बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ५५ दिनमा भित्रियो ६ हजार मेट्रिक टनभन्दा बढी विदेशी फलफूल र तरकारी

कृषि मन्त्रालय भन्छ, ‘आपूर्तिको ७५ प्रतिशत स्वदेशी उत्पादन नै हो’
मङ्गलबार, ०६ जेठ २०७७, ०९ : २०
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । कोरोनाभाइरस अर्थात् कोभिड–१९ का कारण मुलुक ठप्प हुँदा पनि ठूलो मात्रामा विदेशी फलफूल तथा तरकारी आयात भइरहेको तथ्याङ्कले देखाएको छ । नेपालका कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो आइरहेको बेला कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितको तथ्याङ्क अनुसार गत चैत्र ११ गते देखि जेठ ४ गतेसम्मको ५५ दिनको अवधिमा ६ हजार मेट्रिक टनभन्दा बढी फलफूल र तरकारी बाहिरबाट आयात भएको देखिन्छ ।

लकडाउनको अवधिमा अहिलेसम्म कति परिणाममा फलफूल तथा तरकारी आपूर्ति भयो भन्ने यकिन तथ्याङ्क नभएपनि कोरोनापछिको लकडाउनमा सरदर दैनिक ४५० टन फलफूल तथा तरकारी आपूर्ति भइरहेको र त्यसको करिब २५ प्रतिशत भारतीय बजारबाट आउने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

‘लकडाउनका कारण आधिकारिकरुपमा काम गर्न सकिएको छैन । घरमै बसेर अनौपचारीक रुपमा काम गरिरहेका छौँ । यस्तो अवस्थामा कालिमाटीको मात्र कुरा गर्नुपर्दा दैनिक सरदर ४५० टन फलफूल तथा तरकारीको आपूर्ति भइरहेको जानकारी छ ।’ सूचना अधिकारी श्रेष्ठले भने, ‘यसमा ७५ प्रतिशतको आपूर्ति स्वदेशी उत्पादन नै हो । भने, बाँकी २५ प्रतिशत मात्र विदेशबाट आयातीत हुन् ।’

श्रेष्ठका अनुसार सामान्य दिनमा सरदर ७०० देखि ८५० टन बराबरको फलफूल तथा तरकारीको माग रहेको बजारमा कोरोनाका कारण माग(खपत) घटेर दैनिक सरदर ४५० टनको मात्र कारोबार हुँदै आएको छ ।

भारतीय बजारको आयात १५ प्रतिशतले गिरावट

कोरोनापछिको लकडाउनका कारण भारतीय बजारबाट आयात हुने फलफूल तथा तरकारीको आपूर्तिमा झण्डै १५ प्रतिशतले गिरावट आएको कृषि तथा पशुपंछी विकास मन्त्रालयको भनाइ छ । कोरोनाका कारण भारत पछि नेपाल समेत लकडाउनमा गएपछि दुबै बजारमा प्रभाव पर्दा आयात कम भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।

‘लकडाउनको अवधिमा पनि भारतबाट फलफूल तथा तरकारी आयात नभएको होइन, अहिले पनि आइनैरहेको छ । तर पहिलेको तुलनामा निकै कम आयात भइरहेको छ । कुल बजार आपूर्तिको करिब २५ प्रतिशत मात्र भारतबाट आयात भइरहेको अवस्था हो । बाँकी ७५ प्रतिशत फलफूल तथा तरकारी हाम्रो आफ्नै उत्पादन बजारमा आइरहेका छन् ।’ प्रवक्ता केसीले भने, ‘यस अघि करिब ४० प्रतिशत आपूर्ति भारतीय बजारको हुने गथ्र्यो ।’ केसीका अनुसार हाल कोरोनाका कारण बजारको माग र आपूर्ति नै कम हुँदा वस्तुको आयात दर घटिरहेको छ ।

यता, कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक(सिइओ) तेजेन्द्रप्रसाद पौडेलले पनि पछिल्लो समय भारतीय बजारबाट आयात हुने फलफूल तथा तरकारीको आपूर्ति कम भएको बताए ।

कोरोनापछि बजारमा भारतीय फलफूल तथा तरकारीको आपूर्ति झण्डै २० प्रतिशतले घटेर लगभग २०–२२ मा झरेको सिइओ केसीको भनाई छ । हाल प्याज, लसुन, कागती र फलफूल बाहेक अरु सबै उत्पादन स्वदेशी उत्पादनले नै धानिरहेको सिइओ केसीले बताए ।

माग घट्दा मूल्यमा भारी गिरावट

कोरोपछिको लकडाउनका कारण बजार अस्तव्यस्त हुँदा फलफूल र तरकारीको मागमा समेत भारी गिरावट आएको छ । फलफूल र तरकारीको मागमा कमी आएसँगै त्यसको मूल्यमा समेत नकारात्मक प्रभाव पर्न गएको व्यवसायीहरुको भनाई छ ।

माग र मूल्यलाई लिएर करिब ५० प्रतिशतले नै बजार गिरावट आएको तरकारी फलफूल थोक बजार व्यवसायी संघ कालिमाटीका महासचिव हरिकृष्ण थापा बताउछन् । त्यति मात्र नभएर लकडाउनका कारण व्यापार गर्न समेत निकै समस्या भइरहेको उनको भनाइ छ ।

‘लकडाउनले हामी व्यवसायीहरुको दयनिय अवस्था छ । नत बजार राम्रो छ नत व्यवसायीक वातावरण नै । सधै व्यापार गर्दै आएको कालिमाटी बजार बन्द भएपछि व्यवसायीहरुले राम्रोसँग व्यवसाय गर्न पाएका छैनन् । त्यसमा पनि दैनिक १–२ घण्टा मात्र व्यपार गर्न पाउँदा कति व्यापार गर्ने ?’ महासचिव थापाले भने ।

यता, व्यवसायी भगवान उप्रेती पनि बजार सकसलाई लिएर पछिल्लो समय व्यापार गर्न निकै गाह्रो र कठिन भएको बताउछन् ।

तर, यता नेपाल राष्ट्र बैंकले भने हालै मात्र सार्वजनिक गरेको ९ महिना(गत चैत्र)को तथ्याङ्कमा फलफूल र तरकारीको मूल्यमा भारी वृद्धि भएको देखाएको छ । बैंकको तथ्याङ्क अनुसार फलफूलमा १५.९४ र तरकारीमा १३.१४ प्रतिशतले मूल्य बृद्धि भएको छ । तर, माच्छा मासुमा र अण्डामा भने, करिब ५ प्रतिशले मूल्य घटेको राष्ट्र बैंकको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप