बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तराईमा किन फैलँदै छ कोरोना ?

कन्ट्याक्ट ट्रेसिङले भन्छ, तराईको सङ्क्रमणको मुहान भारतबाटै
सोमबार, ०५ जेठ २०७७, १५ : १०
सोमबार, ०५ जेठ २०७७

जेठ ५ गते बिहान १० बजेसम्मको अपडेट हेर्ने हो भने देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ जना पुगेको छ । यो केन्द्रीय तथ्याङ्क हो ।

तर कोरोना सङ्क्रमणलाई क्षेत्रगत रूपले हेर्ने हो भने तराई र मधेसका जिल्ला यसबाट बढी प्रभावित भएका छन् । अझ मुख्यतः भारतसँग सीमा जोडिएका जिल्ला सबैभन्दा बढी प्रभावित  छन् ।

तराई मधेसका २५ जिल्लामध्ये २० जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा देखिएको छ । पर्सामा अहिलेसम्म ९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज भारतसँग नाका जोडिएको मुख्य क्षेत्र हो । वीरगञ्जबाट भारतको रक्सौल जाने मार्ग नेपाल र भारतलाई जोड्ने मुख्य केन्द्र हो । तर यही केन्द्रमा यतिबेला ९१ जना सङ्क्रमित भएका छन् भने जम्मा ३ जना निको भएर घर फर्किएका छन् ।

पर्सा मात्रै होइन तराईकै अर्को जिल्ला कपिलवस्तुमा पनि कोरोना सङ्क्रमणको दर उस्तै छ । जेठ ५ गते बिहानसम्मको तथ्याङ्क हेर्ने हो भने कपिलवस्तुमा ४२ जना सङ्क्रमित बनेका छन् । कपिलवस्तुमा हालसम्म एकजना पनि निको भएका छैनन् ।

तराईकै अर्को जिल्ला बाँकेमा अहिलेसम्म ३४ जना सङ्क्रमित बनेका छन् भने भित्री मधेसको जिल्ला उदयपुरमा अहिलेसम्म ३३ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

तराईकै अर्को जिल्ला रूपन्देहीमा हालसम्म २८ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ भने रौतहटमा पनि हालसम्म २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

तराई मधेसका बाँकी जिल्लामध्ये धनुषामा ६ जना कैलाली र बारामा ४, ४ जना, महोत्तरी र दाङमा ३, ३ जना, झापा, मोरङ, सर्लाही र बर्दियामा २, २ जना तथा कञ्चनपुर, नवलपरासी, नलवपुर, सिराहा र सप्तरीमा क्रमशः १, १ जनाका कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोनो सङ्क्रमणको पुष्टि भएको ३ सय ४ जनामध्ये २ सय ८२ जना मानिस तराई र मधेसकै रहेका छन् । तराई र मधेसमा कोरोना सङ्क्रमित हुनेलाई प्रतिशतमा हेर्ने हो भने करिब ९३ प्रतिशत मानिस तराई मधेसका २० जिल्लाका मानिस रहेका छन् ।

कोरोनाको त्रास त सबैतिर छ तर तराई र मधेसमा मात्रै किन सङ्क्रमितको सङ्ख्या बढिरहेको छ त ? के यी सबै भारतबाट आएका वा भारतबाट नेपाल आई उनीहरुको सम्पर्कमा आएका मानिसहरुमा मात्रै कोरोना सङ्क्रमण देखिएको हो त ?

कन्ट्याक्ट ट्रेसिङले भन्छ, तराईको सङ्क्रमणको मुहान भारतबाटै

तराईमा तीव्र गतिमा फैलिरहेको कोरोना सङ्क्रमणको मूल थलो अर्थात् मुहान हेर्ने हो भने सबैजसो भारत नै रहेको देखिन्छ । कैलालीमा देखिएको केही केस बाहेक अधिकांश सङ्क्रमितहरु कि त भारतबाट नेपाल आएका छन् कि त भारतबाट नेपाल छिरेकाहरुको सम्पर्कमा आएकाहरु छन् । महोत्तरीमा देखिएको सङ्क्रमणमा भारतबाट आएकाहरुको सम्पर्कमा रहेको देखिएको छ भने सिराहाका व्यक्तिमा कसरी सङ्क्रमण भयो भन्ने कन्ट्क्याक्ट ट्रेसिङ खुलिसकेको छैन । उनी फागुन महिनामै मलेसियाबाट नेपाल फर्किएको खुलेको छ तर उनी पुरानो सङ्क्रमित हुन् कि नयाँ लागेको हो भनेर पुष्टि भइसकेको छैन ।

बाँकी अन्य सबै सङ्क्रमण कि त भारतबाट आएकाहरुलाई लागेको छ कि त भारतबाट नेपाल आएका मानिसको सम्पर्कमा रहेकालाई भएको छ । यी सबै तथ्यले के देखाइरहेको छ भने नेपालमा तीव्र गतिमा फैलिन थालेको कोरोना सङ्क्रमणको उद्गम थलो भने भारत नै रहेको देखिन्छ ।

सीमामा कडाइ नहुँदा भित्रियो कोरोना

सरकारले लकडाउनको घोषण गरी सीमा नाका बन्द गराएको पनि करिब २ महिना पुग्न लाग्यो । तर दुई महिनाको अवधिलाई हेर्ने हो भने पछिल्लो २ सातामा बल्न नेपालमा कोरोना सङ्क्रमणको दर र जोखिम बढ्न थालेको देखिन्छ । अझ पछिल्लो एक सातामा त कोरोना सङ्क्रमणको दर तीव्र बनेको छ ।

सुरुवाती समयमा भारतका विभिन्न स्थानबाट सीमासम्म आउन पनि मानिसलाई समस्या थियो । नेपाल र भारत सरकारबीच भएको सहमति पनि यताका भारतीयलाई यतै रोक्ने र भारतले पनि नेपाली नागरिकलाई नेपाल नपठाउने भन्ने थियो ।

तर भारतमा रहेका नेपालीहरु जसरी पनि नेपाल फर्कन खोज्दै थिए र भारतीय सीमामा रहेका नेपालीहरु लुकीछिपी नेपाल प्रवेश गर्न थाले । सरकारले पहल गरेर नै उनीहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेको भए, सायद सङ्क्रमणको दरमा कमी आउने थियो होला । तर सरकारले आउन नदिने र नागरिकहरु ‘चोर बाटो’ भएर नेपाल प्रवेश गरी लुकीछिपी परिवारमा बस्ने र परिवारकै सदस्य वा उनीहरु नै समाजमा घुलमिल हुन थालेपछि सङ्क्रमण फैलिएको सरुवा रोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनीको बुझाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख समेत रहेका डाक्टर बाबुराम मरासिनीका अनुसार बोर्डर पूर्ण रूपमा बन्द गर्न नसकिएका कारण नै नेपालमा कोरोनाको त्रास बढेको हो ।

भारतका उद्योग बन्द हुँदा आत्तिए मजदुर

मरासिनीका अनुसार भारतको अहमदावाद, सुरत, मुम्बई लगायत स्थानका औद्योगिक कलकारखाना बन्द हुँदा मजदुरहरु समस्यामा परेको र उनीहरुकै कारण सङ्क्रमण फैलिएको हो । उनी भन्छन्, ‘लकडाउनले भारतभित्रै पनि धेरै समस्या ल्यायो । भारतको अहमदावाद, सुरत, मुम्बई लगायतका अधिकांश स्थानमा औषधि उद्योग तथा कपडाका फ्याक्ट्रीहरु छन् । तर जब फ्याक्ट्रहरु बन्द भए तब मजदुरलाई त्यहाँ बसेर खान पैसा भएन र उनीहरु एकआपसमा कोचाकोच गरेर बसे । कतिपय मानिसहरु साथीभाइकोमा बसे, कोही आफन्तकोमा बसे । त्यहीँबाट नै सङ्क्रमण फैलियो ।’

‘लामो लकडाउन भएपछि उनीहरु त्यहाँ पनि बस्न नसक्ने भए र नेपाली नागरिकहरु आफ्नै देशतिर आउन थाले । उनीहरु बल्लतल्ल बोर्डरसम्म त आइपुगे तर नाका बन्द भएको कारण उनीहरु सोझै आउन पाएनन् र अवैध बाटो हुँदै नेपाल प्रवेश गरे । अवैध बाटो हुँदै आएपछि न उनीहरु क्वारेन्टाइनमा बसे न उनीहरुको स्वास्थ्य परीक्षण भयो । त्यही कारणले पनि नेपालको तराई क्षेत्रमा सङ्क्रमणको दर अलि बढेको हो,’ मरासिनीले भने ।

प्यानिक भइसकेको छैन, नियन्त्रण गर्न सकिन्छ

मरासिनी अहिले तराईमा देखिएको सङ्क्रमण पहिलो र दोस्रो चरणको नै रहेको दाबी गर्छन् । अहिले नै माहामारीको रूप नलिइसकेको र सतर्कता अपनाए नियन्त्रणमा लिन सकिने अवस्थामै रहेको बताउँछन् ।

मरासिनी भन्छन्, ‘अहिले हेर्दा तराईमा व्यापक रूपमा फैलिएको भन्ने अर्थ लगाउन मिल्दैन । भयावह जस्तै फैलिइसकेको भए, डडेलोजस्तै भएको भए हामीले त्यसो भन्न मिल्थ्यो । स्थिति त्यस्तो पनि छैन । पारिबाट आएर नेपालगञ्ज बसे, नेपालगञ्जमा फैलियो । पर्सामा आएर बसे, पर्सामा फैलियो । कपिलवस्तुमा आए, त्यहाँ फैलियो । उदयपुरमा आए, त्यहीँ फैलियो । तर अहिले कतिपय स्थानमा नियन्त्रण उन्मुख रहेको पनि देखिन्छ । त्यसकारण भयावह नै भइसक्यो भनेर प्यानिक हुनुपर्ने जरुरी छैन ।’

वैधानिक बाटोबाट नागरिक ल्याउने र लैजाने गर्नुपर्छ

सरुवारोग विशेषज्ञ मरासिनी सरकारले वैधानिक बाटोबाटै नागरिकहरुलाई आआफ्नै देशमा लैजाने र ल्याउने गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारले गर्नैपर्ने काम के हो भने बोर्डरका सम्बन्धमा व्यावहारिक निर्णय गर्नुपर्यो । मैले भनेको व्यावहारिक निर्णय के हो भने उता भएका नेपालीलाई सम्पूर्ण लगत राखेर नेपाल ल्याउने र उनीहरुलाई पहिलो १४ दिन क्वारेन्टाइनमा राख्ने । क्वारेन्टाइनमा राखेर सबैको पीसीआर चेकजाँच गर्ने र नेगेटिभ देखिएमा घर पठाउने तथा पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर उपचार गर्न थालियो भने सबैभन्दा उचित हुन्छ । त्यस्तो भएमा सङ्क्रमण नियन्त्रणको बाटोतिर जान्छ र स्थिति सहज बन्दै जान्छ ।’

मरासिनीको आरोप के छ भने चरा गुँड खोज्दै आएझैँ नागरिकहरु आफ्नै घर आउन चाहेको तर सरकारले रोकेको कारण चोर बाटो प्रयोग गर्दै प्रवेश गरेका हुन्, त्यसले सङ्क्रमण फैलाएको छ । उनी भन्छन्, ‘सुरुमा चीनबाट आउने एकजनालाई सङ्क्रमण भयो । उनी पूर्ण क्वारेन्टाइनमा बसे र निको भए, उनले कसैलाई फैलन दिएनन् । त्यसपछि युरोपबाट आउने केहीलाई भयो, उनीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसे र सङ्क्रमण फैलन दिएनन् । तर अहिले भारततिरबाट आएकाहरुकै कारण नेपालमा सङ्क्रमण फैलिइरहेको छ ।’

क्वारेन्टाइन हेल्थ कस्टडी बन्यो

सरुवारोग विशेषज्ञ मरासिनी नेपालको क्वारेन्टाइन हेल्थ कस्टडी बनिरहेको र राम्रो व्यवस्थापन हुन नसक्दा क्वारेन्टाइन छल्न नागरिक उद्यत रहेको बताउँछन् । उनी भन्छन्, ‘उपचार गर्नलाई पनि जबरजस्ती गर्न पाइने छैन भन्ने अन्तर्राष्ट्रिय नियम हो । कसैलाई जबरजस्ती उपचार गर्ने वा भर्ना गरेर राख्न पाइँदैन, यो मानव अधिकारको दुरुपयोग हुन्छ । त्यसकारण क्वारेन्टाइन भनेको पनि मिनी हस्पिटल जस्तै हो, त्यहाँ डाक्टर र नर्स गएर ६, ६ घण्टामा हेर्नुपर्ने हुन्छ । खाट पनि कम्तीमा १, १ मिटरको दूरीमा राख्नुपर्ने हुन्छ । उनीहरुलाई त्यहीँ नै खानेकुरा दिनुपर्छ र घरबाट ल्याएर खाउ भन्नु पनि हुँदैन । तर सङ्क्रमण रोग नियन्त्रण ऐनलाई टेकेर अहिले क्वारेन्टाइनमा राखिएको हो । तर नेपालका क्वारेन्टाइनको मापदण्ड पूरा गरिएको छैन । अन्य रोगी छन् भने उनीहरुको स्वास्थ्यको बारेमा ख्याल गरिएको छैन । प्रेसर, दम, सुगर आदिको रोगीलाई के गर्ने भन्ने सम्बन्धमा ख्याल गरिएको देखिँदैन । त्यहाँ केही कमजोरी भएकै छ । त्यसकारण अहिले क्वारेन्टाइन सुरक्षाका रूपमा राखिएको नभएर सजायका रूपमा कस्टडी बनाइएको छ, जसको कारण केही समस्या भएको छ ।’

भारतमा नियन्त्रण नआई नेपालमा नियन्त्रण असम्भव

सरुवारोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनी नेपालमा छिमेकी देश भारत र भारतसँग सिमाना जोडिएका देशहरुमा रोग नियन्त्रणमा नआई नेपालमा नियन्त्रणको सम्भावना नरहेको बताउँछन् ।

मरासिनी भन्छन्, ‘जबसम्म भियतनाम, कम्बोडिया, लाओस्, थाइल्यान्ड, बर्मा, मलेसिया, इन्डोनेसिया र मुख्यतः भारतमा कोरोना नियन्त्रणमा आउँदैन तबसम्म नेपालमा यो रोगबाट उन्मुक्ति पाइयो भन्ने सोच्नु नै गलत हुन्छ । किनभने यी सबै देशहरुबाट एक अर्को देशमा प्रवेश गर्न सकिन्छ र यी देशहरुबाट भारतको सिलगुढी हुँदै काँकडभित्ता प्रवेश गर्न सकिन्छ । उनीहरु कति छिरिरहेका छन्, कसरी छिरिरहेका छन् भनेर हामीले खोजबिन गरिरहेका छैनौँ भने नेपालमा सहज रूपमा कोरोना नियन्त्रणमा आउँछ वा आउला भनेर सोच्नु गलत हुन्छ ।

भारतमा कोरोना नियन्त्रण नभई नेपालमा नियन्त्रणमा आउन सक्दैन, त्यो करिबकरिब असम्भव नै छ ।’

यस्तो छ, कोरोना सङ्क्रमण देखिएको तराई मधेसको २० जिल्लाको अवस्था

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप