शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विपत्तिले जन्माएका योद्धाहरुः संकटमा सधैँ अगाडि

सोमबार, ०५ जेठ २०७७, १२ : २८
सोमबार, ०५ जेठ २०७७

भक्तपुर । जब–जब देशमा संकट आइपर्छ, तब–तब योद्धाहरुको आवश्यकता पर्दछ । राजनीतिक परिर्वतन होस् वा प्रकृतिक संकटको समयमा अग्रभागमा खटिने र नेतृत्व गर्नेहरुको खाँचो हुन्छ ।

वि.स २०७२ साल वैशाख १२ गते नेपाल र नेपालीको लागि त्यस्तै विपत्ति थियो । विनाशकारी भूकम्पको चपेटामा परेकाहरु भक्तपुर अस्पताल परिसरमा यत्रतत्र लडिरहेका थिए । भन्न मुस्किल थियो, को जिवित छ, को मृत्त ।

यस्तो दयनीय अवस्था देखेपछि स्थानीय युवा अरुण सैंजूले उनले घाइतेको उपचारमा लागेका स्वास्थ्यकर्मीहरुलाई साथ दिए । साथै, मृतकका शव व्यवस्थानमा लागे । कोलाहाल घडीमा शोकमा डुबेका उनकै आफन्तहरु भावविहोल थिए । तर, अरुण त्यो दिनदेखि एउटा योद्धा भएर जन्मिए । अहिले उनलाई साथ दिने अरु योद्धाहरु पनि छन् । आजभोलि जहाँ विपत्ति पर्छ, त्यहाँ उनको स्वयम्सेवी टोली पुग्छ ।

कोडिभ–१९ का महामारीबीच अहिले समुहका सैंजू, राजेश गाइँजू, न्हुज किजू र पुनम कर्माचार्य कोरोना भाइरसबाट आउने संकटका लागि तयार भएर बसेका छन् । हाल भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्ने र थप उपचारको लागि चिकित्सकसम्म पुर्याउने कार्य गर्दै आइरेहका छन् । राति पनि अस्तपाल परिसर नजिकैको टेन्टमा बस्दै आएका छन् ।

आइतबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापनमा खटिएपछि समूहको चौतर्फी प्रशंसा भइरहेको छ । चुनौतिपूर्ण काममा फ्रन्टलाइनमा खटिएका अरुण र राजेश यतिबेला सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले व्यवस्थापन गरेको आइसोलेसन कक्षमा छन् ।

रातोपाटीसँग कुरा गर्दै अरुणले भने ‘आरएनए–१६ समुहमा हामी १ सय ८५ जना छौँ, अहिले विशेष कोरोनाको लागि भनेर हामी चार जना खटिएका छौं ।’

यो समुहका न्हुज किजू र पुनम कर्माचार्य भने यतिबेला भक्तपुर अस्पतालमा आएका बिरामीहरुको ज्वरो जाँच गर्ने र अन्य काममा सक्रिय छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण फैलिएको वर्तमान अवस्था निजी सवारी साधानलाई ‘कोरोना विशेष’ बनाएर प्रयोग गरेका छन् ।

भूकम्प, बाढीदेखि कोरोनासम्म

२०४४ साल पुस १६ गते जन्मिएका अरुण पेशाले एक निजी विद्यालयको अनुसाशन शिक्षक हुन् । भक्तपुर नगरपालिका वडा नम्बर–३ घर भएका उनी घर नगएको पनि धेरै दिन भइसक्यो ।

संकटको घडिमा अग्रभागमा खटिने उनी आजभोलि फोनबाट नै परिवारसंग कुराकानी गर्दछन् । २०७२ सालको भुकम्पपछि सुरु भएको उनको स्वयम्सेवाको यात्रा बाढी, पहिरो, सवारी दुर्घटनासम्म पुगेको छ ।

गत साल बारा र पर्सा जिल्लामा आएको हावाहुरीमा समेत उनीलगायतको समुह पुगेको थियो । ‘हालसम्म झण्डै ६ सय मानिसको उद्धार, तेतिनै संख्यामा शव समेत व्यवस्थान गरेको छु,’ अरुणले भने । 

अनुभव र तालिम

उनीहरुको समुहका केहीले स्काउटबाट मानवीय सेवा र विपत्ति सम्बन्धी तालिम लिएका छन् । उनीहरुले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले दिने विपत व्यवस्थापन र मानविय उद्धारको तालिम समेत प्राप्त गरेका छन् ।

पछिल्लो समय कोरोना भाइरसको माहामारीपछि नेपाली सेनाद्वारा प्रदान गरिएको शव व्यवस्थापन तालिम कै आधारमा कोरोनाबाट मृत्यु भएककी महिलाको शव लिन अरुण र राजेश त्यसमा खटिएका थिए ।

दर्जनौँको संख्यामा तालिम लिएको र विपतको समयमा काम गर्दा अनुभव बढेको उनीहरु बताउछन् । ‘धन्न अहिलेसम्म उद्धार, व्यवस्थापनमा लाग्दा आफू कुनै दुर्घटनामा परिएको छैन,’ अरुणले भने, ‘अनुभव र तालिमले धेरै कुरा सिकाएर होला ।’ उनको समुहले आफुले जानेका र सिकेका कुराहरु समुदाय, टोल, विद्यालय, उच्चमावि र क्याम्पसमा समेत ज्ञान बाढ्न सक्रिय छ ।

साथ सहयोग कस्तो छ ?

कोरोनाका लागि सक्रिय चार जना विभिन्न पेशामा आवद्ध छन् । तर, त्योसँगैपनि उनीहरु स्वयम्सेवी भूमिकामा सक्रिय छन् । उनीहरुलाई भक्तपुर जिल्ला प्रशासन, जुद्ध वारुण यन्त्र भक्तपुर, सेना, प्रहरी, शस्शत्र प्रहरीको साथ र सहयोग छ ।

त्यसैगरि भक्तपुरका सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले समेत तालिम र अनुभव वद्धि गर्ने कुरामा साथ दिएका छन् । अन्य समाजसेवी सांसदलगायतको समेत उनीहरुलाई सहयोग छ ।

समस्या ?

‘हामी उदयपुरको पनि भुल्के जाने तयारीमा थियौँ तर, सरकारी निकायबीच समन्वय नहुदाँ जान सकिएन,’ अरुणले दुःख व्यक्त गरे ।

‘कति कार्य हामीले चाहेर हुँदैन । त्यस्तो बेला दुःख लाग्छ,’ अरुणले भने  ‘आगलागी, सडक दुर्घटना, बाढीजस्ता विपत्तिमा कहिलेकाहीँ स्थानीयहरुले नै साथ नदिदाँ दुःख लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप