शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक पुनरुत्थान चुनौतीपूर्ण छ, सम्पत्तिको पुनःमूल्यांकनमा सहयोग गर्नुस् : गभर्नर अधिकारी

शनिबार, १० जेठ २०७७, ११ : ४०
शनिबार, १० जेठ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ज्यादै चुनौतीपूर्ण रहेको भन्दै चुनौतीलाई सामना गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को आयोजानमा भएको ‘कोभिड–१९ महामारीपछि जोखिम व्यवस्थापन र व्यवसायिक निरन्तरताको लागि प्रोफेशनल एकाउन्टेन्टहरको भूमिका (रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङः पोस्ट कोभिड १९ प्यान्डेमिक) विषयक छलफलमा गभर्नर अधिकारीले यो महामारीपछि व्यवसायिक क्षेत्रमा ऋणको भुक्तानीमा ठूलो समस्या आउनसक्ने र यसले बैंकिङ क्षेत्रलाई समेत प्रभावमा पार्नसक्ने भन्दै चार्टर्ड एकाउन्टेन्टहरुले ऋणीको सम्पत्ति र धितोको पुनमुल्यांकन गर्न सहयोग गर्नुपर्ने समेत बताए ।
 
उनले श्रम बजार साँघुरो बन्दै गएको भन्दै नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसकेको बताए ।
 ‘‘वैदेशिक रोजगारीमा रहेकाहरु फर्कने सक्ने भएकाले यसले यो समस्या थप बढ्नसक्ने उनको भनाइ थियो । 

यसले रेमिट्यान्स घटाउने भएकोले बाह्य क्षेत्रको सन्तुलन प्रभावित हुनसक्ने उनको भनाइ थियो । हालसम्म यो महामारीले नेपालको कुल ग्राहस्र्थ उत्पादनको ४.३ प्रतिशत बराबरको नोक्सानी भएको प्रक्षेपण गरिएको बताए ।

नेपाल राष्ट्र बैंकले यो महामारीको प्रभावको न्यूनीकरणका लागि पटकपटक विभिन्न कार्यक्रम ल्याइसकेको भन्दै अबका दिनहरूमा बैंक दर घटाउने, ब्याजको पुँजीकरण गर्ने, ऋणको सीमा बढाउने जस्ता कार्यक्रमहरु ल्याउने बताए । 

उनले राष्ट्र बैंकले बैंकिङ कारोबार र बासेल थ्रीको कार्यान्वयन गर्दै दैनिक बैंकिङ कारोबार, पुनरकर्जाको कार्यान्वयन लगायतका विषयहरुको सुक्ष्म निगरानी गरिरहेको भन्दै आवश्यक समयमा उपयुक्त नियामकीय निर्णय लिन नेपाल राष्ट्र बैंक तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रका महत्वपूर्ण पक्षमा नराम्रो प्रभाव परेको अवस्थामा उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको ठूलो रोजगारी गुम्ने अवस्थामा अर्थतन्त्रको पुनरुत्थानका लागि चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए ।  
उक्त कार्यक्रममा इन्टरनेशनल फेडेरेसन अफ एकान्टेन्ट्सका अध्यक्ष डा. इन्कि जुले अहिले इन्टरनेसनल एकान्टिङ स्टान्डर्डर्स बोर्डले जारी गरेको आईएफआरएस मापदण्ड कार्यान्वयन गर्दै जोखिमको उपयुक्त समाधान खोज्न सहयोग गर्न सकिने बताए । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना भाइरसको महामारीका कारण औद्योगिक र व्यावसायिक गतिविधि शिथिल भएको अवस्थामा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पुर्याउन सदस्यहरुलाई तालिम दिइएको उल्लेख गरे ।

छलफल कार्यक्रममा साफाका अध्यक्ष जिया अल मुस्तफा अवानले संकटको समयमा स्रोतको व्यवस्थापन असाध्यै जटिल हुनसक्ने भन्दै दक्षिण एसियाली क्षेत्रमा साना तथा मझौला व्यवसाय धेरै भएकाले त्यस्ता व्यवसायका लागि चार्टर्ड एकाउन्टेन्टहरुको उचित परामर्शको आवश्यकता औंल्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप