शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८० प्रतिशतले आयात घट्यो, लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन

कुन भन्सारको अवस्था कस्तो छ ?
शनिबार, ०३ जेठ २०७७, १० : ५८
शनिबार, ०३ जेठ २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष सरकारलाई राजस्व सङ्कलनमा गम्भीर धक्का लाग्ने भएको छ । गत वर्षहरुमा लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न नसकेको सरकारले यसवर्ष जसरी पनि लक्ष्य भेट्टाई छाड्ने संकल्प गरेपनि त्यो  कोरोनाका कारण पुनः विफल हुने भएको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ मा झण्डै सवा खर्ब अर्थात् ११ खर्ब ७० अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलनको लक्ष्य राखेको सरकारले १० महिनामा ५४.५६ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।

महालेखा नियन्त्रण कार्यालका अनुसार चालु आर्थिक वर्षको १० महिनामा कर र गैरकर बापत कुल ६ खर्ब ६१ अर्ब ४४ करोड ४८ रुपैयाँ मात्र राजस्व उठ्न सकेको छ ।

यता, कूल ४ खर्ब ७३ अर्ब बराबरको राजस्वको योगदान बोकेको भन्सार(कर) क्षेत्रको राजस्व पनि अपेक्षित उठ्न सकेको छैन । भन्सार विभागको तथ्याङ्गलाई हेर्दा चालु आर्थिक वर्षको १० महिनामा करिब २ खर्ब बराबरको मात्र राजस्व सङ्कलन हुनसकेको छ । यद्यपी विभागले बैशाख महिनाको तथ्याङ्क सार्वजनिक गरिसकेको छैन ।

राजस्व सङ्कलनको प्रमुख स्रोत भनेको कर नै हो । तर आवको विशेषत कर उठ्ने बेलामा विश्वमहामारीको रुपमा कोरोना भाइरस फैलिएसँगै करमा आधारित राजस्व सङ्कलनको मुहान सुक्न पुगेको छ । छिमेकी मुलुक चीन हुँदै विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आयात घट्दा राजस्वमा गम्भीर धक्का लाग्न पुगेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ ।

‘कोरोनाका कारण मुलुकको आयात दर घट्दा अपेक्षित राजस्व सङ्कलन हुन सकेन । अहिलेको अवस्थामा झण्डै ६५ प्रतिशतले मुलुकको राजस्व गुमेको अवस्था छ । जब राजस्व वृद्धिको समय आउँदै थियो, तब विश्वमा नविन कोरोनाभाइरस देखाप-यो । यसले अन्तरदेशीय आयात–निर्यातमा ठूलो समस्या पा-यो । अन्ततः मुलुकको राजस्वमा संकूचन ल्यायो,’ महानिर्देशक दाहालले भने ।

दाहाल मात्र होइन, विभिन्न भन्सारमा खटिएका भन्सार प्रमुखहरुको भनाइ पनि उस्तै छ । कोरोनापछिको भन्सार आयात निर्यातको अवस्था बुझ्न खोज्दा कोरोनाका कारण आयातको दर ठूलो परिमाणले घट्दा राजस्वमा गम्भीर धक्का लाग्न पुगेको भन्सार प्रमुखहरुको भनाइ छ ।

कोरोनापछि भन्सार र राजस्व सङ्कलनको अवस्था के छ भन्ने विषयमा कुरा गर्दा मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार प्रमुख ढुन्डी निरौला कोरोनापछि ८० प्रतिशतले आयात घटेको र राजस्व लक्ष्यको करिब ३९ प्रतिशत मात्र उठ्न सकेको बताए । त्यस्तै, भैरहवा, सर्लाही, जनकपुर, र यता उत्तर(चीन)तर्फको तातोपानी नाकाको पनि अवस्था उस्तै छ ।

हेरौँ कुन भन्सारको अवस्था के छः

वीरगञ्ज भन्सारः

दक्षिण तर्फको प्रमुख नाका मानिने वीरगञ्ज भन्सार नाकालाई भन्सार तथा राजस्व सङ्कलनका हिसाबले निकै महत्त्वका साथ हेर्ने गरिन्छ । यो नाकाबाट तेल (पेट्रोलियम पदार्थ) सहित अन्य महत्त्वपूर्ण र ठूलो राजस्वका सामाग्रीहरु आयात हुने हुँदा यसलाई राजस्वको खानिको रुपमा पनि हेर्ने गरिन्छ । यो नाकाबाट मात्र झण्डै दुई साढे दुई खर्बको राजस्व उठ्ने गर्छ । तर, यही नाका कोरोनाका कारण अहिले सुनसान जस्तै छ । सामान्य बाहेक अन्य माल–सामानको आयात निर्यात प्रायः ठप्प जस्तै भएको भन्सार प्रमुख ढुन्डी निरौला बताउँछन् ।

‘कोरोनाको प्रकोपका बीच लकडाउनमा वीरगञ्ज भन्सार आंशिकरुपमा मात्र सञ्चालन छ । अत्यावश्यक वस्तुहरु मेडिकल सामाग्री, खाद्यान्न र केहि परिणाममा तेल(पेट्रोलियम) बाहेक अन्य सामान आयात भइरहेको छैन ।’ भन्सार प्रमुख निरौलाले भने, ‘निर्याततर्फ त झन् कमै मात्र छ । केहि परिमाणमा खजुर(पाम) तेल र सोयाविन तेलबाहेक अन्य वस्तु निर्यात हुन सकेका छैनन् ।’

निरौलाका अनुसार लकडाउन अवधिमा वीरगञ्ज भन्सारबाट कुल ७७ लाख ८० किलो प्रशोधित पाम आयाल र २४ लाख २ हजार किलो भटमासको तेल निकासी भएको छ । कूल २ खर्ब १२ अर्ब राजस्व सङ्कलनको लक्ष्य राखेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनासम्ममा कुल ९० अर्ब बराबरको मात्र राजस्व सङ्कलन गर्न सकेको छ । यो लक्ष्यको करिब ४२.४५ प्रतिशतमा मात्र हो ।

नेपालगञ्ज भन्सारः

दक्षिणतर्फकै अर्को प्रमुख नाका हो, नेपालगञ्ज भन्सार नाका । यो नाकालाई पनि आयात–निर्यातदेखि राजस्व सङ्कलन र सामरिक हिसाबले निकै महत्त्वका साथ हेर्ने गरिन्छ । यो नाकाबाट पनि ठूलै परिमाणमा राजस्व उठ्ने गर्छ । चालु आर्थिक वर्ष २०७६/७७ मा यो नाका बाट १ खर्ब ५० अर्ब बराबरको राजस्व उठाउने लक्ष्य लिइएको थियो । तर यो लक्ष्य कोरोनाकै कारण विफल हुनपुगेको छ । आर्थिक वर्षको १० महिना अर्थात् वैशाख सम्ममा नेपालगञ्ज भन्सार कार्यालयले जम्माजम्मी एक खर्ब बराबरको राजस्व उठाउन सफल भएको छ । कुल १ खर्ब ५० बराबरको राजस्व उठाउने लक्ष्य राखेको नेपालगञ्जले लक्ष्यको ६६.६७ प्रतिशत राजस्व उठाउन सफल भएको हो ।

सम्भवत लक्ष्य अनुरुप सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने भन्सार कार्यालय नेपालगञ्ज नै हो । राजस्व सङ्कलनको लक्ष्य भेटाउने सम्भावना हुँदाहुँदै पनि कोरोनाका कारण केहि धक्का लाग्न पुगेको नेपालगञ्ज भन्सार कार्यालय प्रमुख शान्तिराम निरौला बताउँछन् ।

‘नेपालगञ्ज भन्सार कार्यालय १ खर्ब ५० बराबरको राजस्व उठाउने लक्ष्यमै थियो । तर अकस्मात विश्वमा कोरोना माहामारी आइदियो । यसले छिमेकी मुलुक भारत (निर्यातकर्ता) र नेपाल(आयातकर्ता) लाई समेत प्रभावमा पा-यो जस्ले गर्दा आयात निर्यात राम्रो हुन सकेन । जस्ले गर्दा अपेक्षित राजस्व उठाउन सकिएन,’ भन्सार प्रमुख निरौलाले भने ।

भन्सार प्रमुख निरौलाका अनुसार हाल कोरोनाकै बीच सामान्य आयात हुँदा पनि नेपालगञ्ज भन्सारले दैनिक सरदर २०–२५ करोड राजस्व सङ्कलन गरिरहेको छ । लकडाउनकै बीच चैत महिनामा नेपालगञ्जले ६८ करोड २६ लाख रुपैयाँ र बैशाखमा मात्र ५१ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भैरहवा भन्सारः

दक्षिण तर्फकै अर्को भन्सार कार्यालय भैरहवा भन्सारले चालु आर्थिक वर्षमा हालसम्म करिब ५८ अर्ब मात्र राजस्व सङ्कलन गर्न सकेको छ । जब की यो भन्सार कार्यालयको लक्ष्य १ खर्ब ६ अर्ब रहेको थियो । लक्ष्य अनुसार भैरहवा भन्सार कार्यालयले ५४ प्रतिशतको मात्र सफलता हासिल गर्न सकेको देखिन्छ ।

कोरोनाका कारण अपेक्षित राजस्व सङ्कलनमा गम्भिर धक्का लाग्न पुगको भैरहवा भन्सार कार्यालय प्रमुख कमल कुमार भट्टराई बताउँछन् ।

‘भैरहवा नाकाको अवस्था सामान्य छ । कोरोना महामारीका बीच अत्यावश्यक उपभोग्य वस्तुहरु फलफुल, तरकारी, चामलबाहेक ठूला ठूला र राजस्व वृद्धि गर्ने खालका सामानहरु केहिपनि आयात भएका छैनन् । केहि मात्रामा फलाम र कोइलहरु यो नाकाबाट आयात भएका छन् । जसले गर्दा राजस्व खासै उठ्न सकेको छैन ।’ भन्सार प्रमुख भट्टराईले भने, ‘पहिलेको तुलनामा झण्डै ५० प्रतिशतले राजस्व घटेको अवस्था छ ।’ भट्टराईका अनुसार भैरहवा भन्सारले सरदर दैनिक ३० करोड राजस्व उठाइरहेकोमा कोरोना पछि दैनिक ५ करोडको मात्र राजस्व उठिरहेको छ । पछिल्लो बैशाख महिनामा मात्र भैरहवाले मुस्किलले ८ अर्ब राजस्व सङ्कलन गर्न सकेको छ ।

तातोपानी भन्सारः

यता, उत्तर(चीन) तर्फ दुईवटा नाका तातोपानी र केरुङ्ग भएपनि कोरोनापछि एउटा नाका तातोपानी भन्सार नाका मात्र खुल्न सकेको छ । कोरोनाकै बीच सरकारले दुई तर्फकै नाका खोल्ने भने पनि आवश्यक तयारी पुरा हुन नसक्दा तातोपानी नाका मात्र खुल्न सकेको छ । अहिले यहीँबाट चीन तर्फबाट सामान आयात भइरहेको छ । यो नाकाबाट पनि करिब २० प्रतिशत मात्र आयात भइरहेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

०७२ सालको भूकम्पपछि भर्खर सञ्चालनमा आएको यो नाका बैकल्पिक नाकाको रुपमा प्रयोग हुँदै आइरहेको छ । चीन तर्फकै अर्को नाका रसुवाको केरुङ्ग नाका बन्द भएसँगै यो नाकाबाट सामान आयातका लागि खुल्ला गरिएको हो । कोरोनाकै बीच सुरक्षाका विधिहरु अपनाई दैनिक १५–१६ वटा कन्टेनरहरुबाट सामान आयात भइरहेको भन्सार प्रमुख खत्रीले जानकारी दिए । हाल अत्यावश्यक मेडिकल सामाग्री सहित केहि मात्रामा खाद्यान्न, फलफूल र नगन्य मात्रामा रेडिमेट सामान आयात भइरहेको खत्रीको भनाई छ । लकडाउनकै बीच तातोपानी नाकाले झण्डै ३ अर्ब ५० करोड राजस्व सङ्कलन गरिसकेको खत्रीको भनाई छ । तर, २०७२ सालको भूकम्पपछि भर्खर खुलेको तातोपानी नाकाको भन्सार(राजस्व) उठाउने लक्ष्य राखिएको छैन । यता, केरुङ्ग नाका भने कोरोना पछि खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप