शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ देशको अर्थतन्त्र : अधिकांश सूचक कमजोर

मङ्गलबार, ०६ जेठ २०७७, १३ : ३८
मङ्गलबार, ०६ जेठ २०७७

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै यतिबेला नराम्ररी प्रभावित छ । कोरोनाका कारण नेपालमा भएको लकडाउनले आर्थिक  गतिविध हुन सकेको छैन । जसले अर्थतन्त्रका सबै अवयवहरु  प्रभावित बनेको छ । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएर अघि बढेको सरकारलाई कोरोनाका कारण धक्का लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममै उल्लेख गरिसकेकी छन् ।

राजस्व प्रभावित छ, आयात घटेको छ । आयात घटेपछि वैदेशिक मुद्राको सञ्चितीमा केही बृद्धि देखिन्छ । सोधानान्तर स्थिति बचतमा छ । मूल्यवृद्धि आकासिएको छ भने विप्रेषण आप्रवाहमा व्यापक गिरावट आएको छ । यस्तै लकडाउनकै बीचमा दुई दिन खुलेको सेयरबजारले सर्किट ब्रेक थाम्न नसकेपनि अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ ।

अर्थमन्त्रालयले देशको अर्थतन्त्रका सूचकहरु कस्तो अवस्थमा छन् भनेर प्रत्येक महिना अर्थ बुलेटिन प्रकाशित गर्ने गरेकोमा सो बुलेटिन दुई महिनादेखि सार्वजनिक गरेको छैन ।  कोरोनाले अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तो छ देशको अर्थतन्त्रको विभिन्न सूचकको अवस्था

सूचक १ : प्रभावित राजस्व

चैत ११ गतेदेखि कोरोनाका कारण देश लकडाउनमा छ । यसले आर्थिक गतिविधि ठप्प प्रायः छ । अत्यावश्यकबाहेक कुनै पनि वस्तुहरुको आयात भएको छैन । भन्सार राजस्वको ठुलो हिस्सा रहेकोमा अहिले भन्सार राजस्व प्रभावित बनेको छ । महालेखा नियन्त्रकको कार्यालयलाई आधार मान्ने हो भने जेठ ४ गतेसम्म ५४.७६ प्रतिशत राजस्व उठेको छ ।  यो भनेको ६ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ हो । आर्थिक वर्ष सकिन २ महिनामात्र बाँकी छ सरकारले ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

सूचक २ : कमजोर विकास खर्च

हालसम्म २८.१२ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । ४ खर्ब ८ अर्व पूँजीगत खर्च बजेटले छुट्याएकोमा १ खर्ब १४ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । आर्थिक वर्षको अन्त्मि तिन महिनामा विकास खर्च धेरै हुने गरेकोमा लकडाउनका कारण विकास निर्माणका कामसमेत प्रभावित हुँदा पुँजीगत खर्च धेरै नवढ्ने देखिएको छ ।

सूचक ३ : आयात– निर्यात (वैदेशिक व्यापार) उक्लदो व्यापारघाटा

आयात–निर्यातको रकर्ड राख्ने भन्सार विभागका अनुसार आयात ७.५ प्रतिशले घटेको छ भने निर्यात पनि खुम्चेको छ । निर्यातमा १२.८८ प्रतिशतको बृद्धि छ । देश अहिले ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक व्यापार घाटामा छ । यो चैत मसान्तसम्मको तथ्याङ्क हो । गत वर्षको यसै अवधिको तुलनामा ८.८८ प्रतिशतले व्यापार घाटा बढेको हो ।

सूचक ४ः घट्दो अवस्थामा रेमिट्यान्स

रेमिट्यान्सलाई आधार मान्ने हो भने हाल रेमिट्यान्समा ५० प्रतिशतको गिरावट आएको छ । नेपाल राष्ट बैङ्कका अनुसार चैत मसान्तसम्म साढे ३४ अर्ब रेमिट्यान्स आप्रवाह भएको छ । गत वर्षको यसै अवधिमा ७१ अर्ब रेमिट्यान्स आप्रवाह भएको थियो । चालु आर्थिक वर्षको फागुनमा मात्रै ७९ अर्ब रेमिट्यान्स देशमा भित्रिएको थियो । तर चैतमा साढे ३४ अर्ब मात्र रेमिट्यान्स भित्रिएको छ । केन्द्रिय तथ्याङ्क विभागका अनुसार कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान १९.१ प्रतिशत रहेको छ । कोरोना महाव्याधिको कारण अर्थतन्त्रमा यसको योगदान घट्ने पक्का छ । राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्ट बैशाखामा पनि रेमिट्यान्स चैतकै हाराहारीमा रहने अनुमान गर्छन् ।

सूचक ५ : महँगी नियन्त्रणबाहिर

महंगी नियन्त्रणभन्दा बाहिर गएको छ । लकडाउनका कारण आम्दानीको स्रोत गुमाएर क्रय शक्ति कमजोर भएकालाई महँगीले थप आहत दिएको छ । केन्द्रिय बैङ्कका अनुसार चैतमा महँगी ६.७५ प्रतिशत पुगेको छ । फागुनमा महँगी ६.७० प्रतिशत थियो । गत वर्ष ४.४४ प्रतिशत थियो । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतभन्दा माथि मूल्यवृद्धि नपुर्याउने लक्ष्य लिएको थियो तर सरकार मूल्यवृद्धि नियन्त्रणमा असफल देखिएको छ ।

सूचक ६ : चालु खाता घाटा

चालु खाता घाटा १ खर्ब ३५ अर्ब ५४ रुपैयाँ छ । गत वर्ष २ खर्ब ४ अर्ब ८० करोड रुपैयाँले घाटामा थियो । चालु खाताको स्थिति भनेको मुलुकको अर्थतन्त्र कति सशक्त छ भनेर मापन गर्ने सूचक पनि हो । चालु खाता अन्र्तगत  वस्तु र सेवा व्यापार तथा ट्रान्सफर समावेश हुन्छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा यसलाई अर्थतन्त्रको प्रवल सूचक मानिएको हो ।

सूचक ७ : सोधानान्तर स्थिती बचतमा

अहिले सोधानान्तर स्थिती (देश भित्रने र बाहिरिने रकमको अन्तर) ३६ अर्ब ६१ करोड रुपैयाँ मात्र बचतमा छ । गत वर्ष  ६४ अर्ब  ६८ करोड रुपैयाँ घाटामा थियो । लक डाउनले आयात प्रभावित हुँदा नेपाली पैसा बाहिरिन नपाएपछि सोधानान्तर स्थिती बचतमा रहेको हो ।

सूचक ८ : सहज अवस्थामा विदेशी विनिमय सञ्चिती

कोरोनाले वैदेशिक रोजगार प्रभावित हुँदा रेमिट्यान्स घट्ने र यसले विदेशी बिनिमय सञ्चितीमा चाप पर्ने बताइरहँदा अहिलेसम्म यस्तो सञ्चितीमा चाप परिसकेको छैन । यद्यपि रेमिट्यान्स भने घटेको छ । नेपालसँग अहिले १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चितीमा छ । जसले देशको १० महिनाको माग तथा आयात धान्न सक्छ । गत वर्षको यसै अवधिको तुलनामा विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेको हो ।

सूचक ९ : घट्दो कूल ग्राहस्थ उत्पादन वृद्धिदर (आर्थिक वृद्धिदर)

गत वर्ष ६.७५ प्रतिशत कुल ग्राहस्थ उत्पादनको बृद्धिदर रहेकोमा यस वर्ष कोरोनाको कारण भएको लकडाउनले ठप्प पारेको आर्थिक गतिविधिका कारण २.२७ प्रतिशतमा झर्ने सरकारी आँकलन छ ।

सूचक १० : सेयर बजारको ओरालो यात्रा

कोरोनाको कारण चैत १० गते यता बन्द रहेको सेयर बजार बैशाख अन्तिम दुइ दिन खुला रह्यो ।  कारोबारको दुवै दिन सर्किट ब्रेक लाग्यो । नेपाल स्टक एक्सचेन्जलाई आधार मान्ने हो भने २४.५८ अंकले घटेको सेयर बजार १२०१.५७ विन्दुमा रोकिएको छ । कोरोनाकै कारण सेयर बजार बन्द छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप