शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा एकीकरणः उपेन्द्र र राजेन्द्र जुध्दा बाबुरामलाई ‘हाइसञ्चो’ !

शुक्रबार, ०९ जेठ २०७७, १४ : २६
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ गठन भएको जनता समाजवादी पार्टी नेपालमा पदाधिकारी चयनका लागि विवाद उत्पन्न भएको छ । हिजो तत्कालिन दुई पार्टीका पदाधिकारीबीच बसेको बैठक बिना कुनै निश्कर्ष टुंगिएको छ । बैठकमा दुवै पार्टीबाट प्रस्ताव प्रस्तुत भए पनि एकले अर्काको प्रस्ताव स्वीकार नगरेपछि बैठक निश्कर्षविहीन बन्न पुग्यो ।

तत्कालिन समाजवादी पार्टीले जसपाको संयोजकमा महन्थ ठाकुर, संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव राख्ने प्रस्ताव गरेको थियो । तर तत्कालिन राजपा नेपालका नेताहरुले त्यसलाई तत्कालै अस्वीकार गरेको स्रोतले जनाएको छ ।

तत्कालिन राजपा नेपालका नेताहरुले महन्थ ठाकुरलाई संयोजक मात्र नभएर उनकै अध्यक्षतामा पार्टी दर्ता हुनुपर्ने र त्यसका लागि केन्द्रीय समिति अथवा कार्यकारी समितिको अध्यक्षमा राख्नुपर्ने प्रस्ताव अघि सारेका थिए । महन्थ ठाकुरलाई केन्द्रीय समितिको अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षको रुपमा राखेर अन्य सबैलाई केन्द्रीय सदस्य राखेर ५३ सदस्यीय वा ५५ सदस्यीय बनाएर पार्टी दर्ता गराउन राजपा नेपालका नेताहरुको प्रस्ताव रहेको थियो ।

दुईटा पार्टीबीच एकीकरण भएपछि दुवै पार्टीबाट एक–एक जना अध्यक्ष राखेर पार्टी दर्ता गराउनुपर्ने राजपाको प्रस्ताव रहेको छ । तर समाजवादी पार्टी त्यो मान्न तयार छैन । उपेन्द्र यादवलाई बाहिर राखेर पार्टी दर्ता गराउने पक्षमा समाजवादी पार्टी देखिएको छैन ।

तर, तत्कालिन समाजवादी पार्टीका एक नेताको आरोप छ – राजेन्द्र महतो जसरी पनि कार्यकारिणी समितिमा आउन चाहेको कारण पार्टी एकीकरणमा समस्या भइरहेको छ । ‘राजपा नेपालबाट महन्थ ठाकुरलाई पहिलो वरियता क्रममा राखिएकै छ । तर, राजेन्द्र महतो पनि कार्यकारी भूमिकामा आउन चाहेको कारण यस्तो विवाद भएको हो,’ ती नेताको दाबी छ ।

तर राजपा नेपालका नेताहरुको आरोप अर्कै रहेको छ । पार्टी एकीकरण हुने समयमा समान हैसियतामा पार्टी एकीकरण गर्ने भनिए पनि अहिले उपेन्द्र यादवले महन्थ ठाकुरलाई सेरोमोनियल संयोजक बनाएर पार्टीको कार्यकारी भूमिकामा आफू आउन चाहेको आरोप उनीहरुको रहेको छ । एकीकरण गर्ने बेला जे सहमति भएको थियो, त्यही अनुसार अगाडि बढौँ भन्ने आफूहरुको चाहना रहेको राजपा नेपालका एक नेताले रातोपाटीलाई बताए ।  

बैठकमा उपस्थित एक नेताका अनुसार राजपा नेपालको प्रस्तावपछि उपेन्द्र यादवले ‘यसको मतलब तपाईंहरुले एकता चाहनुभएको छैन’ भन्ने धम्कीपूर्ण जवाफ राखेका थिए । त्यसपछि ‘ठीक छ, तपाईंहरुले राख्नुभएको प्रस्तावको बारेमा पार्टीको केन्द्रीय समितिको बैठकमा छलफलका लागि राख्नेछौँ । अनि मात्र अर्को बैठक बसौँला’ भन्दै उपेन्द्र यादव बैठकबाट उठेका थिए ।

तत्कालिन राजपा नेपालका नेता महेन्द्रराय यादवले कुरा मिलाउने प्रयास गरेका थिए । ‘पार्टी चाँडै दर्ता गराउनु छ । केन्द्रीय समितिको बैठक बसेर यसको बारेमा निर्णय गरेर हुँदैन, चाँडै कुनै निष्कर्षमा पुग्नुपर्छ,’ उनको भनाइ थियो ।

बाबुरामलाई हाइसन्चो

समाजवादी र राजपा नेपाल आपसमा जुध्दा डा.बाबुराम भट्टराईलाई भने हाइसन्चो भएको छ । उनी तत्कालिन समाजवादी पार्टीमा पनि संघीय परिषद्का अध्यक्ष थिए र अहिलेको नयाँ पार्टीमा पनि उनले संघीय परिषद्को अध्यक्ष हुनुपर्ने दावी गरेका थिए र उनको त्यो माग पुरा भएको छ । संघीय परिषद्का अध्यक्षमा डा.भट्टराईलाई राख्ने राजपा नेपालका नेताहरु पनि तयार भएका छन् । तर उपेन्द्र यादव र राजेन्द्र महतोबीच विवाद शुरु भएको छ । दुवैजना जसपा नेपालको कार्यकारिणी पदमा आउन चाहेका छन् । दुवै जनामा विवाद छ भने त्यसलाई थाँती राखेर महन्थ ठाकुर र डा.बाबुराम भट्टराईको नाम राखेर पार्टी दर्ता गराउन राजपा नेपालको प्रस्ताव रहेको छ । तर उपेन्द्र यादव आफू कार्यकारी पदमै हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।

तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘जुन सिद्धान्तका आधारमा पार्टी एकीकरण घोषणा भएको थियो, सोही सिद्धान्तका आधारमा पार्टी एकीकरण टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ तत्कालिन दुवै पार्टीको तर्फबाट आ–आफ्नो कुराहरु राख्ने काम भएको र अहिले त्यसैमा छलफल जारी रहेको बताए ।

यस विषयमा समाजवादी पार्टीको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका राजेन्द्र श्रेष्ठसँग पटक पटक प्रतिकृया लिने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

हिजो भएको छलफलमा तत्कालिन समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ थिए भने तत्कालिन राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र ाय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादवको उपस्थिति थियो ।

समाजवादी पार्टीबाट आएको प्रस्तावको बारेमा आज दुवै पक्षले आ–आफ्नो तत्कालिन पार्टीमा छलफल गरिरहेको छ । आजै राजपा नेपालको अध्यक्षमण्डलको बैठक बस्न लागेको छ भने उता समाजवादी पार्टीले पनि उपलब्ध पदाधिकारीहरुको बीचमा छलफल गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप