शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन रेखदेख गर्न नेपाली सेनालाई दिइयो जिम्मा

बुधबार, ०७ जेठ २०७७, २० : १४
बुधबार, ०७ जेठ २०७७

जुम्ला । जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टाइनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लास्तरीय क्वारेन्टाइनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन निकै अव्यवस्थित र सुरक्षाका हिसावले निकै चुनौति पूर्ण भएकोले एकीकृत क्वारेन्टाइनको व्यवस्था गरेर सुरक्षा जिम्मेवारी सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।  

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्, ‘यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा अभाव देखियो । भारतबाट भित्रिएका नागरिक बस्न नमान्ने अवस्था आयो । बसेका पनि १४ दिन अगावै घर जाने परिपार्टी निम्तिएकोले जिल्लामै एकीकृत क्वारेन्टिन निर्माण गरी सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको हो  ।’

एक नगरपालिका र सात गाउँपालिकाका नागरिक बाहिरबाट आएपछि अनिवार्य जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिएको हो । देश भित्र र बाहिर भारतबाट आएका १४ जना नागरिक एकीकृत क्वारेन्टिनमा थपिएका छन् । 

भारतको पिथौँरागढ देखि बाजुरा जिल्ला हुम्ला, मुगु भएर कनकासुन्दरी गाउँपालिकामा आएका ६ जना नागरिकलाई एकीकृत क्वारेन्टिनमा राखिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

उनका अनुसार तिलाका ३ जना र सिंजाका ५ जना गाउँपालिकामा आएपछि उनीहरुलाई एम्बुलेन्समा ल्याएर क्वारेन्टिनमा राखिएको हो । लकडाउन अवधिभर जिल्लामा ११ हजार २ सय ११ जना नागरिक भित्रिएका छन् ।

जिल्ला भित्रिएका नागरिक मध्ये ३५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार २ सय २४ जना नागरिक १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एक हजार ५ सय ५४ जनाको पिसिआर र २ सय ६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप