बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनको विकासमा प्रारम्भिक सफलता

सोमबार, ०५ जेठ २०७७, २३ : २६
सोमबार, ०५ जेठ २०७७

एजेन्सी । अमेरिकाको मासाचुसेट्सस्थित बायोटेक्नोलोजी कम्पनी मोडर्नाको कोभिड–१९ भ्याक्सिनको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको छ । यस कम्पनीले नेशनल इन्स्टिच्युट अफ हेल्थसँगको सहकार्यमा भ्याक्सिन निर्माण गरिरहेको छ । 

मोडर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर टाल जाक्सकाअनुसार भविष्यमा अध्ययन राम्ररी अघि बढ्यो भने चाँडोंमा आगामी जनवरीसम्म यो कम्पनीको भ्याक्सिन सर्वसाधारणका लागि उपलब्ध हुनसक्छ । ‘यो धेरै र हाम्रो विचारमा धेरैले केही समयदेखि प्रतिक्षा गरिरहेको समाचार हो,’ जाक्सले भने । यो सुरुवाती डाटा पहिलो चरणको क्लिनिकल ट्रयालबाट आएको हो, जहाँ प्रायः सानो संख्याका मानिसमा अध्ययन हुन्छ । यो अध्ययन भ्याक्सिन सुरक्षित छ/छैन र यसले प्रतिरोधी क्षमतामा प्रतिक्रिया देखाउँछ वा देखाउँदैन भन्नेमा केन्द्रीत रहन्छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको नेतृत्वमा भएको यस अध्ययनको नतिजालाई पियर रिभ्यु गरिएको छैन र कुनै मेडिकल जर्नलमा प्रकाशित पनि गरिएको छैन ।  विश्व स्वास्थ संगठनका अनुसार विश्वभर नोबेल कोरना भाइरसविरुद्ध मानिसमा क्लिनिकल ट्रायल गरिरहेका आठ कम्पनीमध्ये मोडर्ना एक हो । अमेरिकाका अन्य दुई कम्पनी फाइजर र इनोभियो, बेलायतको अक्फोर्ड विश्वविद्यालय र चीनका चार कम्पनी पनि भ्याक्सिन बनाउने दौडमा छन् । 

मोडर्नाले अध्ययनमा समावेश ४५ मानिसलाई भ्याक्सिन लगाएपछि आठ जनामा एन्डिबडिज मापन गरेको थियो । कम्पनीकाअनुसार कोभिड–१९ बाट निको भएका मानिसमा जुन स्तरको एन्डिबडिज देखिन्छ, सबै आठ जनामा कम्तिमा त्यही लेभल वा त्यसभन्दा बढी मात्रामा भाइरसको न्युट्रालाइजिङ एन्टिडबडिज विकास भएको देखियो । 

न्युट्रालाइजिङ एन्टिबडिजले भाइरससँग जोडिन्छ, यसले  मानव सेल्समा आक्रमण गर्नबाट भाइरसलाई रोक्छ । ‘हामीले यो देखाएका छौं कि यी एन्डिबडिज, यो इम्युन रेस्पोन्सले साँच्चै भाइरसलाई ब्लक गर्नसक्छ,’ जाक्सले भने,‘मलाई लाग्छ भ्याक्सिन निर्माणको हाम्रो यात्रामा यो निकै महत्वपूर्ण पहिलो कदम हो ।’

मोडर्नाको यस काममा संलग्न नभएका भ्याक्सिन विज्ञले समेत अहिले देखिएको नतिजा ‘अद्भूत’ रहेको बताए । ‘यसले भाइरससँग एन्टिबडी सम्पर्कमा हुन्छ भनेर मात्रै देखाएको छैन, बरु यसले सेल्समा संक्रमण गर्नबाट भाइरसलाई रोकेको छ,’ अमेरिकामा भ्याक्सिन अध्ययनको फ्रेमवर्क बनाइरहेको एनआईएच प्यानलका सदस्य डाक्टर पल अफफिटले भने । ल्याबमा राम्रो नतिजा देखिएपनि यसले वास्तविक दुनियाँ मानिसको रक्षा गर्नेछ भनेर पुष्टि भने भइसकेको छैन । 

अमेरिकी खाद्य तथा औषधी प्रशासनले दोस्रो चरणको ट्रायलका लागि कम्पनीलाई स्वीकृति दिइसकेको छ । यस चरणमा प्राय धेरै सय मानिसमा परीक्षण गरिन्छ र मोडर्नाले ठूलो मात्रामा तेस्रो चरणको ट्रायल जुलाईमा गर्ने योजना बनाइसकेको छ, जहाँ प्राय दशौं हजार मानिसमा परीक्षण हुन्छ । 

महामारीअघि अफफिटले तेस्रो चरणमा जानुअघि भ्याक्सिन विकासकर्ताहरुले दोस्रो चरणमा प्रायः हजारौं मानिसमा आफ्नो उत्पादनको परीक्षण गर्नुपर्ने बताएका थिए । तर, जुलाईसम्म मोडर्नाले यति ठूलो संख्यामा परीक्षण गर्नसक्ने अवस्था छैन । अहिलेसम्म यसले दर्जनौं मानिसमा मात्रै परीक्षण गरेको छ । 

कोभिड–१९ ले हरेक दिन हजारौं मानिसको ज्यान लिइरहेकाले मोडर्नाले धेरै मानिसमा परीक्षण नगरी तेस्रो चरणमा प्रवेश गर्नु तर्कसंगत नै रहेको अफफिटले बताए । ‘यो फरक समय हो,’ अफफिटले भने ।  गत जनवरीमा एलर्जी र संक्रमित रोग राष्ट्रिय इन्स्टिच्युटका निर्देशक एन्थोनी फाउचीले बजारमा भ्याक्सिन आइपुग्न १२ देखि १८ महिना लाग्ने बताएका थिए । मोडर्नाको भ्याक्सिनका लागि यो आँकलनमा जाक्स सहमत देखिए,उनले आगामी वर्षको जनवरीदेखि जुनसम्ममा भ्याक्सिन डेलिभरी हुनसक्ने बताए ।

 मोर्डनाको अध्ययनअनुसार तीन सहभागीमा २ सय ५० माइक्रोग्रामको डोज लिएपछि ज्वरो र अन्य फ्लुजस्तै लक्षण देखिएको थियो । मोडर्नाले तेस्रो चरणको अध्ययनमा २५ देखि १ सय माइक्रोग्रामसम्मको डोज दिइने अपेक्षा गरेको छ । अहिले, पहिलो चरणमा २५ माइक्रोग्राम १ सय माइक्रोग्राम डोजको भ्याक्सिन लिएका मानिसमा पनि कोरोनाबाट प्राकृतिक रुपमा संक्रमित भएका मानिसहरुकै दाँजोमा वा केहीमा त्यसभन्दा बढी मात्रामा समेत एन्टिबडी देखिएको छ । -रातोपाटीका लागि सिएनएनबाट अनुवाद 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप