बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोभिडसँग जुध्नका लागि यस्तो छ उपत्यकाको तयारी !

उपत्यकामा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कस्तो छ ?
शनिबार, १० जेठ २०७७, ०६ : २५
शनिबार, १० जेठ २०७७

कोरोनाको महामारीले भयानक ढंगले लपेटिरहेको मुलुक भारतसँगको खुला सीमा र त्यहाँबाट फर्केकाहरुको उचित परीक्षण र व्यवस्थापन गर्न नसक्दा यतिखेर तराई क्षेत्रमा कोरानाको महामारी तीब्र रुपमा फैलिँदै गएको छ । तराईका बाँके, पर्सा, कपिलवस्तु, उदयपुर, रुपन्देही, रौतहट, झापा लगायतका जिल्लाहरुमा संक्रमितहरुको संख्या उच्च रुपमा बढ्दै गइरहेको छ ।

यतिखेर सरकारले तराईलाई उच्च जोखिम क्षेत्रको रुपमा राखेको छ । तराई क्षेत्रपछि संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । अहिले काठमाडौं उपत्यकाका तीनै जिल्लामा संक्रमित फेला परेका छन्, जसमध्ये काठमाडौंमा १०, भक्तपुरमा ३ र ललितपुरमा १ जना संक्रमित फेला परेका छन् । उपत्यका रहेको बागमती प्रदेशमा मात्रै हालसम्म २८ जना संक्रमित फेला परेका छन् । तीमध्ये १८ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने ९ जना निको भएर घर फर्केका छन्  भने १ जनाको मृत्यु समेत भइसकेको छ । मृत्यु हुनेमा अस्थायी रुपमा काठमाडौं बस्दै आएकी एक जना सुत्केरी महिला हुन् ।


उपत्यकामा ‘कोरोना परीक्षणको दायरालाई फराकिलो र तिव्र बनाउनुपर्ने’ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । कोरोना परीक्षणसँगै उपचार नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन, अन्य स्वास्थ्य पूर्वाधार तयार गरेर बसेका भविष्यमा जोखिम आएमा जुध्नका लागि सहज हुने उनी बताउँछन् ।


कोरोना संक्रमण नफैलियोस् भनेर त्यसलाई नियन्त्रण एवं रोकथाम गर्न सरकारले विगत चैत्र ११ गतेदेखि मुलुक व्यापी लकडाउन लागू गरको छ । तर लकडाउनकै बीचमा पनि कोरोना प्रभावित जिल्लाबाट उपत्यकामा विभिन्न नाका हुँदै पैदल र सवारी मार्फत  भक्तपुर, ललितपुर र काठमाडौंमा मानिस प्रवेश गर्ने क्रम बीचमा निक्कै तीब्र रुपमा चल्यो । एकातिर घना जनसंख्या अर्कोतिर कोरोनाको महामारीबीच विना परीक्षण मानिसहरुको अनियन्त्रित प्रवेशले उपत्यकामा कोरोनाको जोखिम बढाएको जनस्वास्थ्यविद्हरु बताउँछन् । त्यसैले उपत्यकामा ‘कोरोना परीक्षणको दायरालाई फराकिलो र तिव्र बनाउनुपर्ने’ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । कोरोना परीक्षणसँगै उपचार नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन, अन्य स्वास्थ्य पूर्वाधार तयार गरेर बसेका भविष्यमा जोखिम आएमा जुध्नका लागि सहज हुने उनी बताउँछन् ।

उपत्यकाको कोरोना स्वास्थ्य पूर्वाधारको अवस्था कस्तो छ ?

ललितपुर : होटलहरुलाई समेत क्वारेन्टाइन बनाउने तयारी

 ‘पर्याप्त स्रोत साधन भएका विकसित देशलाई समेत कोरोनासँग जुध्न हम्मेहम्मे परिरहेको बेला नेपाल जस्तो मुलुकले समयमै सर्तकता अपनाउनुपर्ने’ जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल बताउँछन् । समयमै  कोरोना परीक्षणलाई तिव्रता र स्वास्थ्य पूर्वाधारको व्यवस्थापन नभएमा जोखिम बढ्न सक्ने उनले बताए ।

‘ललितपुर जिल्लामा संख्यात्मक रुपमा संक्रमितको संख्या कम   भए पनि भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइन, आइसोलेसन एवं अन्य स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गरिसकिएको’ उनले बताए ।

 तत्कालका लागि ‘५ सय जना बस्न मिल्ने क्वारेन्टाइन तयारी अवस्था राखिएको’ सहायक प्रमुख जिल्ला अधिकारी भुसाल बताउँछन् । उनका अनुसार, स्टाफ कलेजमा १ सय १०, ज्यापु भवनमा १ सय १२, एन्फा कम्प्लेक्समा १ सय, गणेशमान अस्पतालमा ५०, पाटन अस्पतालसँगै ललितपुरका अन्य अस्पतालमा गरी तत्कालका लागि ५ सय क्षमताको क्वारेन्टाइन बनाइएको छ ।

‘कोरोना संक्रमणको अवस्था तिव्र रुपमा फैलिन थालेको खण्डमा लिटिल एन्जल स्कुलमा थप २ सय जना बस्न मिल्ने क्वारेन्टाइन बनाउन सकिने’ उनले बताए । त्यस्तै ‘ललितपुरका ७ वटा होटललाई पनि क्वारेन्टाइन स्थलको रुपमा उपयोग गर्ने तयारी गरिएको’ बताउँदै उनले ‘ती ७ वटा होटलमा तीन सय जना क्वारेन्टाइनमा बस्न मिल्ने’ जानकारी दिए ।

‘क्वारेनटाइनमा बस्नेको संख्या १ हजारभन्दा बढी भएमा महानगरपालिका, नगरपालिका, गाउँपालिका रहेका स्कुललाई क्वारेन्टाइन बनाउनका लागि सबै स्थानीय तहसँग छलफल भइरहेको’ पनि उनले जानकारी दिए । 

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दिएका जानकारी अनुसार, ललितपुर जिल्लामा १ सय २४ वटा आइसोलेसन बेड र  ९६ वटा भेन्टीलेटर छन् । यस्तै २ कोभिड–१९ लाई लक्षित गरी वटा एम्बुलेन्स तयारी अवस्था राखिएको छ ।’  साथै ‘१ सय ३८ जना एम्बुलेन्स चालकलाई कोरोनाको आशंका गरिएका वा कोरोना संक्रमितलाई कसरी एम्बुलेन्समा राखेर सुरक्षित अस्पताल पु¥याउने, एम्बुलेन्स चालक कसरी संक्रमणबाट जोगिने बारेमा राजदल गणले तालिम दिएर तयारी अवस्थामा राखेको’ पनि उनले बताए ।

होल्डिङ क्षेत्र बनाउने तयारी

हवाई उडानको बाटोबाट ललितपुर भित्रिनेहरुको लागि होल्डिङ क्षेत्र बनाउने तयारी भइरहेको समेत भुसालले बताए । विदेशबाट  नेपाल आउने नागरिकलाई विमानस्थलबाट सिधै घर फर्कन नदिने, होल्डिङ क्षेत्रमा राखेर कोरोना संक्रमण रहे नरहेको एकीन गरिसकेपछि मात्रै घर फर्किन दिने नीति बनाइएको उनको भनाइ छ । अहिले ललितपुर जिल्लामा होल्डिङ क्षेत्र बनाउनका लागि फराकिलो ठाउँ खोजिरहेको समेत उनले बताए ।

काठमाडौं : ७ सय ९९ जना बस्न मिल्ने क्वारेन्टाइन

उच्च जनघनत्व भएको जिल्ला काठमाडौंमा हालसम्म १२ जना जतिमा कोरोना संक्रमति फेलापर्नुका साथै १ जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल(टिचिङ)मा  उपचाररत बालिकामा कोरोना संक्रमण फेला परेको, सोहि अस्पतालमा सुत्केरी भएको ९ दिनपछि सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंमा अस्थायी बसोबास गर्दै आएकी एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु हो । ती बालिका र सुत्केरीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेनटाइन नभएका कारण समस्या भएको थियो ।

ती घटनाहरुबाट समेत पाठ सिकेर तथा भविष्यमा आउन सक्ने कोरोनाभाइरसका सम्भावित खतरासँग जुध्नका लागि स्वास्थ्य पुर्वाधारको तयारीमा जुटेको काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य अधिकृत मञ्जु मास्केले बताइन् । ‘ महानगरले काठमाडौंका होटललाई क्वारेनटाइन बनाउने तयारी गरेको र सोही सिलसिलामा  समिति गठन गरेर होटल हेर्ने क्रम चलिरहेको’ उनले जानकारी दिइन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार हाल काठमाडौंमा ७ सय ९९ जना बस्न मिल्ने गरी क्वारेन्टाइनको बनाइएको छ ।

उनका अनुसार काठमाडौं महानगरपालिकामा ४ सय ५५ वटा जना बस्ने क्वारेन्टाइन बनाइएको छ । त्यसमा ३५ आइसोलेसन, ४० आईसियु बेड र ११ वटा भेन्टिलेटर छ ।

यस्तै कागेश्वरी मनहरा नगरपालिका– मुलपानी क्रिकेट मैदानसँगै नगरपालिकाभित्रका अन्य क्षेत्र गरी जम्मामा २८  जना बस्ने क्वारेन्टाइन, २ वटा आइसोलेसन वार्ड भएको उनले बताए ।

कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नार्गाजुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र  शंखरापुर नगरपालिका गरी ७ सय ९९ वटा क्वारेन्टाइन तथा २ सय १८ आइसोलेसन बेड  तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भुषालले बताए । उनका अनुसार, १ सय ६६ आईसियु बेडसँगै ६५ वटा भेन्टिलेटर १० वटै नगरपालिका र १ महानगरपालिका चालु हालतमा राखिएको उनले बताए । काठमाडौं जिल्ला भित्र रहेका विभिन्न ४० अस्पताललाई कोरोना नियन्त्रण उपचार र पहिचान गर्ने स्वास्थ्य संस्थाको सूचीमा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले राखेको छ ।

भक्तपुर : कोरोना परीक्षण, क्वारेन्टाइन, आइसोलेसन बढाउने तयारी

चीन नेपाल ल्याएका विद्यार्थीलाई राख्नका लागि बनाइएको ७८ जना बस्ने क्षमता भएको क्वारेन्टाइन भक्तपुरको खरिपाटीमा तीन महिना आगाडि बनाइएको थियो । त्यसपछि जिल्लाको अन्य ठाउँमा क्वारेन्टाइन स्थल नबनाएको प्रशासन कार्यालय  भक्तपुरका एक कर्मचारीले बताए ।

विदेशबाट विमानबाट आएका तथा भक्तपुर जिल्लामा फर्किनेलाई राख्न होल्डिङ क्षेत्र बनाउनका लागि भक्तपुरमा छलफल भइरहेको छ ।  कसरी बनाउने, कति जना होल्डिङ यरियामा बस्ने भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निर्देशका निकालेको छैन । अहिले होल्डिङ क्षेत्र बनाउने भन्ने बारेमा छलफल मात्रै भइरहेको ती कर्मचारीले बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दिएका जानकारी अनुसार पनि भविष्यमा बढ्न सक्ने कोरोना संक्रमितको सम्भावनालाई ख्याल गर्दै कोरोना परीक्षण, क्वारेन्टाइन, आइसोलेसन बनाउनका लागि नगरपालिकामा छलफल भइरहेको छ ।

illustration of title photo: Health vector created by freepik - www.freepik.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप