शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोगप्रतिरोधी क्षमताको कमी : चीन अझै कोरोनाको दोस्रो लहरको जोखिममा

सोमबार, ०५ जेठ २०७७, ०८ : १७
सोमबार, ०५ जेठ २०७७

चीनले अझै कोभिड–१९ संक्रमणको सम्भावित ठूलो चुनौती सामना गर्नुपर्नेछ, देशका स्वासप्रश्वास सम्बन्धी प्रमुख अधिकारीले भनेका छन् । भ्याक्सिन विकासको दौड कायमै रहेका बेला समुदायमा प्रतिरोधी क्षमताको कमी हुनु गम्भीर चिन्ताको विषय रहेको उनी बताउँछन् । 

चिनियाँ सरकारका वरिष्ठ मेडिकल सल्लाहकार तथा कोभिड–१९ विरुद्धको लडाइँमा देशका प्रमुख व्यक्तिमध्येका एक डाक्टर झोङ नान्सानले सीएनएनसँग शनिबार विशेष अन्तर्वाताका दौरान ऊहान शहरका स्थानीय अधिकारीहरुले गत डिसेम्बरमा पहिलोपटक कोरोनाभाइरस देखिएपछि यसलाई ढाकछेप गर्न खोजेको पनि स्वीकारेका छन् ।

देशको नेशनल हेल्थ कमिसन (एनएचसी) का अनुसार चीनमा ८२ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने कम्तिमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ ।  जनवरीको अन्त्यतिर यो संख्या एक्कासी बढेको थियो, जसकारण शहरहरुमा लकडाउन गरियो र देशव्यापी रुपमा भ्रमण प्रतिबन्ध लगाइयो ।

फेब्रअरीको सुरुवातमा चीनमा प्रत्येक दिन ३ हजार ८ सय ८७ वटा संक्रमणका घटना देखिएका थिए । यद्यपी, एक महिनालगत्तै यो संख्या दुई अंकमा झ¥यो ।

यता, अमेरिकामा दैनिक संक्रमित हुनेको संख्या अकाशियो, ६ मार्चमा ४७ जना नयाँ संक्रमित भेटिएकोमा यही महिनाको अन्त्यसम्म २२ हजार ५ सय ६२ संक्रमित देखिए ।

अहिले भाइरसलाई ठूलो रुपमा नियन्त्रण लिएपछि चीनको जीवन बिस्तारै सामान्य हुँदैछ ।

लकडाउन खुकुलो गरिएको छ र केही स्कुल तथा देशभर उद्योगहरु पुनः सुचारु भइरहेका छन् । तर, झोङका अनुसार दोस्रो लहरको संक्रमणको जोखिम ठूलो चेतावनीका रुपमा देखिएकाले चिनियाँ अधिकारीहरु आत्मरतीमा रम्न मिल्दैन ।

चीनमा पछिल्लो समय उहानसँगै उत्तरपूर्वी प्रान्तका हिइलोङजियाङ र जिलिनजस्ता नयाँ क्लस्टरमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ ।

‘रोग प्रतिरोधी क्षमताको कमीका कारण अझै पनि अधिकांश चिनियाँहरु कोभिड–१९ संक्रमणको जोखिममा छन्,’ झोङले भने, ‘हामीले ठूलो चुनौती सामना गरिरहेका छौँ । मेरो विचारमा अहिले यहाँको अवस्था विदेशभन्दा राम्रो छैन । उनीहरु साँचो बोल्न चाहदैंनन् ।’

२००३ मा सार्स महामारीसँग लडेकाले चीनमा ‘सार्स हिरो’ का रुपमा झोङ प्रसिद्ध छन् । यसपटक उनले देशको कोरोना भाइरसको महामारीको नेतृत्व दिएका छन्, विशेषगरी महामारी फैलिएपछि सुरुवाती चरणको गम्भीर अवस्थामा ।

ऊहानका स्वास्थ अधिकारीहरुले हप्तौंसम्म मानिसबाट मानिसको रोग फैलनसक्ने स्पष्ट प्रमाण नभेटिएको र यो रोग रोकथाम र नियन्त्रण गर्न सकिने प्रकृतिको रहेको बताएपछि झोङले नै २० जनवरीमा सरकारी सञ्चारमाध्यम सिसिटिभीमार्फत कोरोना भाइरस मानिसबाट मानिसमा सर्नसक्ने पुष्टि गरेका थिए ।

एनएचसीले सुरुवाती महामारीबारे छानविन गर्नका लागि पठाएको विज्ञहरुको टोलीको नेतृत्व गर्दै झोङ १८ जनवरीमा ऊहान गएका थिए । उनका अनुसार उहान पुग्नासाथ धेरै डाक्टर र पूर्व विद्यार्थीले उनलाई आधिकारीक रिपोर्टले गरेको दाबीभन्दा अवस्था धेरै खराब रहेको चेतावनी दिएका थिए ।

‘स्थानीय अधिकारीहरुले त्यस समय सत्य बोल्न चाहेनन्,’ झोङले भने,‘सुरुवातमा उनीहरु चुप बसे र त्यसपछि मैले हाम्रोमा सायद ठूलो संख्यामा मानिस संक्रमित छन् भनें ।’

झोङका अनुसार विदेशमा समेत संक्रमण फैलिसकेको यो अवस्थामा ऊहानको आधिकारीक रिपोर्टमा १० दिनभन्दा अघिदेखिको  अवधिमा संक्रमित संख्या ४१ कायम थियो, तब उनलाई शंका लाग्यो ।

‘मैले यो नतिजामा विश्वास गरिनँ, त्यसैले मैले उनीहरुलाई वास्तविक सख्ंया दिन माग गरेँ,’ उनले भने, ‘मलाई लाग्यो उनीहरु मेरो प्रश्नको जवाफ दिन धेरै हदसम्म अनिच्छुक छन् ।’

दुई दिनपछि २० जनवरीमा बेइजिङमा उनलाई जानकारी दिइयो कि उहानमा संक्रमित संख्या १ सय ९८ पुगेको छ र तीन व्यक्तिको मृत्यु भइसकेको छ । १३ जना स्वास्थकर्मी संक्रमित छन् ।

प्रिमियर लि कोछ्याङसहित चीनका केन्द्रीय सरकारका अधिकारीहरुसँग सोही दिन बसेको बैठकमा उनले भाइरसको संक्रमण नियन्त्रणका लागि ऊहानमा लकडाउनको प्रस्ताव गरे ।

यो नसोचेको कदम थियो ।  २३ जनवरीमा केन्द्र सरकारले ऊहानलाई लकडाउन ग-यो । शहर भित्र्ने र बाहिरिने सबै उडान, रेल र बस सेवा स्थगित भए । शहरका मुख्य हाइवेको नाका बन्द गरियो ।

७६ दिनपछि उहानको लकडाउन अन्ततः खोलियो ।

सिसिटिभीसँगको २७ जनवरीको अन्तर्वार्तामा ऊहानका मेयर झोउ सियानवाङले आफ्नो सरकारले समयमै कोरोना भाइरसबारेका सबै सूचना सार्वजनिक नगरेको स्वीकारे । ‘स्थानीय सरकारका रुपमा हामीले स्वीकृति लिएर मात्रै सूचना सार्वजनिक गर्नसक्छौं,’ उनले भनेका थिए ।

फेब्रुअरीमा महामारी सम्हाल्न नसकेको भन्दै स्थानीय अधिकारीको ठूलो आलोचना भएपछि चीनले धेरै वरिष्ठ अधिकारीहरुलाई बर्खास्त ग¥यो । चिनियाँ सरकारी समाचार एजेन्सी सिनुवाका अनुसार प्रान्तीय स्वास्थ आयोगका दुई अधिकारी, चिनियाँ कम्युनिष्ट पार्टीका ऊहान प्रमुख र हुबेई प्रान्त प्रमुख पनि यो सूचीमा थिए ।

सार्सले सिकाएको पाठ

ऊहानमा सुरुवाती समय संक्रमितको संख्या कम देखाइएको झोङले स्वीकारे । यद्यपी, जनवरीको अन्त्यतिर केन्द्र सरकारले कोरोना भाइरसको महामारी व्यवस्थापन थालेयता पनि चीनको आधिकारीक संख्या अझै अविश्वासिलो रहेको भन्ने आरोप उनले खण्डन गरे । 

अमेरिकामा ज्यान गुमाउनेको संख्या ८७ हजार नाघेपछि डोनाल्ड ट्रम्पले चीनको मृतक संख्याको विश्वसनियताबारे सार्वजनिक रुपमा प्रश्न गरेका छन् । तर, झोङले १७ वर्षअघिको सार्स महामारीबाट चिनियाँ सरकारले पाठ सिकेको बताए, त्यतिबेला चीनले ‘केही महामारीलाई दुई वा तीन महिनासम्म ढाकछेप’ गरेको थियो ।

झोङका अनुसार यसपटक केन्द्र सरकारले सबै शहर र सबै सरकारी विभागले रोगबारे साँचो संख्या रिपोर्ट गर्नुपर्ने र नगर्नेलाई कारबाही गर्ने घोषणा गरेको छ । ‘त्यसैले २३ जनवरी यता मेरो बुझाईमा सबै तथ्य सही हुनुपर्छ,’ उनले भने ।

उनले अमेरिकामा देखिएको मृतक र संक्रमितको संख्याबाट आफु आश्चर्यमा परेको बताए, उनले केही पश्चिमा सरकारले कोरोनाभाइरस फैलिएको सुरुवाती समय यसको जोखिमलाई गम्भीर रुपमा नलिएको बताए । ‘मेरो विचारमा युरोपका केही देश र सायद, अमेरिकाले पनि यो रोगलाई इन्फ्युएन्जाभन्दा कम वा बढी रुपमा सोच्यो, सायद यो गलत थियो,’ उनले भने ।

ट्रम्प र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेको ऊहानको ल्याबमा भाइरस बनेको भन्ने सिद्धान्तलाई पनि झोङले अस्वीकार गरे । झोङका अनुसार ट्रम्पका आरोपबारे उनले उहान इन्स्टिच्युट अफ भिरोलोजीकी मुख्य भिरोलोजिस्ट सी झेङ्ग्लीसँग बारम्बार कुराकानी गरे । उनको ल्याबमा भाइरस बनेको र दुर्घटनाबस् यो बाहिरिएको भन्ने ट्रम्पको आरोप थियो । ‘उनका अनुसार यो पूर्ण निराधार हो । उनले कहिल्यै यस्तो काम गरेकी थिइनन्,’ झोङले भने,‘ सीकाअनुसार उनीहरुसँग यस समय कुनै कृत्रिम भाइरस बनाउनसक्ने उपकरण, पूर्वाधार र म्यानपावर पनि छैन ।’

झोङका अनुसार फेब्रुअरीको सुरुवातमा चीनका रोग नियन्त्रण अधिकारीहरुले गलत कामबारे छानविन गर्न सीको ल्याबमा दुई हप्ता बिताएका थिए, उनीहरुले केही भेटेनन् ।

भ्याक्सिनको खोजी

विश्वभरबाट दैनिक दशौँ हजार कोरोना भाइरसका नयाँ संक्रमितको संख्या अझै पनि आइरहेको र महामारी सुरु भएयता ३ लाखभन्दा धेरैले ज्यान गुमाइसकेको अवस्थामा  अनुसन्धानकर्ताहरु भ्याक्सिन विकास गर्ने चटारोमा छन् । विश्व स्वास्थ संगठनका अनुसार तीनवटा अमेरिकी कम्पनीले अहिल्यै मानिसमा भ्याक्सिनको परीक्षण गर्दैछन् । उनीहरु अझै पहिलो र दोस्रो चरणको परीक्षणमा छन्, जहाँ दर्जनौँ वा सयौँलाई अध्ययनका क्रममा भ्याक्सिन दिइन्छ ।

झोङका अनुसार तीनवटा चिनियाँ भ्याक्सिन देशमा क्लिनिकल ट्रायलका क्रममा छन्, यद्यपी पूर्ण समाधानका लागि अझै वर्षौँ लाग्नसक्छ । ‘हामीले फरक किसिमका भ्याक्सिन प्रयोग गरेर फेरि, फेरि, फेरि परीक्षण गर्नुपर्छ । यस  खालको कोरोनाभाइरसका लागि कस्तो भ्याक्सिन उपलब्ध हुन्छ भनेर अहिल्यै कुनै निष्कर्ष निकाल्नु हतारो हुनेछ । त्यसैले मेरो सुझाव भ्याक्सिनको अन्तिम स्वीकृतिका लागि लामो समय लाग्छ भन्नेमै छ,’ उनले भने ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप