बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली सेनाका पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल

आइतबार, ०४ जेठ २०७७, १४ : २१
आइतबार, ०४ जेठ २०७७

जनकपुर । नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण पुष्टि भएपछि व्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको हो । पृतनापति र व्यारेकका चिकित्सकमा कोरोना संक्रमण पुष्टि  भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रुपमा सिल गरिएको छ ।

उक्त व्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायतमा कूल २ हजार संख्यामा सेनाहरु तैनाथ छन् । ब्यारेकमा कार्यरत सेनाका जवानहरूमा संक्रमण बढ्न नदिन उनीहरुलाई आवतजावतमा समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले संक्रमित पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा काठमाडौँ पठाइएको बताए । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने– ‘दुवै संक्रमित प्रदेश नम्बर २ का विभिन्न स्थानमा गएर स्वाब संकलन कार्यमा संलग्न थिए । त्यहाँ नै उनीहरुलाई संक्रमण भएको हुनुपर्छ ।’ पृतनापति र चिकित्सक जनकपुरधाम र बीरगञ्ज लगायतका विभिन्न स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले जानकारी दिए । अहिले ती सबै स्थानमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप