक्टरहरुले गुनासो गर्न थालेका छन् । अबचाहिँ कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’

क्यान्सर रोगीको उपचारमा संलग्न डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले अब उपचारमा आउने बिरामीको कम्तीमा -यापिड परीक्षण हुनुपर्ने माग गर्न थालेका छन् । बिरामीसँग प्रत्यक्ष जोडिएर उपचार गर्नुपर्ने र ज्वरो आइरहने भएकाले रेडिएसनका कारणले हो वा कोरोनाको कारणले भनेर छुट्याउन पनि कठिन हुने भएकाले खतरामै काम गर्नु परिरहेको अस्पतालका अर्का चिकित्सकले बताए । संक्रमणको दर बढेको कारण अब पीपीई, एन ९५ मास्क, स्यानिटाइजर, सुज कभर, फेस सिल्ड लगायतका उपकरण नभइ काम गर्न सक्ने अवस्था नरहेको ती चिकित्सकले बताए ।

सरकारसँग सहयोगको आग्रह

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश श्रेष्ठले उपचारमा संलग्न डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘सरकारले आइसोलेसनका नाममा निजी अस्पताललाई समेत सहयोग गरेको छ । तर सामुदायिक तवरबाट चलेको क्यान्सर अस्पतालले भने अहिलेसम्म सरकारबाट कुनै सहयोग पाएको छैन । हाम्रा स्वास्थ्यकर्मीसँग पीपीईसमेत छैन । यस्तो अवस्थामा रेडियोथेरापी, केमोथेरापी र अप्रेसन कसरी गर्ने ? म सरकारलाई आग्रह गर्छु यो अस्पताललाई पनि कोरोनासँग लड्न सहयोग गरोस् ।’

सुरक्षित नभए हजारौँ क्यान्सर रोगीले सेवा नपाउने जोखिम

काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएपछि भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीहरु पनि डराउन थालेका छन् । पहिले दैनिक १ सय ५० जनाको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिले दैनिक ३ सय जनालाई उपचार दिनुपरेको छ । अझै अस्पतालमा आएका सबै बिरामीलाई सेवा दिन सकिरहेको छैन । तर जब संक्रमितको सङ्ख्यामा वृद्धि भयो र डाक्टरहरु नै सुरक्षित भएनन् भने बिरामीले उपचार पाउने सम्भावना ज्यादै कम हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षा प्रमुख हुने निर्देशक श्रेष्ठले बताए ।

उनले भने, ‘यदि स्वास्थ्यकर्मी नै ढुक्क हुन सकेनन् भने राम्ररी सेवा दिन पनि सकिँदैन । यस्तो अवस्थामा हजारौं क्यान्सरका रोगीहरु उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । त्यसकारण डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको सुरक्षा पहिलो आवश्यकता हो । तर हामीसँग न सुरक्षाका उपकरणहरु पर्याप्त छन् न त डाक्टर तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण नै भएको छ । हामीले काठमाडौं मात्रै नभएर बाहिरबाट आएका बिरामीलाई पनि सेवा दिनैपर्छ । अन्य क्षेत्रमा फैलिएको अवस्थामा अब हामीले कसरी सेवा दिने भनेर छलफलमा छौँ । स्थिति केही जटिल बन्दै गइरहेको छ ।’

यद्यपि आफूहरु सुरक्षित भएर सेवा दिने कोशिस गरिरहेको श्रेष्ठले बताए । स्थानीय प्रशासन, संघ संस्था आदिसँग सहयोग मागेर अहिलेसम्म काम गराइरहेको समेत उनले बताए । तर फिभर क्लिनिकमा एक सय डिग्रीभन्दा बढी ज्वरो देखिएको बिरामीलाई कसरी उपचार गर्ने भन्नेमा छलफल भइरहेको श्रेष्ठले बताए । उनले भने, ‘उपचार गराइरहेका बिरामीमा १ सय १ डिग्रीसम्म ज्वरो आउँछ । तर त्यो रेडिएसनले ल्याएको ज्वरो हो कि कोरोनाले हो भनेर कसरी थाहा पाउने ? त्यसकारण सरकारले कमसेकम -यापिड परीक्षणको व्यवस्था गरिदियोस् भन्ने हाम्रो आग्रह हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप