शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनले मालिक र श्रमिकको सम्बन्ध बिग्रिन लागेको हो ?

उद्योगीहरु पहिलो महिनामै पारिश्रमिक दिन नसक्ने !
बिहीबार, ०८ जेठ २०७७, ०९ : ००
बिहीबार, ०८ जेठ २०७७

केही समयअघि अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर सवा एक अर्बभन्दा बढीको रोजगार प्रभावित हुने अनुमान गरेको थियो । सोही अनुरुप विश्वभर कोरोनाका कारण धेरैको रोजगार प्रभावित भएको छ । कोही बेतलबी विदामा छन् त कतिपय आधा तलबमा काम गर्न सहमत छन् । नेपाल पनि यसको प्रभावबाट अछुतो छैन । एकातिर उद्योगधन्दा चल्न नसक्दा आम्दानी नहुने र आम्दानी नहुँदा श्रमिकलाई पारिश्रमीक दिन कठिन परेको छ ।

अघिपछि राम्रै नाफा गरेको उद्योग व्यवसायले पनि लकडाउन भएको पहिलो महिनामै श्रमिकलाई तलब दिन नसक्ने भन्दै रोइलो गरिरहेका छन् । श्रम बेचेर जिविकोपार्जन गर्नेहरु (श्रमिक) कठिन परिस्थितीमा मालिकले आफुहरुलाई हेर्नुपर्ने धारणा राख्छन् । उद्योगमा काम गर्ने एक कामदार भन्छन्, ‘लकडाउनले दैनिक ज्यालादारी गर्नेलाई विस्थापित त गर्यो नै हामीजस्तो मासिक तलबमा काम गर्नेलाई पनि मालिकले सकभर तलब दिन नपरे हुन्थ्यो जस्तो गर्छन् । अघिपछि काम पेलाउने तर अभावमा नहेर्ने रहेछन् ।’

यता एक उद्योगी पनि नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘चैत महिनाको तलब जेनतेन खुवाइयो अब वैशाखको कसरी खुवाउने भन्ने चिन्ता छ । हामीले ५० प्रतिशत त दिन्छौँ भन्यौँ तर सरकार पुरा दे भन्छ । यसरी नै लकडाउन लम्बिदै जाने हो भने नो वर्क नो पेको अवस्था पनि लागु गर्न सक्छौँ ।’

उनी अगाडी भन्छन्, ‘मेरो चन्द्रागिरी नगरपालिकामा एउटा उद्योग छ अहिले त्यहाँ सिल छ । मेरा केही कर्मचारीले पहिले पेस्की लगेका छन् । त्यहाँको म्यानेजर नै मेरो कन्ट्याकमा छैन । उसलाई समेत अरु कर्मचारीलाई तलब कसरी दिने भनेर तनाव छ । कर्मचारीलाई पर्दा हेर्नुपर्ने हो तर आम्दानी नै नभएपछि कसरी हेर्नु ?’


अहिले औद्योगिक व्यावसायिक प्रतिष्ठानले आफ्ना कर्मचारीको तलब दिन सरकारसँग सहयोग मागिरहेका छन् । उद्योगीहरुको छाता संगठनको बैठकको निर्णयले कर्मचारीलाई आधा तलब दिने निर्णय गरेको थियो तर पछि सरकारले ५० प्रतिशत अहिले र ५० प्रतिशत पछि कभर हुनेगरी दिनु भनेपछि व्यवसायीहरु झस्किए । ढिलै भएपनि पुरा तलब पाइने भयो भनेर श्रमिक खुसी भए ।


सरकारले ४२ वटा उद्योग खोल्नु भनेको तर सरकारले सहज वातावरण सृजना गर्न नसक्दा खुल्न नसकेको ती उद्योगीको गुनासो छ । पासको व्यवस्था हुन नसक्दा समस्या सृजना भएको उनले भने । कहिलेसम्म बन्द हुने निश्चित छैन । जबसम्म उद्योग व्यवसाय खुल्दैन तबसम्म यस्ता समस्या रहिरहने उनको भनाइ छ । हेर्नुस् हामी ५० प्रतिशतभन्दा बढी तलब नै दिन नसक्ने अवस्थामा पुगेको छौँ,’ ती उद्योगीले भने । 

अहिले औद्योगिक व्यावसायिक प्रतिष्ठानले आफ्ना कर्मचारीको तलब दिन सरकारसँग सहयोग मागिरहेका छन् । उद्योगीहरुको छाता संगठनको बैठकको निर्णयले कर्मचारीलाई आधा तलब दिने निर्णय गरेको थियो तर पछि सरकारले ५० प्रतिशत अहिले र ५० प्रतिशत पछि कभर हुनेगरी दिनु भनेपछि व्यवसायीहरु झस्किए । ढिलै भएपनि पुरा तलब पाइने भयो भनेर श्रमिक खुसी भए ।

उद्योग व्यवसायको छाता संगठनले उद्योगमन्त्री र श्रममन्त्रीलाई समेत भेटेर श्रमिकलाई आधा तलब दिने प्रतिवेदन बुझाएका थिए । उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक कामदारको लकडाउन अवधिको पारिश्रमिक भुक्तानी गर्ने सम्बन्धमा पेश गरेको सुझाव र श्रम ऐन २०७४ मा विशेष परिस्थितिमा श्रमिकलाई जगेडामा राख्न सक्ने र यसरी जगेडामा रहेका श्रमिकलाई आधा पारिश्रमिक दिने व्यवस्थालाई समेत आधार मानेर निर्णय गरेको प्रतिवेदनमा उल्लेख थियो ।

तर श्रम ऐनअनुसार जगेडामा निश्चित अवधिका लागि मात्र राख्न पाउने व्यवस्था छ । अहिलेको जटिल परिस्थिति सबैको सहयोग र सहकार्यबाट मात्र समस्या समाधान गर्न सक्ने उद्योगीहरुले बताएका छन् ।

यता होटल व्यवसायीहरुले पनि साढे १२ प्रतिशत मात्र तलब दिने निर्णय गरिसकेका छन् । तारे होटहरुले ६ महिनाको लागि व्यवसाय बन्द भएको घोषणा समेत गरिसके ।

लामो समयदेखि उद्योगधन्दा र कलकारखाना बन्द हुँदा उद्योगले नियमित उत्पादन गर्न सकेका छैनन् । नियमित उत्पादन बेचेर आउने पैसाबाटै उद्योगीले कर्मचारीलाई तलबदेखि बैङ्क ऋणसम्मको व्यवस्थापन गर्दै आएका थिए । यस्तो अवस्थाले मालिक र श्रमिकको सम्बन्धमा दरार निम्याउन खोजेको छ ।

ऋणको ब्याज तिर्न नसकेर आत्महत्या गर्ने अवस्था आउनसक्छ : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुले बैङ्कको ब्याज तिर्न नसकेर आत्महत्या गर्नुपर्ने परिस्थिती सृजना भएको बताएकी छिन् । गत सोमबारको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरु समस्यामा परेको बताइन् । उनले बैङ्कहरुलाई ब्याजदर ५ प्रतिशतमा झार्न पनि आग्रह गरिन ।  उनले अहिले ५ जनामा ३ जनाले रोजगारी गुमाउनुपर्ने अवस्था आएको भन्दै यो विषयलाई आगामी बजेटले सम्बोधन गर्नुपर्ने बताइन् ।  उनले कर्मचारीलाई पूरै तलब दिनुपरे उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गरिन् ।

यता होटल तथा पर्यटन व्यवसायी संघले पनि कर्मचारीको तलब भत्ता दिन नसक्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप