बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका विद्यार्थी नेताको आपत्तिजनक भाषा : बाबुरामलाई श्रद्धाञ्जली  !

शनिबार, १० जेठ २०७७, १३ : ४८
शनिबार, १० जेठ २०७७

काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक हुन् ऐन महर । नेकपामाथि आस्था राख्ने लाखौ विद्यार्थीका नेता उनले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् । 

लाखौ विद्यार्थीका नेताले प्रयोग गर्ने भाषाशैली र प्रस्तुतिले आम विद्यार्थीले कस्तो संस्कार सिक्लान् र माउ पार्टीले कस्तो विद्यार्थी नेता जन्माए भन्नेमा प्रश्न खडा भएको छ । 

पटक पटक सामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीप्रति तल्लोस्तरको भाषाशैलीका साथ आलोचनामा उत्रिने उनले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई श्रद्धाञ्जली दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’ उनले फेसबुकमा लेखेका छन् । 

बाबुरामलाई यसरी आपत्तिजनक टिप्पणी गरेपछि धेरैले महरको आलोचना गर्दै प्रतिक्रिया दिएका छन् । अत्यधिक आलोचना भएपछि उनले आफ्नो फेसबुकमा अभिव्यक्ति सच्याएका त छन् तर उनको बौद्धिकता र चेतना स्तरमाथि भने टिप्पणी गर्ने क्रम रोकिएको छैन । 

भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए । 

‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्, तिनको परीक्षण, व्यवस्थापन हुन सकेको छैन। अरिङ्गाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईँमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप