बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मदिरा र घरझगडाले आगलागी बढ्यो

शुक्रबार, ०९ जेठ २०७७, ११ : ३५
शुक्रबार, ०९ जेठ २०७७

पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत  तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य असावधानी अपनाउँदा भएका यस्ता घटनाले  हतहती निम्त्याउन सक्थ्यो । जिल्लाकै बरेङ गाउँपालिका वडा नं ३ का अध्यक्षसहित दुई जनाको ज्यान जाने गरी भएको घटना भने छिमेकी जिल्लाको थियो ।

बुधबार जिल्लाको बडिगाड गाउँपालिका–२ सिमलचौरका सुरजबहादुर कुमाल मदिराले लठ्ठ थिए । साँझको समयमा मदिरा सेवन गरेर घर पुगेका उनले परिवारका सदस्यसँग झगडा थाले । श्रीमती राधिका र छोरीलाई हातपातको प्रयास गरे । उनीहरुले भागेर ज्यान त जोगाए तर ओत लाग्ने घर भने क्षणमै खरानी भयो । “मदिराले मातेका सुरज आफैले घरमा आगो लगाएको खुलेको छ”, प्रहरी निरीक्षक दीपक रिजाल भन्छन्, “ठूलो क्षति त भएको छैन तर घरगोठ जलेको छ ।” रिसको झोंकमा कोरेको सलाइले सुरजले आफ्नै बासलाई खरानी मात्रै बनाएनन्, अब कानूनअनुसारको कारवाहीको भागीदार बने । उनको घरमा बुधबार राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

घरगोठ एकै ठाउँमा तथा खरको छानो भएकाले गोठमा बाँधिएका पशुचौपाय जोगाउनसमेत हम्मेहम्मे भयो । उनको घर जल्दा लाखौँको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताउनुभयो । दैनिक मजदुरी गरेर खाने परिवारमा घरभित्रैको झगडामा मदिराले होस गुमाउँदा ओत लाग्ने बास नै उजाडियो ।

क्षणभरमै घरगोठ खरानी बनाएका कुँवरको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपालसहित सहयोग गरेको छ । बडिगाडमा जस्तै गत चैतमा बागलुङ नगरपालिका–१० भकुण्डेका नगेन्द्र थापाले पनि आफ्नै काका पर्नेको गोठमा आगो लगाए । मदिरा सेवन गरेर घर पुगेका उनले परिवारसँगको समान्य झगडाकै क्रममा रिसले चुर भइ आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत फागुनमा जैमिनी नगरपालिका–२ दमेक आरुबोटका नरिश्वर रिजालले आफ्नै घरमा आगो लगाए । खरको छाना रहेको उनको घर जल्दै गर्दा गोठ पनि छोडेन । अहिले घरगोठ रहेको ठाउँमा खरानी मात्रै छ । उनले आफ्नै घरमा आगो लगाउनुको कारण पनि परिवारिक कलह र अधिक मदिरा सेवननै थियो । “पछिल्लोपटक भएका सबै घटना मदिराकै कारण भएका छन्”,उनले भने ।

गर्मी मौसममा आगलागीका घटना बढी नै हुने गरेका छन् । संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार वन तथा वातावरणसम्बन्धी काम गर्ने निकायले वन डढेलोको नियन्त्रणका लागि यो समयमा सार्वजनिक सूचना नै जारी गर्ने गरेका छन् । समाजले मदिरा नियन्त्रणमा कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप