शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीहरु भन्छन्, ‘कार्यान्वयनमा गए दक्षिण एशियाकै उत्कृष्ट’

नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रको समर्थन, कार्यान्वयनमा आशंका
शुक्रबार, ०२ जेठ २०७७, २१ : १७
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौँ । यतिखेर मुलुकमा बजेटको तयारी चलिरहेको छ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि छलफल चलिरहेको छ । गत बुधबार बजेटमाथिको सिद्धान्त तथा प्राथमिकताको छलफल सकेको संसदले आज शुक्रबार बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा कोरोनाको विषम परिस्थितिबाट सिर्जित समस्याहरुलाई सम्बोधन गर्ने गरी रोग, भोक र वेरोजगारी समस्यालाई समेट्ने र दीर्घकालीन अर्थतन्त्र सुधारका कार्यक्रमहरु प्रस्तुत भएका छन् । कोरोनाको संक्रमणकाबीच आउदै गरेको बजेटले रोग र भोकसँग लडिरहेको जनता र आर्थिक दुरदशासँग लडिरहेको मुलुक दुबैको समस्या सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याएको सरकारको भनाइ छ ।

यता, यस्तो विषम परिस्थितिमा आएको बजेटको नीति तथा कार्यक्रम पनि परम्परागत शैलीबाट मुक्त हुन नसकेको विज्ञहरु आरोप छ । अहिलेको विषम परिस्थितिमा प्राथमिकताका आधारमा समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको भनिएतापनि उक्त कार्यक्रमले आवश्यक प्राथमिकताको क्षेत्र पहिचान गर्न नसकेको विज्ञहरुको आरोप छ ।

विशेषतः अहिलेको समयमा स्वास्थ्य, शिक्षा, खाद्य, श्रम रोजगारी र उत्पादनको क्षेत्रमा विशेष रुपले नीति तथा कार्यक्रम केन्द्रित हुनु पर्नेमा यी क्षेत्रको प्रारम्भिक योजना बनाइएपनि स्पष्ट्र खाका भने नभएको अर्थविद्हरुको भनाइ छ । प्राथमिकताका आधारमा सरकारले यस पटक अन्य (वितरणमुखी) क्षेत्रलाई थाति राख्दै भनेपनि तत्तत् क्षेत्रको सम्बोधनमा लाग्नु पर्नेमा त्यसो हुन नसकेको उनीहरुको भनाइ छ ।

यद्यपि, उद्योग व्यवसायी तथा निजी क्षेत्रहरुले भने सरकारको नीति तथा कार्यक्रम स्वागत योग्य नै भएको तर्क गरेका छन् । अहिलेको समयमा समेट्नु पर्ने र सम्बोधन गर्नु पर्ने प्राथमिक क्षेत्रलाई सरकारले सम्बोधन गरेको भन्दै उद्योग व्यवसायीहरुले नीति तथा कार्यक्रमको समर्थन जनाएका छन् । तर नीति तथा कार्यक्रम राम्रो हुँदा हुँदै पनि बजेटमा समेटिने र कार्यान्वयनमा जानेमा उद्योग व्यवसायीहरु विश्वस्त हुन सकेका छैनन् ।

हेरौं निजी क्षेत्रको धारणा के छः

कार्यान्वयमा गए दक्षिण एशियाकै उत्कृष्ट 

राजेशकाजी श्रेष्ठ, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स

सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि जुन किसिमको नीति तथा कार्यक्रम ल्याएको छ यो एकदम राम्रो छ । कोरोनाको विषम परिस्थितिमा प्राथमिकताका आधारमा केही विशेष क्षेत्रलाई विशेष तरिकाले नै आर्थिक राहत प्याकेजका नछुट्याएपनि समग्रमा राम्रो छ । अहिलेको समयमा एक दुई वटा मात्र होइन सबै क्षेत्र कोरोबाट प्रभावित छ । त्यसैले हामीलाई समेटेन, हाम्रो मुद्दा उठाएनभन्दा पनि आवश्यकताका हिसाबले स्वास्थ्य, शिक्षा, कृषि रोजगारीमा जुन तरिकाले सरकारले समेटेको छ । त्यसमा हामी खुशी नै छौँ । कृषिमा त झन् अझ सरकारले विशेष जोड दिएको छ । यो हाम्रो मुद्दा पनि थियो । यस मानेमा हामी सरकारको नीति तथा कार्यक्रमा सकारात्मक छौँ ।

तर सफलता असफलता भन्ने कुरा कार्यान्वयनमा भर पर्छ । यदि यो नीति तथा कार्याक्रम कार्यान्वयनमा गए दक्षिण एशियाकै उत्कृष्ट अर्थतन्त्र बोकेको मुलुक बन्छ । तर त्यो अबको बजेटले देखाउँछ । यी नीति तथा कार्यक्रमले बजेटमा प्राथमिकता पाए सफल हुन्छ नत्र त्यस्तै हो ।

अहिले विश्व नै कोरोनाका कारण संकटमा परेको बेला अर्थतन्त्रको सुधार गर्ने भनेको आन्तरिक स्रोतबाट हो । जुन सराहनीय छ । तर यसो भन्दैमा फेरि पनि करको दर बढाउने चेस्टा गर्न हुँदैन । नत्र यसले समस्या ल्याउँछ । अर्को भनेको कोरोनाका कारण अर्को वर्ष नै करिब ५ लाख युवाहरु वैदेशीक रोजगारी गुमाएर स्वदेश फर्किदैछन् । उनीहरुसँगै मुलुकको करिब २० प्रतिशतको रेमिट्यान्स गुम्दै छ । यी समस्यालाई समेत सम्बोधन गर्ने गरी बजेटमा समेट्नुपर्छ ।

औद्योगिक तथा पूर्वाधार क्षेत्रमा लगानी बढाउने सरकारको नीति सराहनीय छ

शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ

सरकारको नीति तथा कार्यक्रममा मेरो त्यति धेरै टिप्पणी छैन । तर केहि विशेष क्षेत्रहरुलाई प्राथमिकताका आधारमा समेटिनु पर्ने थियो, त्यसो हुन सकेजस्तो लागेन । त्यो समग्रमा आएपनि प्राथमिकताका आधारमा केन्द्रित गरेर समेट्न नसके जस्तो लाग्यो । जस्तो कि अहिलेको समयमा स्वास्थ्य, शिक्षा, रोजगारी र उत्पादनका क्षेत्रमा विशेष कार्यक्रम चाहिन्थ्यो । निजी क्षेत्रमा विशेष उत्थानका कार्यक्रमहरु आउनु पथ्र्यो त्यो स्पष्ट भएन । तर जुन खालाको तयारी सरकारले गरेको छ । यसलाई नराम्रो भन्न चाहिँ मिल्दैन । साना, घरेलु तथा मझौला उद्योगहरुलाई प्रत्साहन गर्ने, औद्योगीक, भौतिक पूर्वाधार तथा दीर्घ परियोजनका आयोजनालाई निरन्तरता दिने कुरा सराहनीय छ । मुलुकको अर्थतन्त्र सुधारमा आन्तरिक स्रोत साधनको परिचालन गर्नुपर्ने आजको आवश्यकता हो । जुन कुरा सरकारले अघि सारेको छ यसमा हाम्रो पूर्ण समर्थन छ । त्यस्तै कोरोनाबाट प्रभावित क्षेत्रलाई उत्थान गर्दै उत्पादनमा जाने, कृषिलाई विशेष प्राथमिकताका साथ अघि बढाउने, बेरोजगारी समस्यालाई सम्बोधन गर्ने विषयमा हाम्रो ऐक्यबद्धता छ ।

नीति तथा कार्यक्रमप्रति हामी उद्योग व्यवसायीहरु उत्साही छौँ

उमेशप्रसाद सिंह कार्यबाहक अध्यक्ष, लघु, घरेलु तथा साना उद्योग महासंघ

अहिलेको विषम परिस्थितिमा आवश्यक तथा र प्राथमिकताको स्प्रिटमा आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम आएको छ । यसबाट हामी उद्योग व्यवसायीहरु उत्साही छौँ । नीति तथा कार्यक्रमले हामी लघु, घरेलु तथा साना उद्योग व्यवसायीहरुलाई पनि प्राथमिकताका साथ समेटेको छ । कृषि, लघु, घरेलु तथा साना उद्योगीहरु प्रत्साहन गर्दै उत्पादनमा जोड दिनुका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुको मुद्दालाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । यो कार्यक्रम बजेटमा समेटिए धेरै राम्रो हुन्छ । यदि समेटिएन भने देश, जनता र हामी व्यवसायी सबै प्रति गद्दारी हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप